साइनो समचारदाता
दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिकामा शुक्रबार राति पहिरो जाँदा दुई जना बेपत्ता भएको छ । पहिरो खस्न थालेपछि घरबाट निस्किएका स्थानीय जगतबहादुर खत्री सम्पर्क्बिहीन रहेको प्रजिअ रिजालले जानकारी दिएका छन् । पहिरोमा परेको एउटा गाडीको उद्धार गर्न गएका अर्का स्थानीय अन्दाजी २० वर्षका निशान खड्का पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
काठमाडौंबाट जाँदै गरेको बस पहिरोमा पुरिएपछि उद्धार गर्न गएको टोलीमा खड्का पनि गएका र उनी पहिरोमै परी बेपत्ता भएका प्रहरीले बताएको छ । पहिरोबाट १० घर पुरिएको छ । गाउँपालिकाको वडा नम्बर १ झगडे जुगुमा अन्य ११ वटा घरमा बस्न नमिल्ने गरी क्षति भएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । पहिरो पीडितलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।घटनाको थप अध्ययन, राहत र उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रिजाल नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको छ ।