साइनो समचारदाता
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी संख्या बढ्ने संकेत देखिएको छ । अहिले कांग्रेसमा सभापतिसहित ५ जना पदाधिकारी रहने व्यवस्था छ ।
अब पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, दुई सह महामन्त्री, र एक कोषाध्यक्ष हुने लगभल पक्कापक्की भएको छ ।
कांग्रेस भित्र संस्थापन पक्ष र पौडेल पक्षबीच पदाधिकारीको संख्यालाई लिएर मतभेद रहँदै आएको छ । पौडेल पक्षले पदाधिकारी संख्या बढाएर ११ जना पु¥याउनु पर्ने मत राखेको छ भने देउवा केही अघिसम्म पदाधिकारीको संख्या बढाउन नहुने पक्षमा थिए ।
आइतबार साँझ भएको छलफलमा पदाधिकारी संख्या केही थप्न सभापति देउवा लचक भएका हुन्। ‘सभापतिले ८ पदाधिकारीमध्ये पाँच जना सभापति, एक उपसभापति, एक महामन्त्री, एक सह महामन्त्री र कोषाध्यक्षको प्रत्यक्ष चुनाव गरौं भन्ने राय राख्नु भएको छ,’ कांग्रेस नेता विमलेन्द्र निधिले सेतो पार्टीलाई भने, ‘बाँकी तीन जना उपसभापति, महामन्त्री र सहमहामन्त्री केन्द्रीय समितिले निर्वाचित गर्नुपर्ने उहाँको मत छ।’ पौडेल पक्षबाट पदाधिकारीको संख्याबारे संस्थापन पक्षसँग वार्ता गर्ने जिम्मा नेता अर्जुननरसिंह केसीले पाएका थिए । पदाधिकारीको संख्या ८ राख्नेमा छलफल गर्न सकिने भए पनि ती सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाटै छानिनु पर्ने केसीले राय राखेका थिए। पदाधिकारी संख्याबारे विवादको अन्तिम टुंगो भने लागिसकेको छैन। ‘छलफल धेरै भएको छ। अहिले नौ बजे बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरेर अन्तिम निष्कर्षमा पुग्छौ,’ निधिले भने।