बिनाबित्थामा
अगाडिको भित्तामा
कसले झुण्डाइरै’छ
थोत्रो ऐना ?
*** *** ***
कुल्चिराख्या माटोभन्दा आदिम,
देखिराख्या कट्टुसभन्दा बूढो,
अनि,
केसामी नाम्सामीको मिथभन्दा पुरानू
यी अनुहारहरू किन फिटिक्कै देखिन्दैनन् ?
*** *** ***
एउटै फ्रेमभित्र परे पनि
किन तेस्कै अनुहार कान मात्रै ?
किन तेस्कै नाक मुस्कान मात्रै ?
-जस्तो कि हामेरको अनुहारै छैन ।
-जस्तो कि कवाडी भैसक्यो ऐना ।
*** *** ***
सप्पैलाई था’भाको कुरो,
-हजारौं थोपाले बन्छ समुन्द्र
-हज्जारौं टुक्राले बन्छ ऐना
अनि,
-हज्जारौं अनुहारले बन्छ देश
तिमेरलाई था’भाको कुरो,
-घटेन भने पानी समुन्द्र नै पोखिन्छ
-अटेन भने टुक्रा ऐना नै टुक्रन्छ
हामेरलाई था’भाको कुरो
-ऐना र देश उस्तै हुन्छ ।
*** *** ***
२०६३ कात्तिक
विजयपुर, लिम्बुवान ।

















