साइनो समाचारदाता
दमक । किरात राई विद्यार्थी संघ झापा जिल्ला समितिले संगठनको विवाद समाधान नगरेसम्म झापा जिल्लाको कुनै पनि कार्यक्रममा सहभागी नहुने किरात राई यायोक्खाका अध्यक्ष दिवस राईलाई आग्रह गरेको छ ।

शनिबार झापाको दमकमा हुन लागेको किरात राई कोयु कोयी सोदेलको अधिवेशनमा यायोक्खा अध्यक्ष राई प्रमुख अतिथि भएर सहभागी हुन लागेको भन्दै किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष सुनिल राई र सहसचिव मिलन राईले शुक्रबार प्रेस विज्ञप्ती निकाली दमकको कार्यक्रममा सहभागी नहुन आग्रह गरेका हुन् ।
खोटाङमा सम्पन्न संघको ९ औं राष्ट्रिय सम्मेलनपछि विवाद उत्पन्न जितेन राई र रामचन्द्र राईको अध्यक्षतामा दुई अलगअलग समिति गठन गरिएको छ । तर उक्त विवाद समाधान गर्ने सन्दर्भमा यायोक्खा अध्यक्षले चासो नदिएको रामचन्द्र राई पक्षधरको भनाइ छ ।
आफूहरुले आग्रह गर्दागर्दै पनि दमकको कार्यक्रममा सहभागी भए कडा प्रतिवाद गर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् । कोयी कोयुहरुको अधिवेशनलाई प्रभावित पार्ने चाहना नभएको प्रष्ट पार्दै विज्ञप्तीमा भनिएको छ, ‘यस अनुरोधलाई बेवास्ता गरे उक्त घटनाबाट सिर्जना हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने जानकारी गराउँदछौ ।’
















