
√सङ्गम सुहाङ
जब तिमी यहाँ डोजर लगाएर
निहथ्याका आदिम निवास ध्वस्त पार्छौ
अनि तिनै निर्दोषका आँसु र रगतमा कुल्चिएर
जति तिमी अभिमानले ठडिन्छौ
र –
बुङ्गुरको झै जगर उठाउदै
जब तिमी सास्कृतिक साम्राज्यवादले लघार्न खोज्छौ
ज- जस्का छातीमा बुट रोपेर
सत्ताको डीलबाट कन्चटमा बन्दुक ताक्छौ
जहाँ –
तिम्रो काधको बन्दुक र,
झोलाको बारुदका विरुद्धमा
यहाँ –
सयौं कवि कलाकारहरू सडकमा ओर्लने छन्
कविताका हरफहरु
बुलन्द आवाजमा पड्किने छन्
कलाकारका कलाहरु
एटम बम भन्दा शक्तिशाली भएर आउने छन्
तेति बेला बैरागी बाबै-
तोङ्बा तानेर
अर्को “भाषण” लेखी रहेका हुनेछन्
तेति बेला मुकारुङ दाइ-
चुरोट सल्काउदै
अर्को “बयान” दिई रहेका हुनेछन्
तङ्सिङ उठाएर यासेली कुङ्बा-
अर्को गीत लेखी रहेका हुनेछन्
लिङ्देन दाइको क्रान्तिकारी नाटक-
चोक चोकमा प्रदर्शन भई रहेको हुनेछ……
कि-
तिमी इतिहासको सिंहावलोकन गर्न तयार छौन भने
समयले एस्को फैसला गर्ने छ ……
नोगेन।
















