साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा सञ्चालित स्वास्थ्य क्षेत्रका कार्यक्रम प्रभावकारी रहेको चर्चा भइरहेको बेला अभ्यास अध्ययनका क्रममा आएका स्वास्थ्य विषयका विद्यार्थीहरुले पनि प्रभावकारी गतिविधि भएको निष्कर्ष निकालेका छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मास्टर इन पब्लिक हेल्थको दोस्रो वर्षका विद्यार्थीहरुले अध्ययनका क्रममा त्यस्तो तथ्य बाहिर ल्याएका हुन् । शुक्रबार पथरीशनिश्चरे नगर क्षेत्रको स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र सहितको अवलोकन र अध्ययनका क्रममा अन्य पालिका भन्दा पथरीशनिश्चरे प्रभावकारी देखिएको उनीहरुले बताए ।
५ जनाको टोलीका सदस्य विश्वास सुवेदीले अन्यत्रका पालिकाहरुको स्वास्थ्य कार्यक्रम तीन तहको सरकारपछि अलमलिएको अवस्थामा पथरीशनिश्चरेले चाँही सामुदायिक सहकार्यका कार्यक्रमहरु समेत गर्नु प्रभावकारी कदम भएको समीक्षा गरेका छन् ।
सुवेदीका साथै डाक्टर विध्वता भट्टराई, डाक्टर पूजा देवकोटा, प्रतिमा भण्डारी र अनुपमा आलेले नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधि तथा नगर स्वास्थ्य संयोजक मुरारी आचार्यलाई भेटी छलफल एवम् अन्तरक्रिया गरेका थिए । जिल्ला स्वास्थ्य समन्वय कार्यालयमार्फत् १ महिनाको अध्ययनका क्रममा जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रमा खटिरहेका छन् ।
सो नगरमा ८० वर्षमाथिकालाई घरघरमा गएर चेकजाँच, ७० वर्षमाथिकालाई प्रदेश नम्वर १ भरीमा निशुल्क एम्बुलेन्स सेवा, क्यान्सर, मृगौला सहितका ५ प्रकारका जटिल रोगीका लागि जीवनमा एक पटक १५ हजार सहयोग सहितका कार्यक्रमहरु छन् । यसका साथै हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानमा स्थानीयको सक्रिय सहभागितामा ९० प्रतिशतलाई औषधि सेवन गराएर जिल्लामै नमूना काम गरिसकेको छ । खोप सहित अन्य स्वास्थ्यका गतिविधिमा नगरको सक्रियता रहेको छ ।