अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालामा आगन्तुकको घुइँचो (फोटो फिचर सहित) - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालामा आगन्तुकको घुइँचो (फोटो फिचर सहित)

फिपराज बेघा
बेलबारी । विभिन्न सञ्चारमाध्यममा समचार सम्प्रेषण भएपछि विहिबार निवर्तमान सभाषद् चण्डीप्रसाद राईले पनि अन्तर्राष्ट्रिय मूर्तीकला कार्यशालाका मुर्तिहरु अवलोकन गरेका छन् । राई मात्र होइन दैनिक सयौ आगन्तुकहरुले कार्यशालामा निर्माण हुदै गरेको ढुङ्गाका मुर्तिहरु नियालिरहेका देखिन्छ ।


मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रिय मूर्तीकला कार्यशाला गत फागुन ४ गतेदेखि सुरु भइरहेको छ । सुनसान झाडी रहेको ठाउँमा अहिले झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छ । आन्तरिक र वाह्य पर्यटकहरुलाई लक्षित गरेर सिर्जना पार्क बनाउन लागेको वडा अध्यक्ष गंगा याक्खाले जनाएका छन् । ५० वटा मुर्ति तयार गरी सुन्दर बगौचा निर्माण गर्ने ध्येयको साथ कार्यशालामा सुरु भएको हो । अहिले जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तिहरु खोपिरहेका छन् । जसमा ५ विदेशी र २५ स्वदेशी मुर्तिकार छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मुर्ति बनाउने छन् । त्यससपछि सृजना सामुदायिक वनको उक्त क्षेत्रको नाम मूर्तिको बगैंचामा परिणत हुनेछ ।

पार्कमा मुर्ति निर्माण गरे बापत् मुर्तिकारहरुलाई पार्क व्यवस्थापन समितिले केही नगदसहित सम्मान गर्ने तयारी गरेको छ । कार्यशालाले बेलबारीलाई पहिचान गराउनेमा आशाबादी छन्, कार्याशालाका समन्वयकर्ता धनु याक्खा । उनले केही मूर्ति धिमाल र राजवंशीको संस्कृति झल्कने खाल्को हुने बताए ।
कार्यशाला धनु आर्ट स्टुडियोले आयोजना गरेको हो । करिब १ करोड ८४ लाखको लागतमा कार्यशाला हुदैछ । स्टुडियोका प्रमुख हुन् धनु याक्खा । बेलबारी नगरपालिका र सिर्जना सामुदायिक वन कार्यालय पनि आयोजकमा छन् भने बुद्ध एअर, नोबेल अस्पताल, गोर्खा डिपार्टमेन्ट स्टोर, चिसाङ क्रसरलगायतले कार्यशालालाई सहयोग गरेका छन् । याक्खा नै अध्यक्ष रहेको मूल आयोजक समितिले सुनसरीको इटहरी स्थित तालतलैयामा २०७२ साल माघ ९ गतेदेखि २६ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको एकता अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशालाको आयोजना गरेको थियो । त्यतिबेला याक्खा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुर्तिकला विभागका प्रमुख थिए । कार्यशालामा तयार भएका ढुंगाका मूर्तीहरु अहिले तालतलैयालाई चिनाउने आकर्षणका रुपमा स्थापित छन् ।

 

सम्बन्धित खवर