साइनो समाचारदाता
केराबारी । कुसुमे साईनिङ क्लब, केराबारी ९ देबीझोडाको आयोजनामा भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि रोयल क्लब दमक झापाले चुमेको छ ।
सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ)लाई ट्राइब्रेक्ररमा ३–१ गोलको अन्तरले हराउँदै दोस्रो कुसुमे उद्यौली कप २०७६को उपाधि उपाधि जित्न सफल भएको छ । निर्धातिर समयमा गोल हुन नसकेपछि ट्राइब्रेक्ररतर्फ खेल मोडिएको थियो । ट्राइब्रेक्ररमा रोयलको तर्फबाट रुद्र कार्की, आशिस चौधरी, सञ्जीव बुढाथोकीले गोल गरेका थिए भने, उत्तम कार्कीले गरेको प्रहार गोल हुन सकेन ।
रोयलका ४ खेलाडीको प्रहारमा ३ गोल भएको थियो । तर एपिएफको तर्फबाट भने उमेश चौधरीले मात्र गोल गर्न सके । सबिन थापा, सुबराज श्रेष्ठ र भुवन बस्नेतको प्रहार भने रोयलका गोल किपरले रोकेका थिए । विजेता टिमले नगद पुरस्कार ५१ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले ३१ हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
म्यान अफ दि म्याच घोषित रोयलका खेलाडी आशिस चौधरीले नगद पुरस्कार १ हजार ५ सय प्राप्त गरेका छन् । वेस्ट गोल किपर रोयलका खेलाडी उत्तम पोखरेल, धेरै गोलकर्ता एपिएफका आकाश राई र कृष्ण थापा घोषित भएका छन् । उनीहरूले प्रति व्यक्ति नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् । म्यान अफ द सिरिजमा एपियफका रविन राई घोषित भएका छन् । उनले नगद पुरस्कार ५ हजार प्राप्त गरेका छन् । किराँत समुदायको उद्यौली पर्वको अवसरमा सो प्रतियोगिता भएको थियो ।





















