साइनो समाचारदाता
पथरी । स्वास्थ्य शाखा, पथरी शनिश्चरे नगरपालिका मोरङले माघ २५ गतेदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा वडा वडाका सामाजिक अगुवाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरको वडा नम्बर ४ र ८ मा भएको वडास्तरीय अभिमुखीकरण कार्यक्रम ।
नम्वर ३ र ७ का संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवाहरुसँग सामुदायिक सिकाई केन्द्र किराती चोकमा अभिमुखिकरण कार्यक्रम भएको हो । अर्काे कार्यक्रम वडा नम्वर ९ का संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवाहरुलाई शनिश्चरेमा अभिमुखिकरण गरिएको स्वास्थ्य शाखाका एकराज खत्रीले जनाए । हात्तीपाइले लाग्ने अवस्था, त्यसको रोकथाम तथा औषधि सेवनका बारेमा प्रष्ट्याइएको छ । साथै कुरुप हुनबाट जोगाउने औषधिले मानिसलाई असर नगर्ने भएकाले नचाँहिदो भ्रम चिर्नुपर्ने पनि समेत जनाइएको छ । नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत् घर घरमा गएर सवै मानिसलाई औषधि खुवाउने कार्यक्रमलाई सफल पार्न नगरपालिका कार्यालयले सवैमा आव्हान गरेको छ । १० वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि अभिमुखीकरणका साथै प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गर्ने तय गरिएको छ । विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।
यसअघि ‘राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान–२०७६’ बारेमा स्वास्थ्य शाखाले स्वस्थ्यकर्मी, स्वयम्सेवक, पत्रकारसँग अन्तरक्रिया गरिसकेको छ ।
















