साइनो समचारदाता
पथरी । चिनमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्डो हिरो कप प्रतियोगीतामा झापाका दिपेन धिमालले गोल्ड मेडल जितेका छन् ।
चिनको नानजिङ प्रान्तमा भएको सो प्रतियोगीतामा दिपेन आफ्नो तौल समुहको विजेता बनेका हुन् । ५८ केजी तौल समुहको खेलमा थर्ड डन दिपेनले कोरियन खेलाडीलाई पराजित गरेका थिए । झापा तेक्वान्डोका च्याम्पीयन उनी पुर्वाञ्चल तथा राष्ट्रिय स्तरका प्रतियोगीता समेत जितेका छन् । उनि संगै नेपालबाट प्रतिनिधित्व गर्ने विवेक गिरी र अंकिता राईले समेत गोल्ड मेडल जितेका छन् । प्रतियोगीता कोरिया, चिन, माल्दीभ्स, ब्रुनाइ, बंगलादेश, मकाउका खेलाडीहरुको सहभागीता रहेको थियो ।
समाजसेवी दिपेन
गोल्ड मेडलिष्ट दिपेन धिमाल खेलकुदको अलवा सामाजिक काममा समेत सकृय छन् । उनले सडक बालबालिका, गरिबीको चपेटामा रहेका बालबालिका र अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्दै आएका छन् । आफुले सन्चालन गर्दै आएको एकेडेमीबाट प्राप्त रकमको केहि हिस्सा उनले सो क्षेत्रमा खर्चिदै आएका छन् । साथै महिला सशक्तीकरणका लागि सेल्फ डिफेन्सको कार्यक्रमहरु समेत गर्दै आएका छन् । उनले प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का विभिन्न स्थानमा महिलाहरुलाई सेल्फ डिफेन्स सम्बन्धी तालिम समेत दिदै आएका छन् । बुवा बडीबिल्डर तथा समाजसेवी रामबाबु धिमालको प्रेरणाबाट खेलकुद र समाजसेवामा सफल बन्ने योजनाका साथ अगाडी बढि रहेको उनले बताएका छन् ।