चितवन । कोरियाली कम्पनी एसवाई प्यानलले चितवनमा उत्पादन थालेको छ ।
७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धी सामान उत्पादन रत्ननगर १४ बाट थालेको हो । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनीको उत्पादनहरु भुकम्प प्रतिरोधी, सस्तो, ६० बर्ष टिकाउ हुने जनाइएको छ । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ । दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनीले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ । अबको ३ बर्षभित्र हरेक नेपालीको घरमा पुग्ने योजना कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए ।
छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ । प्रविधिले गर्मीबाट बच्न ठूलो सहयोग गर्ने र पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने अपेक्षा छ । १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ । ४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपीभीसी झ्याल समेत उत्पादन तयारी गरिरहेको कार्यकारी निर्देशक छे दोङ्ग इलले जानकारी दिए । महाप्रबन्धक सम्बाहाम्फेले नेपाली ग्राहकको गच्छे अनुसार १२ लाख रुपैयाँ सम्ममा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने बताए । प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन, बिद्यालय, अस्पताल, ह्याचरी, हाइड्रोपावर, एयरपोर्ट, रंगशाला, जीम हल, सैनिक प्रहरी क्याम्प, कारखाना, होटेल, रिसोर्ट, डिपार्टमेन्ट स्टोर, पार्टी प्यालेस निर्माण गर्न सकिन्छ ।