धरान, ६ कात्तिक । धरानमा दसैं–तिहारको अवसरमा मेला लगाउने र नलगाउने पक्षबीच विवाद हुँदा मंगलबार झडप भएको छ । चतारालाइनस्थित धरान उपमहानगरपालिका कार्यालय र पब्लिक स्कूलनजिक दुई युवा समूहबीच झडप भएको हो । झडप हुँदा बलजीत तामाङ र समिक्ष श्रेष्ठ घाइते भएका छन् । मेला लगाउने पक्षको छुरा प्रहारबाट घाइते उनीहरू वीपी अस्पताल घोपा धरानमा उपचार भइरहेको छ ।
आक्रोशित युवाहरूले पब्लिक स्कूल अगाडि तयार पारिएको मेलाको गेट तोडफोड गरेका थिए । सो क्रममा प्रहरीले पाँच राउण्ड अश्रु ग्यास हानेका थिए । प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी अमर इजमले बताए । मेला लगाउँदा जुवाजन्य खेल तथा मादकपदार्थका कारण विगतमा झैं युवायुवाबीच नै काटमार र झगडा हुने भन्दै मेला लगाउन नहुने भन्दै विरोध जनाउँदै आएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्ज, मंगोल नेशनल अर्गनाइजेशन लगायत दलले विरोध जनाएका छन् । तर धरान उपमहानगरपालिकाले सर्वपक्ष सहमति नजुटाई मेला लगाउन दिने निर्णय गरेको थियो । मेला लगाउने जिम्मा छिमेकी युवा समूहले पाएको थियो । जिल्ला प्रशासन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालय धरानले समेत सुरक्षाको जिम्मा नलिएको अवस्थामा धरान उपमहानगरपालिकाले मात्रै एकतर्फी निर्णय लिँदा झडपको अवस्था आएको हो ।
मेलाका विरोधीहरूले उपमहानगरपालिकाले अझै पनि गम्भीर नभए फेरि झडप हुन सक्ने चेतावनी दिएका छन् ।