काठमाडौं । एसियन मुलुक एवम नेपाली युबाहरुको बैदेशिक रोजगारको आकर्षक केन्द्र बन्दै गएको भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या ९२ हजार नाघेको छ । भाषा परीक्षा ०७६ जेठ २५ र २६ गते हुने परीक्षाको लागि १० हजारको कोटामा ९२ हजारभन्दा बढी युवा भिड्ने भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुला भएको थियो ।
सन् २०२० का लागि कोरिया जान भाषा परीक्षा दिने समयसीमाको अन्तिम दिन राति ९ बजेसम्म ९२ हजार ३ सय १९ जनाले आवेदन भरिसकेका छन् । रातको १२ बजेसम्म यो संख्या करिब साढे ९२ हजार नाघ्ने अनुमान छ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ ।
उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ । यो वर्ष साढे ६३ हजारले उत्पादनमुलक क्षेत्रमा जानका लागि भाषा परीक्षा दिनेछन् । कृषि तथा पशुपालन समूहमा झण्डै २९ हजार आवेदन परेको छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिने व्यवस्था गरेको परिक्षार्थीहरुले लेखेको परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुदैछ । १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।