साइनो समाचारदाता
काठमाडौं । कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीले भाइरल र भाइरस दुवै खतरनाक रहेको बताएका छन् । वर्तमान समयमा कोरोनाभाइरस र सामाजिक सञ्जालमा हुने भाइरल दुवै खतरनाक भएको उनले बताएका हुन् ।
‘हिजो र आज’ शीर्षकमा लामो स्टाटस पोष्ट गर्दै गिरीले भाइरल र भाइरसबाट बच्न सुझाएका समेत छन् । ‘हरेक दिन कोरोना भाइरसको डर फैलिरहेसँगै एक चलचित्रकर्मीको हिसाबले आज कुन सहकर्मी भाइरल हुने हो भन्ने डरले मुटु झस्किरहन्छ आजकाल । एकातिर भाइरसको डर अर्काे तिर भाइरलको डर,’ उनले अगाडी लेखेका छन् ‘हिजोको दिनमा कुनै च्यानलमा अन्तरवार्ता दिएर आउँदा मनै गद्गद् हुन्थ्यो । टोल, छिमेकी, ससूराली सबैतिर आफै हल्ला गरिन्थ्यो, उत्साहित हुँदै टिभी अगाडि बसिन्थ्यो, अन्तर्वार्ता हेरिन्थ्यो ।’ अहिले समय फेरिएको, अन्तरवार्ता लागि फोन आउँदा पनि अपराध अनुसन्धान कार्यालयबाट फोन आएको जस्तो लाग्न थालेको उनले बताएका छन् ।
अचेल कसैले फोन गर्दा फोन नउठाउने गरेको र उठाइहाले पनि बिजी छु भन्ने गरेको बताएका उनले स्टाटसमा लेखेका छन् । ‘सकेसम्म फोनै उठाइन्न र उठाइहाले पनि बिजी छु, पछि गरौँला नि है भनेर टारिन्छ,’ उनले घुमाउरो पारमा अन्तर्वार्ता दिन जानेलाई सामान्य ज्ञान रटेर जानसमेत सुझाएका छन् ।
















