साइनो समाचारदाता
विराटनगरं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई दल मिलेर जाने निर्णय गरेको छ । निर्वाचन कार्यक्रम अनुसार माघ ९ गते राष्ट्रिय सभाको चुनाब हुदैछ ।
चुनाबको पूर्व सध्यामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र समाजवादी पार्टीबीच मिलेर जाने भएको हो । विभिन्न आन्दोलनहरुबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न र बाँकी रहेका प्रादेशिक पहिचानको लागि १०+१ र अधिकार लगायतका मागहरु समेत प्राप्तीका लागि निर्वाचनमा समेत दुई दल मिलेर जाने निर्णय भएको सहमति पत्रमा उल्लेख छ । सहमति पत्रमा मा.विष्णु तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलको नेता विष्णु तुम्बाहाम्फे र समाजवादी पार्टीका संसदीय दलको नेता जयराम यादब हस्ताक्षर गरेका छन् । दई दलबीच भएको सहमतिलाई पहिचान र अधिकारका लागि सम्झौता भएको जयराम यादबले ठानेका छन् । प्रदेश सभा प्रदेश नम्बर १ मा समाजवादीका ३ र मञ्चका १ प्रदेश सभा सदस्य रहेको छ । प्रदेश नम्बर १ को लागि मोरङको विराटनगर महानगरपालिका स्थित वीरेन्द्र सभागृहलाई मतदान स्थल तोकेको छ । प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाताले विराटनगरमा मत हाल्नेछन् ।

प्रदेश नम्बर २ मा पनि एक मदतान स्थल तोकिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका स्थित महेन्द्रनारायण स्मृति भवनलाई तोकिएको स्थलमा प्रदेश सभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २७२ गरी जम्मा ३७९ जनाले मत हाल्ने व्यवस्था गरिएको छ । ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थललाई पनि मतदान केन्द्र तोकिएको छ । केन्द्रमा प्रदेश नम्बर ३ को प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन् ।
गण्डकी प्रदेशमा कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ । केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् । साथै प्रदेश नम्बर ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता सो केन्द्रमा मत हाल्नेछन् । कर्णाली प्रदेशमा सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।
आयोगले सुदूरपश्चिम प्रदेशमा डोटीको सिलगढी नगरपालिकाको पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकिदिएको छ । केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका आयोगका सहसचिब एवम् प्रवक्ता राजकुमार श्रेष्ठ द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको आयोगद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।
चुनाबमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदूर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेको जनाए ।
















