साइनो समाचारदाता
पथरी । दैनिक ज्याला मजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे नगर क्षेत्रभित्र खाद्यान्न राहत संकलन हुने क्रम पनि बढेको छ ।
यस क्रममा पछिल्लो पटक आज पथरीशनिश्चरे २ को रेडस्टार बोर्डिङ र ३ को किरात एकेडेमीले संयुक्त रुपमा १ हजार केजी चामल, २ सय ५० केजी नून र १२ सेट व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरेको छ । यसअघि पथरी जेसीजले ५ सय केजी चामल नगरको राहत समितिलाई प्रदान गरेको छ । नेपाली कांग्रेस ९ नम्वर वडा समितिले ४ सय ५० केजी चामल, २० लिटर तेल र ८ केजी दाल उपलब्ध गराएको छ । सोही वडाका समाजसेवी भूपाल पाण्डेले १ सय केजी चामल, मनोज खाध स्टोरका प्रोप्राइटर मनोज गुप्ताले २५ केजी चामल र ५० केजी नून उपलब्ध गराएको ९ नम्वरस्थित वडा राहत समितिले जनाएको छ । यस अघि वडा नम्वर ९ मा ७ सय किलोग्राम चामल, ५ लिटर खानेतेल, १० किलो नून वडावासीबाट संकलन भएको थियो ।
वडा नम्वर १० स्थित भूल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले ५० हजार मुल्य बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको छ । ६ सय ७५ केजी चामल, ५० केजी दाल, ५० लिटर खानेतेल, ५० केजी नून र १ सय वटा साबुन उपलब्ध गराएको छ । यसअघि सोही वडाको ओमसिआर जम्बुलिङ बज्र गुम्बाले १० नम्वर वडा कार्यालयमार्फत २० हजार रुपैयाँ बराबरको खाद्यान्न राहत उपलब्ध गराएको छ । जसमा, ३ सय किलोग्राम चामल, १,१ केजीका ३० पोका दाल, आधालिटरको ३० पोका तेल, ३० केजी नून र ३० वटा साबुन रहेको छ । पथरीशनिश्चरे १० का समाजसेवी युवा प्रेम ढकाल र श्रीमती मञ्जु ढकालले १० हजार मुल्य बराबरको २ सय ५० केजी चामल यसअघि वडा समितिमा हस्तान्तरण गरेका थिए ।
यसैबीच, पथरीशनिश्चरे १ स्थित ‘विशाल सहयोगी मन’को तर्फबाट संयोजक धनकुमार तामाङले ५ सय केजी चामल नगरको राहत समितिलाई हस्तान्तरण गर्यो । ४ नम्वर वडामा ध्रुवकुमार बराइलीबाट १ सय किलोग्राम चामल, प्रतिज्ञा विश्वास मण्डलीबाट १ सय ५० पोका नून र संयुक्त वडास्तरीय महिला समितिबाट ७५ किलोग्राम चामल, १ काटन तेल हस्तान्तरण भएको थियो । यसैगरी, राष्ट्यि युवा संघले शनिश्चरे स्वास्थ्य चौकीका लागि २ थान पीपीइ सेट प्रदान गरेको छ । नेपाली कांग्रेस ६ नम्वर वडा समितिले २ हजार थान मास्क वडाको राहत समितिलाई हस्तान्तरण गरेको छ । १० नम्वर वडाध्यक्ष सागर राई र राईका बुबा गुल्सन राईको सहकार्यमा वडामा ४ हजार मास्क वितरण गरिएको छ । कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्यले १ सय वटा मास्क १० नम्वरमा रहेका भूटानी शरणार्थीहरुलाई वितरण गरिन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न घरमै वस्न गरिएको आव्हानलाई अटेर गर्ने नगरवासीमाथि नगरपालिका कार्यालयले दैनिक अनुगमन् गर्दै घरै वस्न अनुरोध गरिरहेको छ । यस क्रममा आज पनि वडा नम्वर १ को पथरी बजार क्षेत्रमा अनुगमन् गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुवाईमा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, पथरी उद्योग वाणिज्य संघको प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले औषधि, सब्जी तथा फलफुल पसलको अनुगमन् गरी कडा रुपमा स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिएको छ । अत्यावश्यक सामानका रुपमा खाद्यान्न, सागसब्जी, औषधि, फलफुल किन्ने र बेच्नेले अनिवार्य रुपमा मास्क, ग्लोबको प्रयोग गर्ने, साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्न निरन्तर सुझाव दिइएको छ । तोकिएको निश्चित समयमा त्यस्ता सामग्री किनबेच गर्दा भिडभाड नगरी कम्तिमा डेढ मिटरको दुरीमा पसल अगाडि घेरा बनाइदिएर घेरामा रहेका ग्राहकले पालो पालो गरी सामान लिने व्यवस्था मिलाउन सुझाव दिइएको नगर उपप्रमुख वास्तोलाले जनाइन् ।
कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठक बसी कोरोना भाइरसबाट बच्ने सतर्कता सहित आगामि दिनमा आवश्यक राहत व्यवस्थापनका सम्वन्धमा छलफल गरेको समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले जनाए ।
















