साइनो समचारदाता
सुनसरी । विश्व याक्थुङ एकता, अस्तित्व, पहिचान र मौलिकता को नारा लिएर अघि बढिरहेको युमा साम्यो महासभा नेपाल यही माघ २२ गतेदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । यसै उपलक्ष्यमा धरान, सुनसरीस्थित हरियाली सामुदायिक उपभोक्ता समितिको भवनमा यस संस्थाको दोस्रो वार्षिकोत्सव सम्पन्न गरिएको छ ।

डा. रमेश इजमद्वारा संस्थाका गतिविधिहरू, आइत खजुमद्वारा याक्थुङ लिम्बूजातिका लागि युमा साम्यो नै किन ?, बिरान इजमद्वारा किरात र किरात धर्मः भ्रम र वास्तविकता र देव इजमद्वारा जनगणना २०७८ मा युमा साम्यो (युमा धर्म) किन लेख्ने ? जस्ता शिर्षकहरूमा लघु कार्यपत्र प्रस्तुत गरिएका थिए । पेगिफाङसाम चुम्लुङ सुनसरीका अध्यक्ष येबा सञ्जयवीर नाल्बोको संयोजकत्वमा साम्बा र येबाहरुको एक टोलीले पम्बित्ते ताङलाङ प्रस्तुत गरिएको थियो । युमा साम्यो हङकङ अध्यक्ष माखिम फुङलेपद्वारा दुई वटा याक्थुङ साम्लो प्रस्तुत गरिएको सो कार्यक्रममा मुन्धुम दर्शन र युमा साम्योका बारे अन्तरक्रिया गरिएको थियो । इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाबाट प्रतिनिधिमुलक सहभागिता रहेको सो कार्यक्रमका वक्ताहरूले जन्मदर्ता फाराम, राष्ट्रिय परिचयपत्र र जनगणना फाराम आदि जस्ता धर्मको उल्लेख गर्नु पर्ने कागजातहरूमा युमा धर्म लेख्न र लेखाउन जोड दिऔँ भनी आव्हान गरिएको थियो ।
















