ओलीलाई कुर्सीबाट तानेर सडकमा ल्याउने तरुण दलको चेतावनी - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

ओलीलाई कुर्सीबाट तानेर सडकमा ल्याउने तरुण दलको चेतावनी


साइनो समचारदाता
विराटनगर । नेपाल तरुण दल प्रदेश केन्द्रीत आन्दोलन प्रदेश नम्बर १ विराटनगरबाट सुरु गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र मोरङ जिल्ला समितिको संयोजनमा प्रदेश १ को विराटनगरमा आयोजित विरोध प्रदर्शन ऐतिहासिक बनेको आयोजकहरुले बताएका छन् । सरकारले प्रदर्शनलाई कमजोर बनाउन अनेकौं हथकण्डा अपनाए पनि सडक प्रदर्शन र सभामा हजारौं सहभागी भएको कोषाध्यक्ष विद्य्वान गुरुङले बताए । कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ओली सरकारको रवैया यस्तै रहे सरकारलाई कुर्सीबाट तानेर सडकमा ल्याउने चेतावनी दिए ।
‘दुईतिहाइको दम्भले फुलेको ओली सरकारले जनता विरोधी कामहरू तत्काल सच्चाउनुपर्छ । नसच्याए जनताको हितका लागि कुर्सीबाट तानेर सडकमा ल्याउन हामी तरुण दल बाध्य हुनेछौं ।’ सरकारले जनविरोधी काम गरिरहेको र फजुल खर्च गरिरहेको भन्दै जनस्तरमा आलोचना भइरहेको छ । निर्मला बलत्कार र हत्याकाण्ड, सुन प्रकरण उदाहरण मात्र हुन् अध्यक्ष बस्नेतको भनाई थियो । उखान टुक्काले मुलुक चल्दैन प्रधानमन्त्रीले सोचुन् । तरुणका महासचिव भुपेन्द्रजंग शाहीले ओली सरकार मुलुकको धर्म, सस्कृति र परम्परा बेचेर खरिद गरेको होली वाइन खाएर फुलेको आरोप लगाएका थिए । उनले भने, ‘सरकारलाई भ्रष्टाचार गरेर पुगेन, ३३ किलो सुन पचाएर पुगेन र अन्तिममा धर्म बेचेर किनेको होली वाइन खाएर मोटायो । अहिले तरुणको आन्दोलन देखेर आत्तिनु पर्दैन यो त काष्टिङ मात्र हो ।’
कम्युनिस्ट सरकारको कुशासन विरुद्ध तरुण दलले सात वटै प्रदेशमा विरोध कार्यक्रम गर्ने भएको छ । मंगलबार प्रदेश एकको विराटनगरमा भएको विरोध कार्यक्रमपछि तरुणले ९ गते बुधबार प्रदेश २ को जनकपुरमा गर्ने भएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही,कोषाध्यक्ष विद्य्वान गुरुङ लगायतका १४ वटै जिल्लाका हजारौं तरुणको सहभागिता थियो । सरकारको विरोधमा सातवटै प्रदेशमा विरोध कार्यक्रम गर्ने तय भएअनुसार प्रदेश १ बाट विरोधका कार्यक्रम सुरु गरिएको महासचिव भुपेन्द्र जंग शाहीले बताउनुभयो । तरुणदलले शनिहाट चौकमा भेला भई विरोध र्यालीसहित महेन्द्र चौक पुगेर विरोध सभा गरेको थियो ।

सम्बन्धित खवर