जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले दिएको अधिकार अनुसार नै प्रदेश नं २ ले प्रदेश प्रहरी ऐन बनाएको प्रष्ट पारे ।
एउटा रेडियो अन्तरवार्तामा उनले लामो समयसम्म पनि संघीय सरकारले प्रहरी र प्रशासनका लागि कर्मचारी नपठाएपछि प्रदेश नं २ ले प्रहरी भर्नाका लागि प्रहरी ऐन बनाएको हो ।
यस विषयलाई लिएर एकात्मक चिन्तन बोकेका केही नेता तथा प्रशासकहरुले विरोध गरिरहेका बेला राउतले भने, ‘संविधानको अनुसुची हेर्नुहोस् त्यहाँ प्रदेश प्रहरी गठनको व्यवस्था छ ।’
संविधानको धारा २६८ मा प्रदेशले प्रदेश प्रहरी गठन गर्ने र संघीय सरकारले त्यसको समन्वय गर्ने उल्लेख छ ।
‘पहिलेपहिले त केही मान्छेहरुले मात्रै कानून पढ्थे । अब त हातहातमा संविधान छ हामी पनि कानून पढ्छौं,’ मुख्यमन्त्री राउतले भने, ‘प्रहरी र प्र्रशासनविनाको प्रदेश सरकार हुन्छ ? प्रदेशलाई पंगु बनाउन खोजियो भने प्रदेश नं २ ले त्यसलाई बरदास गर्दैन ।’
उनले संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने जिकिर गरे । कुन मन्त्रीले के भने ? भन्दै हिड्नुभन्दा पनि कानूनमा के छ ? भनेर अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
संघीयता नचाहने तत्वहरुले संघीयतालाई असफल बनाउने प्रयास गरेको उनको भनाइ छ ।
एक वर्षभित्रमा विभिन्न कानुनहरु निर्माण गरेर संघीयता कार्यान्वयन गर्दै जानुपर्नेमा संघीयतामाथि नै षडयन्त्र भइरहेको बेला संघीय सरकार के हेरेर बसिरहेको छ ? भन्दै उनले प्रश्न समेत गरे ।