विराटनगर – दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता सुरू हुने भएको हो । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र रूपमा अगाडी बढाएको छ । आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दोस्रो संस्करणको मिल्स गोल्डकपको तयारी अगाडी बढेको जानकारी गराएको हो । हप्तादिनसम्म संचालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । गोधुली क्लब धरान, उर्लाबारी एघार मोरङ, गाइघाट एघार उदयपुर, साईनो स्पोर्टस क्बल विराटनगर, एन्फा एकेडेमी धरान, दमक एकेडेमी झापा, एसपीएफ पकली र गोलबारज प्रतिभा फुटबल क्लब सिराहको सहभागि रहेने संयोजक किशोर सुब्बाले जानकारी दिए ।
पहिलो दिन उदघाटन खेत चैत ११ गते गोधुली क्लब धरान सुनसरी र उर्लाबारी एघार मोरङ बिच प्रतिस्पर्धा हुने अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक पुरस्कार राशी आयोजकले बढाएको छ । बिजेताले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उप बिजेताले नगद १ लाख १ हजार रुपैयाँ रहेको छ । यसअघि प्रथम संस्करणमा बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए । पहिलो संस्करणको मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।
प्रथम मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको थियो । यस पटक प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २५ हजार, म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रूपैयाँ रहेको छ । यस्तै उत्कृष्ट हुने खेलाडीलाई १५ हजार, नव उदयमान एक जना खेलाडीलाई २० हजार रहेको छ । प्रशिक्षक, गोल किपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही ७ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता भब्य र सभ्य तरिकाले संचालन गर्न किशोर सुब्बाको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ । उक्त समितिको सहसंयोजक ट्रष्टका सदस्य राजु श्रेष्ठ रहेका छन् । प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरेको छ ।