संघीय समाजवादी र माओवादी केन्द्र एकीकृत - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

संघीय समाजवादी र माओवादी केन्द्र एकीकृत

साइनो समचारदाता
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल (ससफो) र माओवादी कम्युनिष्ट केन्द्रबीच सोमबार पार्टी एकीकरण भएको छ । राजधानीको पुस्पलालपथ, खुशिबुँस्थित नेपाः ब्यान्क्वेटमा आयोजित एकता घोषणा कार्यक्रममा दुई दलबीच एकीकरण घोषणा गरिएको हो ।
केशव दाहाल संयोजक रहेको माओवादी कम्युनिष्ट केन्द्र, नेपाल यसअघि माओवादीको नीति सिद्धान्तमा असहमत हुँदै २०६२ सालमा अलग्गिएर छुट्टै पार्टीका रुपमा सक्रिय हुँदै आएका थिए । केही समय अघि हाम्रो कम्युनिष्ट पार्टी नेपाल पनि संघीय समाजवादी फोरम नेपालमा एकीकृत भएको थियो । ससफो नेपालको केन्द्रीय समितिको सातौँ बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग एकता गर्नका लागि पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
समितिले अरु केही राजनीतिक दलहरूसँग पनि एकता वार्ता अन्तिम चरणमा पुर्याएको कुरा पार्टीका वार्ता समिति सदस्य तथा कार्यालय प्रमुख प्रकाश अधिकारीले बताएको छ ।
एकता घोषणा सभामा माओवादी कम्युनिष्ट केन्द्रका अध्यक्ष केशव दाहालले सैद्धान्तिक तथा वैचारिक दृष्टिकोणले ससफो, नेपाल अवको वैकल्पिक शक्ति भएको हुँदा आफुहरु एकता प्रक्रियामा सहभागी भएको वताएका छन् । उनले ससफो नेपालले अंगीकार गर्दै आएको नेपाली क्रान्तिको मौलिक सिद्धान्त संघीय समाजवाद नै नेपाल जस्तो बहुराष्ट्रिय मुलुकका लागि उपयुक्त भएको विचार व्यक्त गरे । उनले नेपालका कांग्रेस, नेकपा जस्ता दलहरूले पश्चगमनको बाटो अङ्गीकार गरेको हुँदा न्याय, समानता र पहिचानको आन्दोलनलाई तिनीहरूले टुंगोमा पुर्याउन नसक्ने भन्दै पहिचानसहितको संघीयतासँगै वर्गीय मुक्ति नै आजको राष्ट्रिय आवश्यकता रहेको बताए । उनले माओवादी कम्युनिष्ट केन्द्र एकीकृत भए संगै ससफो नेपाल राजनीतिक तथा सांगठानिक हिसावले अझ मजवुत भएको पनि दावी गरे ।
एकता सभामा ससफो नेपालका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अव नेपालको वैकल्पिक राष्ट्रिय पार्टी संघीय समाजवादी फोरम नै भएको हुँदा सवै परिवर्तनकारी अग्रगामी शक्तिहरू एकीकृत हुदै गएको वताए । उनले वर्तमान गणतन्त्रलाई संघीय समाजवादी गणतन्त्रमा बदल्नका लागि थप संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरे ।
पार्टीका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष तथा वार्ता समितिका सदस्य रकम चेम्जोङ लगायतका नेताहरूले पनि कार्यक्रममा पार्टी एकताको महत्वबारे सारगर्भित मन्तब्य राखेका थिए । उनीहरूले पार्टीमा एकीकृत भएका साथीहरूलाई उपयुक्त जिम्मेवारी दिने कुरामा आश्वस्त पारे ।
कार्यक्रमको सञ्चालन ३ नम्बर प्रदेशका सहइन्चार्ज कृष्णवहादुर घःजु, स्वागत इन्चार्ज आङ्देण्दी शेर्पा र धन्यवाद उपमहासचिव प्रकाश अधिकारीले गरेका थिए । कार्यक्रममा कम्युनिष्ट केन्द्रका करिब ३०० जना नेता कार्यकर्ताहरू ससफोमा एकीकृत भएका थिए ।

सम्बन्धित खवर