धरान । सुन्सरीको धरानमा लाग्ने भनिएको मेलाको विरुद्धमा बुधबार धरानमा विरोध र्याली र कोणसभा भएको छ ।
संघीय समाजवादी फोरम, जनमुक्ती पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान मञ्च, धरान एकता समाज, किरात खम्बुवान साझा पार्टी, वाइसिएललगयात दल एवं संघसंगठनहरुले मेलाको विरोधमा र्याली निकालेको हो । धरान ७ शान्तिपथबाट निस्केको र्याली भानुचोक, छाताचोक हुदै उपमहानगरपालिका पुगेको थियो । बुधबारदेखि नगरपालिका विदा भइसकेको हुनाले कोही पनि कर्मचारी र जनप्रतिनिधिहरु थिएनन् । विरोधमा सहभागीहरुले मुलगेटबाहिर चर्को नाराबाजी गरेर पुनः र्याली भानुचोकतर्फ गएको थियो । भानुचोकमा पुगेर र्याली कोणसभामा परिणत भएको थियो । संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष ताजुब लिम्बुले कर समायोजनबारे कार्यदलको दिएको रिपोर्टलाई थन्काएर निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरी कार्यपालिकाले मेलाको निर्णय गरेर संस्थागत भ्रष्टचार गरेको आरोप लगाए । नगरमा मनपरी तन्त्र बढेको भन्दै उनले विकास निर्माणको एजेण्डाभन्दा मेलाको एजेण्डा महत्वपुर्ण हुनु दुःखद भएको बताए । उनले भने,‘धरानको विकासको एजेण्डाहरु अलपत्र छ, मेला लगाउने हतारमा निर्णय गर्ने ? आफ्ना निश्चित व्यक्तिलाई फाइदा पुग्न गरी भएको यो निर्णय संस्थागत भ्रष्टचार हो । मेला लगाउने निर्णय गर्दै गर्दा खै धरानको शान्ति सुरक्षालाई ध्यान दिएको ? सुरक्षा निकायसँग समन्वय गरेको ?’
कोणसभामा बोल्दै आन्दोलनको संयोजक सञ्जुहाङ साँवाले जनप्रतिनिधिहरु आएपछि धराने जनताले दुःख मात्र पाएको आरोप लगाए । कर्मचारी र कमाउ धन्दा चलाउनेहरुको इसारामा जनप्रतिनिधिहरु चलेको भन्दै उनले बहुमतको दम्भ धेरै समय नटिक्ने पनि दाबी गरे । ‘जनप्रतिनिधि आएपछि जनताले के पायो ? बाटो जताजतै भत्केको छ, खाल्डाखुल्डी छ । त्यो मेलाको निर्णय गर्नुभन्दा खाल्डाखुल्डी मर्मत गर्ने निर्णय गर्दा के जान्थ्यो ?’साँवाले भने,‘मेलाबाट कति आम्दानी हुन्छ, र नगरमा के विकास हुन्छ भनेर जनप्रतिनिधिले भन्न सक्छ ? मेला लगाउन दिएर भ्रष्टचार गरेको छ ।’
कोणसभामा किरात खम्बुवान साझा पार्टीका कुमार राई र मंगोल नेशनल अर्गनाइजेशनका नगर अध्यक्ष लोकबहादुर राईले प्रहरी प्रशासनसँग समन्वय र सुरक्षाबारे सहकार्य नभएकोल मेलामा जनता असुरक्षित भएको बताए ।