मंसिर १७ गते
साइनो समचारदाता
काठमाडौं । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई फिर्ता बोलाउन सरकारमाथि सत्तारुढ नेकपाभित्रै दबाब बढेको छ ।
नेकपाका केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र युवराज चौलागाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत् कूटनीतिक मर्यादाविपरीत मानवतस्करीजस्तो गम्भीर आरोप लागेकी राजदूत शेर्पालाई बर्खास्त गरी स्वदेश फर्काउन माग गरेका छन् । चौलागाईंले पनि मुलुकको दूतको भूमिकामा रहेकी शेर्पामाथि मानव तस्करीको संगीन आरोप लागेको र त्यसबाट अन्तर्राष्ट्रिय समुदायसामु मुलुकको शीर झुकेको उल्लेख गरेका छन् । उनले नेकपाको समेत सिफारिसमा त्यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको व्यक्तिबाट त्यसखालको आपत्तिजनक काम भएको सुन्दा आफूहरु लज्जित भएको बताएका छन् । नेकपा र सरकारले यस परिघटनालाई अत्यन्त गम्भीरता पूर्वक लिई छानबिन गर्नु पर्ने र पदीय दुरुपयोग गर्नेमाथि कडा कारबाही गर्नुपर्ने माग चौलागाईंको छ ।
आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाट समेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको खुलासा भएको छ । चालक शेर्पाले लक्की र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका छन् । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ । त्यहाँ पुगेपछि पनि कूल ६० लाख दिनुपर्ने पूर्व सर्त अनुसार आफूले मासिक १ हजार डलर शेर्पा दम्पत्ती लाई बुझाउने गरेको उनको भनाइ छ ।
एमालेबाट संविधानसभा सदस्य भएकी शेर्पा पछि माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । उनी माओवादी केन्द्रको कोटामा राजदूत बनेकी हुन् ।