साइनो समचारदाता
पथरी । नगर खेलकुद विकास समितिले आफ्नो नगरभित्रका क्लबहरुलाई २ लाख ५०हजार रुपैयाँ बराबरको खेलकुद सामाग्रीहरु वितरण गर्ने तयारी गरेको छ ।
सुक्रबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै वितरण बारेमा जानकारी गराएको हो । समितिले फुटबल ५० थान, नेट, अभ्यास गर्न आवश्यक पर्ने साम्रर्गी, भलिवल २० थान, १० थान जाली, क्रिकेट बल, अभ्यास गर्ने नेट, हेल्मेट र क्क प्याट, टेनिस बल, टेनिस ब्याट र टेनिस नेट वितरण गर्ने तयारी रहेको छ। त्यसैगरी सामुदायिक आधारभूत विद्यालयमा बाल खेलकुद साम्रगी स्किपिङ, चेस, सामान्य ज्ञानको किताबलगायत वितरण गरिने अध्यक्ष मणि लिम्बूले बताए ।
राष्ट्रिय खेलकुद परिषदले मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा रहेको पथरी खेल मैदानको स्तरोन्नतिका लागि १० लाख रुपैयाँ विनियोजन गरेको बताइएको छ । स्थानीय तह र नगर खेलकुद परिषदको पहलमा सो रकम राखेपले उपलब्ध गराउने भएको नगर खेलकुद बिकास समितिका अध्यक्ष मणि लिम्बुले बताए ।
राखेपले उक्त रकम उपलब्ध गराए पश्चात् सो मैदानको पश्चिम तर्फको पर्खाल पुनर्निर्माण गरिनुका साथै मैदानमा माटो फिनिङ्ग गरिने, गुणस्तरीय झार उमारिने र अन्य अपुरो संरचनालाई पुर्णता दिइने लिम्बुले बताएका छन ।