साइनो समाचारदाता । बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार उनको क्यान्सर चौथो चरणमा पुगिसकेको छ । यद्यपी केही संचारमाध्यमले भने उनको क्यान्सर तेश्रो चरणमा रहेको समाचार प्रकाशित गरेका छन्।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनी शनिबार मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए । सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् र थप उपचारका लागि अमेरिका जाने बताइएको छ । दत्तको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९२ प्रतिशतकोबीचमा तल माथि भएको हिन्दुस्तान टाइम्सको समाचारमा जनाइएको छ । परीक्षणमा उनको छातीमा तरलपदार्थ पाइएको समाचारमा उल्लेख छ । मंगलबार उनले आफूलाई के भएको उल्लेख नगरी केही समय उपचार गर्न कामबाट छुट्टी लिन लागेको जानकारी दिएका छन् ।
यसैगरी टाइम्स अफ इण्डियाले दत्त निकट मित्र भन्दै लेखेको समाचारमा उनको क्यान्सर उपचारबाट निको हुने किसिमको भएको जनाएको छ । ती मित्रले यसका लागि शीघ्र र गम्भीर उपचारको आवश्यक्ता पर्ने बताएका छन्। यस्तै सो समाचारमा संजयले कोरोनाका कारण दुबईमा रोकिन बाध्य भएका आफ्नी पत्नी तथा छोराछोरीलाई लिएर चिन्ता व्यक्त गरेको बताइएको छ । संजयकी आमा नरगिस दत्तको पनि क्यान्सरबाट नै मृत्यु भएको थियो।
















