साइनो समचारदाता
काठमाडौं । साउनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरू अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त जिल्ला जिल्लामा खटिएका छन् ।
भदौ महिनाभित्र ७७ जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान सुरू गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । बर्तौलाका अनुसार मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको छ भने यो हप्ताभित्र गोर्खा, लमजुङ, झापा, बैतडी,पाँचथर,इलाम, सुनसरीको प्रशिक्षण तय गरिएको छ । प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण वर्ष(२०७६ को कार्य योजना, संगठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक वैचारिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइनेछ । भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
















