साइनो समाचारदाता
पथरी । ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु । वर्ष फेरिने दिन (पुस १५) लाई ‘तमु ल्होछार’ भनिन्छ । सो ल्होछार आदिबासी जनजाति गुरूङ समुदायले आज मनाइँदै छ ।

ल्होछार गुरुङ समुदायले नयाँ वर्ष तथा प्रमुख चाडको रुपमा मनाउदै आएको छ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार धुमधामका साथ मनाउछन् । ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको बताइन्छ । खास गरी गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्ला सामुहिक रुपमा पर्व मनाउने गरिन्छ ।
आज रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । ल्होछारको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । प्रदेश नम्बर १ मा सार्वजनिक विदा भने दिइएको छैन भने उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिकालगायतले पर्वको अवसरमा विदा दिइएको छ । गुरुङ समुदायले पथरी, उर्लाबारी, बेलबारीमा भव्य कार्यक्रम गरी मनाउदैछ ।
राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, समाजवादी पार्टी प्रदेश नम्बर १ले शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गरेका छन् ।

















