साइनो समचारदाता
दमक । रङ्ग मन्च संस्कृति निर्माणको अभियानमा कृयाशिल कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा नाटक ‘गैंडा टाइम्स’ मन्चन गर्ने भएको छ ।
सोमबार पत्रकार मन्च दमकको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा कदमले ‘गैंडा टाइम्स’ को ब्यानरसहित जानकारी दिन पत्रकार सम्मेलन गरेको हो । कदम थिएटरका महासचिव मोहन ढुंगाना (मेचीपुत्र) ले आगामी माघ १० गते दिउँसो ४ बजे विशेष शो मन्चनसहित ११ देखि १४ गतेसम्म १२ र ४ बजे नियमित शो मन्चन हुने जानकारी दिए ।
आख्यानकार बुद्धि सागरको कथा ‘गैंडा टाइम्स’ लाई प्रवीण खतिवडा र सिजन दाहालले नाट्य रूपन्ताण गरेका हुन् भने परिकल्पना र निर्देशन सिजन दाहालले गरेका छन् । दाहालका अनुसार बर्दिया राष्टृय निकुन्जबाट आफ्नो बाबुको खाग चोरी भएपछि खाग तस्करहरुबाट फिर्ता गराउन काठमाडौं पुगेको एउटा गैंडाको संघर्षको कथामा नाटकमा प्रस्तुत हुनेछ ।
‘गैंडा टाइम्स’ मा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौसम राना, पासाङ चोमु शेर्पा, बिकास राना, किरण भेट्वाल, दिवेश लामिछाने, दिपक खरेल, सुबास खरेल, प्रवीण मगर र याङसाङ मुकारुङले अभिनय गर्दैछन् । हाल नाटक रिहर्सर जारी रहेको र यसपटक नाटकमा प्रत्यक्ष संगीतलाई पनि जोडिएको कदमका सचिव कमन देवानले बताए । दमकस्थित नेपाल रेडक्रस सोसाइटी, दमक उपशाखाको सभा हलमा नाटक मन्चन गरिने छ । ‘यो नाटक विद्यालयका बालबालिकादेखि म समाजका बौद्धिक वर्गका लागि समेत महत्वपूर्ण र सन्देशमूलक हुनेछ । यसले बोल्ने गैंडाको प्रस्तुतिबाट बालबालिकालाई मनोरन्जन दिने छ भने खाग तस्करी जस्तो गम्भीर अपराधको मुद्दा उठान गरेको छ ।’
देवानले थपे ‘लाइट र म्युजिकमा उच्च प्रविधिको प्रयोग गरेर नाटक मन्चन गरिने तयारी छ । हामीले कतिपय आवश्यक प्राविधिक सामाग्री पूर्वका बजारहरुमा पाउन सकिरहेका छैनौं, तिनको जोहो गर्दैछौं ।’
कदमले गतवर्ष राष्टिय नाटक महोत्सव इलाममा सहभागी नाटक ‘मरिचेको चुपी’ लाई दमकस्थित गोर्खा डिपार्टमेन्ट दमकको सभा हलमा ५ दिनसम्म लगातार ७ शो मन्चन गरेको थियो ।