साइनो समचारदाता
सर्लाही । प्रदेश नम्बर २ को सर्लाही जिल्लामा मंगलबार बिहान गोली प्रहारबाट एकजनाको हत्या भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा दुई पक्षबीच विवाद हुँदा चलाइएको गोलीबाट स्थानीय राम विलास महतोको मृत्यु भएको हो । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अवरोध गरेका छन् ।
महतोमाथि गोली प्रहार गर्ने समूहको खोजी तथा घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए । सोही वडाका वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेको बिषयमा आज मंगलबार दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको स्थानीयले बताए । कुटपिटबाट वडाध्यक्ष महतोको टाउकोमा गहिरो चोट र बायाँ खुट्टा भाच्चिएको छ । उनको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय नारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको महतोको दावी छ । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका थिए । मृतक महतो नातामा वडाध्यक्षका काका भएको जनाएको छ ।