साइनो समचारदाता
काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टीले उम्मेदवारको नाम टुङगो लगाएको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारहरूको नाम टुङगो लगाएको हो ।
कास्की प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा धर्मराज गुरुङको नाम टुंगो लगाएको छ । त्यस्तै बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा ‘२’ मा अशोककुमार विश्वकर्मा र दाङ प्रतिनिधि सभा क्षेत्र नं. ३ ‘२’ मा डिल्लि डाँगीको नाम अन्तिम फाइनल गरेको छ । भक्तपुर प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा १ को भने जिल्ला पार्टी समायोजन बाँकी नै रहेकोले अहिले टुङगो नलागेको स्रोतले बताएको छ । पार्टीको केन्द्रीय कार्यकारिणीको वैठकले निर्णय गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणीको बैठक आगामि कार्तिक २८ गते देखि ३० गते सम्म बस्ने जनाएको छ ।
त्यस्तै मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनिधि सभाको उपनिर्वाचनको तयारी थालेको छ । समाजवादी पार्टीले ५ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ । विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेल सहसंयोजकत्वमा चुनाव प्रचार प्रसार समिति गठन गरेको हो । पोखरा महानगरपालिकाको वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी एघारवटा वडामा ब्लक ब्लक र वडा वडाका कमाण्डका लागि केन्द्रीय, प्रदेश र तमुवानका नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको गण्डकी प्रदेश इञ्चार्ज गणेशमान तमुले जानकारी दिए ।

















