साइनो समाचारदाता
काठमाडौं । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले मतदान स्थल तोकेको छ । प्रदेश नम्बर १ को लागि मोरङको विराटनगर महानगरपालिका स्थित वीरेन्द्र सभागृहलाई मतदान स्थल तोकेको छ । प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाताले विराटनगरमा मत हाल्नेछन् ।

प्रदेश नम्बर २ मा पनि एक मदतान स्थल तोकिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका स्थित महेन्द्रनारायण स्मृति भवनलाई तोकिएको स्थलमा प्रदेश सभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २७२ गरी जम्मा ३७९ जनाले मत हाल्ने व्यवस्था गरिएको छ । ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थललाई पनि मतदान केन्द्र तोकिएको छ । केन्द्रमा प्रदेश नम्बर ३ को प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन् ।
गण्डकी प्रदेशमा कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ । केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् । साथै प्रदेश नम्बर ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता सो केन्द्रमा मत हाल्नेछन् । कर्णाली प्रदेशमा सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।
आयोगले सुदूरपश्चिम प्रदेशमा डोटीको सिलगढी नगरपालिकाको पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकिदिएको छ । केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका आयोगका सहसचिब एवम् प्रवक्ता राजकुमार श्रेष्ठ द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको आयोगद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।
















