अर्जुन काफ्ले पथरी
छैटौं बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरे टोली ब्रिग्रेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लव झापालाई ट्राइबेकर ५–३ गोल अन्तरले पछिपार्दै ब्रिग्रेडले उपाधी चुमेकोे हो । ब्रिग्रेडले उपाधी संगै ८ लाख नगद र ट्रफी प्राप्त गर्यो भने बिर्तामोड झापाले ५ लाख र ट्रफिमा चित्त बुझायो । बिजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पुरस्कार प्रदान गर्नु भएको छ ।

निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधीबाट बिमुख भएको हो । खेल सुरु भएको २ मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । ब्रिग्रेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै झापाका अभिषेक गुरुङले गोल गरेका थिए ।
३१ औं मिनेटमा ब्रिग्रेड खेलमा फर्कियो । ब्रिग्रेडका लागि दिपेश आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बडेको अबस्थामा कसैको नजरमा नपरेका दिपेशले डि एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो । दुबै टिमले निक्कै आक्रमक खेल खेले पनि थप गोल हुन नसक्दा खेल ट्राइबेकर तर्फ धकेलिएको थियो ।

ट्राइबेकरमा ब्रिग्रेडका रोशन राना, एन्जल महर्जन ,दिपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र बिक्रम लिम्बुले गोल गरे । बिर्तामोडका निशान तामाङको प्रहार ब्रिग्रेडका गोल रक्षक विशाल सुनार बचाएका थिए ।
उनि उत्कृष्ट गोल किपर समेत भए । बिधागत तर्फ पनि ब्रिग्रेडले कब्जा जमायो । ब्रिग्रेडका जय गुरुङ उत्कृष्ट खेलाडिमा, डिफेन्स पदम भट्टराई, हाइ स्कोरर दिपेश, उत्कृष्ट कोच धनेश्वर प्रजापती घोषित भए । खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ, उत्कृष्ट फरवर्ड बिर्तामोडका आशिष चापागाईं, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका रोहन कार्की घोषित भए । उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका ८ टोली सहभागी थिए । असोज २६ बाट गोल्डकप सुरु भएको थियो ।


















