
√ध्रुब कुमार मेन्याङ्बो
सानै थिएँ पाँच/छ वर्षको । आमा र म मात्र घरमा थियौं । एकदिन हाम्रो घरमा चार/पाँच जना अपरिचित मान्छेहरु आए । ती अपरिचित मान्छेहरुलाई देखेर म डराएँ अनि आमासँग गुहार माग्न गएँ तर आमा चाहिँ ती मान्छेहरु आएकोमा खुशी भएको थाहा पाएर अझ म असमन्जस्यमा परें । जे पर्ला पर्ला भनेर आँट गरेर आमासँग ती मान्छेहरुको बारेमा सोधें । आमाले माया गर्दै हर्षका साथ भन्नुभयो, “तँ सँधै मेरो बुवा खोई ? कहाँ छ ? कस्ता छ ? हामीलाई एक्लै किन छोडेको ? कहिले आउँछ ? भनेर सोध्थिस् नि, आज आएको छ । यता हेर त, ऊ त्यो दौरा सुरुवाल र खैरो कोट लगाउने लामो कपाल भएको, हात हल्लाउँदै कुरा गर्ने सबैभन्दा अग्लो मान्छे छ नि, हो ! ऊ नै तेरो बुवा हो।” भनेर जानकारी दिदैँ काखमा बस्ने आज्ञा समेत दिनु भयो । त्यस दिनभन्दा कहिले नदेखेको कहिले नभेटेको मधेसतिर बस्ने गरेको, सँधै मैले खोज्ने गरेको मेरा बुवा आफ्ना घरमा अचानक आएको थाहा पाउँदा हर्षले विभोर भएर आमाको आज्ञा पालन गर्न खुरुरु दौडिएर अपरिचित बुवाको काखमा रमाउँदै के लुटपुटिदै मात्र थिएँ, अचानक मेरो गालामा थप्पड बज्रियो, त्यो थप्पड मेरो बुवाको थियो । हो, मेरो श्रद्धेय पिता स्व. महेश्वर सुब्बाको नै थियो ।
मेरो बुवा हाम्रै गाउँमा जन्मिएर हुर्किएका रहेछन् । हाम्रो गाउँ थेचम्बु गा.वि.स. अन्तर्गत पर्दो रहेछ जो सदरमुकाम फुङलिङबाट दक्षिणतर्फ ६ कोसको दुरीमा पर्दो रहेछ । यस गा.वि.स.को पूर्वमा चाक्सिबोटे गा.वि.स., पश्चिममा नाङ खोल्याङ गा.वि.स., उत्तरमा तिरिङ्गे गा.वि.स. र दक्षिणमा काबेली खोलापारी पाँचथर जिल्लाको अमरपुर गा.वि.स. पर्दोरहेछ । यो उर्वर भूमि समुन्द्री सतहबाट झण्डै ४३०० फिटको उचाईमा रहेछ । पिता सुब्बा काजिमान मेयाङबो र माता जेठरानी मेयाङ्बोका तीन छोराहरु मध्ये उनी कान्छो छोरा हुन् । जेठो दाजु आगे सुब्बा टेकबहादुर मेयाङ्बो आफ्नो बुवा जस्तै सिधा, सादा भलाद्मी थिए । लहैलहैमा पल्टनमा भर्ती भएर लाहुरे भएपछि आफू विदेशीहरुका निम्ति बलि चढ्न लागेको कुरा थाहा पाएर आफ्ना माइला दाजु समेतलाई स्वदेशमा फर्काउन भगीरथ प्रयत्न गरे तर माइला दाईले पटक्कै नमानेपछि ५/६ महिनाभित्र उनी स्वदेश फर्किए भने माइला ठूला बुवा चक्रबहादुर मेयाङ्बो रणभूमिको गोली खुट्टामा लागेपछि घरमा फर्कनु पर्याे र त्यही व्यथाले अल्पायुमै उनको मृत्यु भयो । उनका तीनवटी दिदीबहिनीहरु पनि थिएँ ।

बुवा महेश्वर सुब्बासँगको मेरो पहिलो परिचय २०१५ सालमा भएको रहेछ । एक दुई दिन बसेपछि फेरि कता गए । मलाई थाहा भएन । सायद मलाई कुट्ने छुच्चो मान्छे भनेर चासो पनि राखिन । जान्ने बुझ्ने भएपछि कुरो बुझ्दै जाँदा उनी २०१५ सालको आम निर्वाचनमा धनकुटा पूर्वोत्तर निर्वाचन क्षेत्र नं. २४ को नेपाल राष्ट्रिय गोर्खा परिषद्को उम्मेद्वार भएर हाम्रो घरमा आएको कुरा गृष्म बहादुर देवकोटाको “नेपाल राजनीतिक दर्पण” भाग दुईको पृष्ठ ८६ मा लेखिएको अभिलेखबाट स्पष्ट भएँ । उनलाई आम निर्वाचनको उम्मेद्वार हुन कसले प्रेरित गर्यायो ? कसले पार्टीबाट उम्मेद्वारको टिकट दिलायो ? यी प्रश्नहरुको उत्तर खोज्दै जाँदा अवश्य प्राप्त होला तर “नजाने गाउँको बाटो नसोध्नु” भनेझै यसबारेमा सोधखोज गर्नु त्यति आवश्यक ठानेको छैन किनकि मेरो विचारमा उनी राजनीतिक व्यक्तिभन्दा मानवतावादका झन् लागेका महेश्वर सुब्बालाई जिज्ञासु पाठकहरुको निम्ति स्मृतिको पानाभित्र सँधैभरिको लागि सुरक्षित राखिदिन अहोरात्र खटिदिनु हुने व्यक्तिहरु मेरो निम्ति मृत्युपर्यन्त समादरणीय हुनु हुनेछ ।
-इटहरी
( किरात याक्थुङ चुम्लुङ प्रदेश नम्बर एकका अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासङ्घका समेत प्रादेशिक अध्यक्ष समेत रहेका मेन्याङ्बोले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।
लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।
















