अमित याक्थुङ्बा
मा…
…थि
डाँडामा केही छैन
र, त माया छ ।
***
उहिले उहिले
पनि झुन्ड मात्रै थियोे शून्यताको,
तागरेनिङ्वाफु युमा माङ्ले पठाए
कारिन्दा बनाएर आदिदेवहरू
टाँगे चारै दिशामा जालाहरू,
आए फेरि पोरोक्मी याम्फामी
र, एक एक गर्दै चित्रकारले जसरी
सजाउँदै गए
आकाशको च्यादर,
बिछ्याए धर्ती,
छरे ताराहरू,
टक्क अड्याए घाम
तब न सुहाएको हो चित्र सृष्टिको !
***
मा…
…थि
डाँडाजस्तै नाङ्गै थियोे धर्ती ।
……..
छुकछुक लागेर पारोक्मीले
भिरेको सुनाखरी जाबेबाट
छर्दै गए दानाहरू
झार्दै गए आँसुहरू
बल्ल न फुलेको हो
सिस्नु र पोथ्राहरू ।
***
उहिले उहिले पनि
आजजस्तै पृथ्वी र विवेकमा
एकसाथ खडेरी लाग्दा
पारोक्मी पुगे तिगेन्जोङ्ना डाँडा
भेटाए
– बाँसको पातमा ओत लाग्ने
– खुर्सानीको बोटमा झटारो हान्ने
– उन्यूको डाँठको दाउरा बाल्ने
खाम्बोङ्वा लुङ्बोङ्वाहरू !
र,
घाम, तारा र जूनलाई पञ्च भलादमी राखेर
बोकेर आए छेलो हान्ने ढुङ्गो
अनि न फुटेर आकाशको घैँटो
बर्सेको हो पानी ।
***
मा…
…थि
डाँडा रित्तो लाग्छ
आज भोलि
तथापि शिरजत्तिकै प्यारो छ ।
***
खै किन हो ?
सभ्यताको तान
बोकेर उभिरहेकी
तरुनी डाँडा भएर पनि
केहीलाई
निर्जन लाग्दो हो
– मेन्छ्यायेम !
***
२०१८ डिसेम्बर ६
बेलायत ।
मेन्छ्यायेम थेगु संरक्षण गरौँ