कार्तिक २६ गते
साइनो समचारदाता
बेलबारी । मोरङको बेलबारी नगरपालिकामा गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि कुटपिट भएको छ ।
आइतबार बेलबारी घरबाट पत्नीसहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर धरानतर्फ जाँदै गर्दा आक्रमण गरेको प्रहरीले जनाएको छ । काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ उर्लाबारी नगरपालिकाका २० वर्षिय रोशन श्रेष्ठ, सहचालक झापाको दमक नगरपालिका १० का २१ वर्षिय सुजन श्रेष्ठ समेतले बेलबारीको लालभित्तीमा पुगेपछि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए ।
कुटपिटबाट गायक श्रेष्ठको कन्चट फुटेको छ भने निधारको वायाँ भाग सुन्निएको छ । गायक श्रेष्ठमाथि कुटपिट गरेर भागेको यात्रुबहाक बस, बसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ३ का २६ वर्षीय निरन घिमिरे र सहचालक सुजन श्रेष्ठलाई प्रहरीले मोरङको गछियाबाट नियन्त्रणमा लिएको छ । कन्डक्टर श्रेष्ठ भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बसमा बस्ने सिटको विषयमा विवाद भएपछि श्रेष्ठमाथि कुटपिट भएको खुलेको छ । बस भित्रै कुटपिट गर्न थालेपछि यात्रुहरुमा समेत खैलाबैला मच्चिएको थियो । बसमा यात्रा गरिरहेका यात्रुहरु समेत त्यहाँबाट ओर्लिएर कुटपिटमा संलग्नमाथि कारवाही हुनु पर्ने माग गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेका थिए ।