काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवक्ता पदबाट नेता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएको छ । सोमबार बसेको सचिबालय बैठकले राजीनामा अस्वीकृत गरेको हो । ‘प्रवक्ता पदबाट दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ ।’ बैठकपछि श्रेष्ठले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेदपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका थिए। अनसनमा रहेका बेला गोविन्द केसीलाई पार्टीको नीति विपरित भेट्न गएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए पछि मतभेदको क्रममा राजीनामा दिएका थिए । साउन ७ गतेको सचिवालय बैठकमा ओली र श्रेष्ठबीच दोहोरी चलेको थियो । श्रेष्ठले बैठकमै ‘तपाईँहरूको प्रवक्ता पद तपाईँहरु नै राख्नुहोस्’ भनेर राजीनामा दिएका थिए। नेकपाको सचिवालय बैठक कार्तिक ७ बुधबार गते पुनः बस्दैछ ।