
विमल बैद्य
रेटीरहनु
सारङ्गीको रित्तो पेट
जब सम्म उसको पित्त फुट्दैन,
हेर्नेहरूले हेरिरहनु
ओठमा मुस्कान भरेर
नाच्नेहरूले नाचे हुन्छ
नाच्न नजान्नेहरूले,
ढल्किए मात्रै पनि हुन्छ
खुट्टा हल्लाए त भै गयो नि
यो भन्दा ठुलो उपहास
अरू के चाहियो
अदना नागरिकका लागि !
फुकिरहनु वाँसुरी
जब सम्म रित्तिदैन मासी
चुहिन छोडेर र्याल
बग्न थाल्छ जब
प्वाल बाट रातो/तातो रगत
अनि निस्कन्छ सुमधुर धून
सक्छौ सुन्न भने,
सुन्नु
त्यही हो पिडीतहरूको
दवेको चित्कार।
आँशु त कहाँ देख्न सक्छ र!
मुस्कान त झन वर्जित भयो
सत्ताको संगीत धून
धेरैका लागि कर्कस हुन्छ
थोरैका लागि कर्णप्रिय बन्छ
जसरी तिमी
र तिमीहरू मस्त बनेका छौ
शायद,
भुल्यौ यतिबेला
जतिबेला तिम्रै सहोदरहरूको
नलिखुट्टाका हाडहरू बटुलेर
टाउकोको हड्डीहरू भेला पारेर
सुर र तालमा रम्दै
यसरी नै बाँसुरी बजाउदै
रमाएका थिए
तिनीहरू ।
















