साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेका सुकुुम्बासीहरुले आज प्रदर्शन गरेका छन् । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको व्यानरमा विशाल आमसभाको आयोजना गरेका हुन् । गाउँगाउँबाट सयौं संख्यामा आएका सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् ।

जोत भोग तथा बसोबासको आधारमा धनीपुर्जा कायम गर्न सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरु एक हौं’ भन्ने नाराको साथ सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको पुर्जा प्राप्तीको लागि खबरदारी कार्यक्रम गरेको सुकुम्बासीले जनाएको छ । खबरदारी सभामा राजनीतिक दलका नेता, सुकुम्बासी नेताहरुले सम्बोधन गरेका थिए । ‘विशाल सभामा समाजवादी पार्टीका नगर अध्यक्ष पर्शुराम चोङ्बाङले दोहोरो स्वामित्व भएको पुर्जा खारेज गर्नुपर्ने बताए । ३६ साल अगाडिदेखि भोगचलन गर्दै आएको सुकुम्बासीहरुलाई जोतपोतकै आधारमा पुर्जा वितरण गर्नुपर्ने नगर अध्यक्ष पर्शुराम चोङ्बाङको भनाई थियो । संघीय लोकतान्त्रिक मञ्चका उदय मादेनले भने, ‘हामीले जोतेको हाम्रै हुनुपर्दछ । हामीले भोगेको जग्गा हाम्रो हुनुपर्दछ ।’ एमएनओका शक्ति चाम्लिङ, सुकुम्बासी अगुवा समितिका सचिब कुबेरमान घतानी, सदसस्य मिना सिन्चुरीलगायतले सुकुम्बासीको समस्या सरकारले यथासक्दो चाढो हल गर्नुपर्नेमा जोड दिएका थिए ।

समिति गठन भएको सातादिन यता समितिले क्रियाशिलता बढाएको छ । समितिले बसोबासको आधारमा जग्गा धनिपुर्जा माग गर्दै पथरीशनिश्चरेको नगरपालिकामा माघ २२ गते ज्ञापनपत्र बुझायो । समितिको अध्यक्ष मौसम लिम्बूको टोलीले नगर प्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रमा बसोबासको आधारमा ६ महिना भित्र धनिपुर्जा दिनुपर्ने, ५ कट्ठा भन्दा कम जग्गा उपभोग गर्नेहरुलाई निशुल्क र त्यो भन्दा बढी भएकाला न्युनतम राज्स्वमा पुर्जा दिनुपर्ने, सुकुम्बासीको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

नगरमा २ सय १६ जना जग्गाधनीको नाममा रहेको २ सय ४३ बिगाहा १८ कट्ठा ५ धुर जग्गा दोहोरो स्वामित्वमा रहेको नगरपालिका प्रमुख दिलिपकुमार राईले बताए ।
















