
प्रदिप योङ्हाङ
मनमाया हरेक पटक
रात जाने बेलामा व्युँउझिन्छिन् ।
अनि स्पर्श गर्छिन्
छुटिने बेलामा
जूनले भुँई भरि झारेका थोपाहरु
जसरी कुनै बेला
पछ्यौरीले स्पर्श गरेको थियो
उनको श्रीमान शहीद हुँदा
आँखाले झारेका थोपाहरु
आजकाल
एउटा कुनामा बसेर
फाटेको चोलो सिलाँउछिन् ।
बिर्सिएर
आफ्नै फाटेको मन
बल्ल जवानी चडेर,
सेतै फूलेका कपाल सुम्सुम्याँउछिन् ।
बिर्सिएर मुस्कानका रङ्ग उडेका
आफ्नै ओठहरु
मनमायाको हृदय
हरेक रात बलत्कृत हुन्छ,
विगतका स्मृतिहरुबाट
र चिच्याउँछन् आँखाहरु,
बगाँउदै बगाँउदै
तरल स्वरहरु,
हरेक रात सिरानीको कानहरुमा
बिहानी जन्माउन हिँडेको
घण्टाघरले,
मनमायाको जिन्दगीमा
कहिले जन्माएन
खुशिको बिहानीहरु
बरु मात्रै जन्मायो
मुस्कानको चन्द्रमा हरण गर्ने
औँशीका रातहरु
मनमायाको
जिन्दगीको पुस्तकमा
बढो सुन्दर साथ लेखिएको छ ।
फूलबारी जस्ति आफूले
कोपिला जस्ता सन्तानहरुको
फूल जस्ता तारिफहरु
के थाहा उसलाई ?
फूलले गमलाको अँगालोमा
फूलबारी बिर्सिन्छ भनी
फूल जस्ता सन्तानहरुले
फूलबारी जस्ति मनमायालाई
बिर्सिएको देख्दा यस्तो लाग्यो ।
उनीहरुले जिन्दगीको अर्थ कहिले बुझेनन् ।
किनकी जिन्दगी जानू मात्र हैन
फर्केर आउनु पनि त हो
जिन्दगी आफू सम्हालिनु मात्र हैन
सम्हाल्नेहरुलाई सम्हाल्नु पनि त जिन्दगी हो ।
बिरानो पहाड जस्तै भएकी छिन,
मनमाया
आफन्तहरु बादल जस्तै छुटेका छन् ।
बगर जस्तै भएको छ जिन्दगी
पानी जस्तै बगेर सकियो
चाहानाहरु
मात्रै बाँकी रहेर
बालुवा जस्ता विगतहरु
चुडिएको चप्पल जस्तै भएकीछिन
सम्बन्धहरु फित्ता जस्तै चुडिएकाछन्
र
आज
अस्ताउदैछ जिन्दगी
सन्तानको साथ भन्दा निक्कै पर
वृदाश्रमको क्षितिजमा ।
















