साइनो समचारदाता
पथरी । हात्तीपाइले रोग निवारण अभियान अन्तरगर स्वास्थ्यकर्मीहरुले घरघरमा औसधि खुवाइदैछ । प्रत्येक वडामा ४ जनाका दरले स्वास्थ्यकर्मी परिचालित भएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिकामा अभियानको दोस्रो दिन यस्तौ अभियान थालिएको छ । हिजो १० वडाका १० केन्द्रमा औषधि खुवाइएको थियो । नगरको वडा नम्वर १ मा शहरी स्वास्थ्य केन्द्र, २ मा पथरी स्वास्थ्य चौकी, ३ मा वडा कार्यालय पिपलचौक, ४ मा वडा कार्यालय शनिश्चरे, ५ मा स्वास्थ्य चौकी हसहन्द, ६ मा भातेगौडा केन्द्रमा औषधि खुवाइएको थियो । यसका साथै वडा नम्वर ७ मा वडा कार्यालय किरातीचौक, ८ मा वुद्ध मावि सोमवारे, ९ मा स्वास्थ्य चौकी शनिश्चरे र १० मा नयाँमंगलवारे वजारमा औषधि खुवाएर अभियानको थालनी गरिएको थियो ।
हात्तीपाइले विरुद्धको अभियान अन्तर्गत बुधबार पथरीशनिश्चरे नगरपालिकाको १ नम्वर वडामा १ हजार ५ सय जनाले औषधि सेवन गरेका छन् ।
१ नम्वर वडाको सहरी स्वास्थ्य केन्द्रमा २ सयले, एभरेष्ट वोर्डिङमा ८ सय विद्यार्थी र न्यू प्यागोडा बोर्डिङ ५ सय विद्यार्थीले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाएका छन् । वडा नम्वर ५ र ६ मा ५ सयले औषधि सेवन गरेको पनि उनले जानकारी गराए ।
डाइर्डथाइलकार्बामाजिक(डीईसी) र अबलेन्डाजोन नामक खुवाइने औसधि फागुन १६ गतेदेखि घरघरमै पुगेर खुवाइन्दैछ । औषधि खुवाउन प्रत्येक वडामा ४ जनाका दरले ४० जना स्वास्थ्यकर्मी खटाइएको छ ।
अभियानको पूर्व तयारी स्वरुप नगरको स्वास्थ्य शाखाले वडावडामा अभियानबारे जानकारी गराइएको थियो । औषधि खाएपछि सामान्य वाकवाक लाग्नु, रिङटा लाग्नु स्वाभाविक भएकाले कुनै पनि प्रकारका समस्या भए नडराउन स्वास्थ्यकर्मीको सुझाब छ ।
औषधिको भरमा बाँचेका दीर्घ रोगी (मुटु, क्यान्सर, कलेजो, मृगौला, फोक्सो, छारे रोग) गर्भवती, ७ दिन सम्मका सुत्केरी, २ वर्ष मुनिका बालबालिका, ७० वर्षमाथिका ज्येष्ठ, २४ घण्टाभित्र ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनीका बालबालिले यो औषधि खान हुँदैन । साथै औषधि खान मिल्नेले पनि खाली पेटमा औषधि खान हुँदैन । यो अभियान मोरङसहित १५ जिल्लाहरुमा हुदैछ ।