हामी सास फेर्न सकिरहेका छैनौं ! - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

हामी सास फेर्न सकिरहेका छैनौं !

राजन मुकारुङ
अमेरिकाको राजनीतिक इतिहासमा ‘ब्ल्याक प्यान्थर पार्टी (सन् १९६६–१९८२)’को एउटा कठोर इतिहास छ । ‘सेल्फ डिफेन्स’को नारासहित क्यालिफोर्नियाको डकल्याण्डबाट सुरु भएको यो पार्टीले प्रतिरोधी मात्रै होइन, प्रतिसोधी गतिविधि समेत गर्‍यो । ‘ब्ल्याक पावर’, ‘ब्ल्याक अनार्किज्म’जस्ता विशेषणसहित ‘ब्ल्याक गुरिल्ला फ्यामिली’सम्म निर्माण भयो । यसले अमेरिकाहुँदै बेलायत (सन् १९७०), अल्जेरिया (सन् १९६९–१९७२)सम्म प्रभाव पार्‍यो । ‘ग्रे प्यान्थर’, ‘इजरायल प्यान्थर’ जस्ता अनेकौं ‘… प्यान्थर’ नामसहित यो आन्दोलनले संसारभर प्रभाव छेँड्यो । अन्ततः यसले ‘नागरिक अधिकार’को उपल्लो आन्दोलनको पहिचान प्राप्त गर्‍यो ।
ठीक यतिवेला, अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा एक निहत्था अमेरिकी नागरिक जर्ज फ्लोयड (अश्वेत)लाई प्रहरीले शारीरिक यातना दिएर हत्या गरेको भन्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेको छ । मिनियापोलिसका प्रहरी अधिकृत डेरेक चौभिन (श्वेत)ले जर्ज फ्लोयडलाई ८ मिनेटभन्दा केही बढी समय घाँटीमा घुँडाले थिचेको दृश्य सार्वजनिक भएपछि विभिन्न सहरमा विरोध भएको हो । जर्जको घाँटी चौभिनले थिचिरहँदा निस्सासिरहेको अवस्थामा फ्लोयडले ‘आइ कान्ट ब्रेथ, प्लिज लिभ मी (मैले सास फेर्न सकेको छैन, कृपया, मलाई छोडिदिनोस् !)’ भन्दै बारम्बार अनुरोध गरिरहेका थिए । उनले अन्तिम साससम्म भनेको त्यही आग्रह ‘आइ कान्ट ब्रेथ‚ प्लिज लिभ मी’ जस्ता शब्दहरू लेखिएको टेम्प्लेट बोकेर अमेरिकाका सडकभरि अहिले प्रदर्शनकारीहरू उत्रिएका छन् । आन्दोलनले ध्वँसात्मक रुप लिइसकेको छ । उसो त ट्रम्पको उदय हुँदाहुँदै अमेरिकामा देखागिरीमै ‘नश्लवाद’ प्रयोग हुने पूर्वानुमान गरिएकै हो । त्यसैको कुरुप बिम्ब हो– जर्ज फ्लोयडको हत्या ।
▪️▪️▪️
“ब्ल्याक प्यान्थर’को आन्दोलन दक्षिण एसियामा पनि आइपुगेको हो । यही आन्दोलनले भारतमा नामदेव ढसाल, जे.भी. पवार, राजा ढाले, अरुण काम्बलेहरूको साहित्यिक–सामाजिक–राजनीतिक अभियानमार्फत् ‘दलित प्यान्थर’को नाम लियो । ‘जातीय विभेद (छुवाछुत)’ विरुद्धको आन्दोलनले सन् ७०को दशकभर भारतीय राजनीतिमा गतिशीलताका साथ प्रभाव जमाइरह्यो । यसले ‘सबाल्टर्न’मा पारिँदै आएको मराठी कला एवम् साहित्यलाई पुनःजीवित मात्रै गरेन; सभ्यता शृङ्खलालाई मूल प्रवाहमा समेत स्थापित गरायो । त्यही भारत हो, डा. भीम राव अम्बेडकरजस्ता विद्वानको नेतृत्वमा भएको ‘महाड सत्याग्रह (दलितहरुले पनि साझा रुपमा तलाउको पानी प्रयोग गर्न पाउने अधिकारको आन्दोलन)’ र ‘मनुस्मृति दहन (सन् २५ डिसेम्बर १९२७)’ आन्दोलन सय वर्ष पुग्न लाग्यो । भारतमा उनै अम्बेडकरले ‘आरक्षण–अधिकार’ स्थापित गरे । अन्ततः कठोर धार्मिकता (हिन्दूवाद)का विरुद्ध ‘दलित–बुद्धिस्ट अभियान (धर्म परिवर्तन)’सम्मको कदम उनैले चाल्नु पर्‍यो । लाखौं मानिसहरु बौद्ध धर्मतिर लागे । पछिल्लो समय ‘मोदी उदय’पछि भारतमा धर्म–अन्धताले बलियो गरी फणा उठाएका छन् । त्यसको रापताप नेपालमा पनि बाक्लिएको छ ।
*संयोगले हामी पनि यतिवेला ‘रुकुम नरसंहार’ले नराम्ररी खल्बलिएका छौं । नवराज विक, सञ्जीव विक, गणेश बुढा, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको हत्याले हाम्रो घाँटी थिचिएको छ । उकुसमुकुस भइरहेको छ । हामी पनि ‘जर्ज फ्लोयड’ भइरहेका छौं ।
सात वर्षअघि मात्र धादिङको मूलाखर्कमा नवराज सुनार र सम्झना सुवेदी बीच भएको विवाहपछिको झडपबाट विस्थापित भएका १४ परिवार दलितहरूले मानवीयताको निम्नत्तम न्याय पाई नसक्दै रुकुमको चौरजहारीमा (कारणः नवराज विक र सुष्मा मल्ल बीचको प्रेम–सम्बन्ध) भएको ‘जघन्य हत्या’ मानसिकताका हिसाबले जातीय विभेदकै शृङ्खला हो । ‘अन्य जातिका पनि मारिएका छन्, ‘लकडाउन’को उल्लङ्घन, सुष्मा मल्लको नाबालिकता, गुण्डागर्दी शैलीका विरुद्ध प्रतिकार’ जस्ता यावत् तर्कहरु सुन्दा जति ‘हो’ लाग्छन्, सोचको भित्री तहमा खोज्दा जात व्यवस्थाको रन्को नै भेटिन्छ । सयौं, लाखौं अतर्कहरु प्रस्तुत गर्न सकिने भए पनि हाम्रो समाजको सोचमा छाप बसिरहेको जडता नै मूख्य कारण हो । ‘यो गलत भयो, यसमा न्याय देऊ’ भनेर सामाजिक न्यायको आवाज उठेको हो । यो आवाज राज्यमा पुगोस्, राज्यबाट न्याय मिलोस्, घटनालाई ढाकछोप नगरियोस् भन्नका खातिर उठेको आवाज हो । यो त राज्यलाई खबरदारी गरिएको आन्दोलन हो । तर, दूर्भाग्य केही जाति, समुदाय वा सम्प्रदायका मानिसहरूले मानौं ती व्यक्तिहरु विरुद्ध नै यो आन्दोलन छ, उनीहरुलाई नै कारबाही गरियोस् भनेजस्तो ठानेर पहिल्यै प्रतिवादी भाषा प्रयोग गरे, गरिरहेका छन् ।
▪️▪️▪️
सामाजिक सञ्जालभरि अहिले यसैलाई जातिवादको विवाद तन्काइएको छ । गलत व्याख्यासहित तथाकथित् ‘उच्च (जातीय) अहङ्कार’ अगाडि ल्याइएको छ । कतिपय खूला रुपमै, धेरै हद ‘म्यासेन्जर’मार्फत् ‘भाइरल’ बनाइएको छ । ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’को घनीभूत पैरवी जो गर्छन्, तिनैले आफ्नो सक्कली र संकुचित दिल देखाइरहेको अत्यास लाग्दो नै छ । अझ दिक्क लाग्दो त के छ भने, सामान्य उदाहरणकै रुपमा त्यही राई जाति, गोरुको मासु नचलाई उसको ‘पितृ–कार्य’ नै अपूरो मानिन्छ, तर गोरु मारेवापत उसले कानूनी सजाय नभोगी धरै छैन, त्यही लिम्बू जाति, आफ्नै ‘च्याब्रुङ’का लागि गाईको छाला काढ्नै पर्छ तर त्यसैको निहुँमा उसले जेलको यात्रा भोग्नुपर्छ, ऊ स्वयम् जातीय र सांस्कृतिक दलनमा सदियौंदेखि छ । तर, ती आफै (धेरैले) पनि ‘दलितभन्दा म उच्च हुँ’ भन्ने अहमका साथ रुकुम हत्याकाण्ड विरुद्धको आन्दोलनलाई होच्याउने अभिव्यक्तिहरूको रास थुपारेका छन् । ‘पहिचानको आन्दोलन’लाई नै नेतृत्व गरिरहेको छु भन्नेहरूबाटै पनि ‘खिसिटिउरीयुक्त भाषा’ सामाजिक सञ्जालमा नराम्ररी फैलाइएको छ । तीप्रति घोर भत्सर्ना गर्नै पर्छ । साँच्चै भन्ने हो भने, यदि यो कानूनी राज्य हो भने तीविरुद्ध कानूनतः तिनलाई कारबाही गरिनु पनि पर्छ ।
फरक यति छ– ‘जर्ज फ्लोयड’को पक्षमा अमेरिकाभर व्यापक जनसागर छ । ‘ट्रम्प’ प्रशासन नै सङ्कटमा गुज्रिरहेको छ । नेपालमा भने ‘जातीय रङ नदिऊँ’को कन्दनी कसाइसितै ‘जातिवाद’का कुतर्कहरू छ्याल्लब्याल्ल पारिएका छन् । अझ— ‘ब्ल्याक प्यान्थर’को आन्दोलनमै समाहित हुँदै जमैकन मूलका गायक बब मार्ली (सन् १९४५–१९८१)ले जमैकन लोक–संगीत ‘स्का’ र ‘रेग्गी’मा ‘नो वुमेन नो क्राइ’, ‘बफेलो सोल्जर’जस्ता चेतना र जागरणका जीवन्त गीत बनाए, गाए । यही समयको ‘र्‍याप स्टाइल’ले त गोरा शासकहरूका विरुद्ध अश्लिल शब्दहरूलाई समेत प्रयोग गर्दै ‘गाएरै’ आन्दोलनमा सहभागिता जनाए । हाम्रोमा भने बब मार्लीको बखान गरिनसक्ने कथित गायक–कलाकारहरू नै ‘दलित’ शब्दकै हुर्मत लिन अगाडि आइरहेका छन् । तथाकथित विद्वानहरू त ‘दलित नभनौं !’को बेसुरा आलाप अलापेर ‘दलित’ शब्दकै गलत व्याख्यामा जोडबल गरिरहेका छन् । यतिसम्म कि दलितहरूले हिजोअस्ति भर्खरदेखि पाउन थालेको ‘आरक्षण’का विरुद्ध समेत पश्चगामी कित्तामै प्रस्टसाथ उत्रिएका छन् ।
जरुर हो, ‘आरक्षण’का प्राविधिक कमजोरीहरूका बारे विमर्श गर्ने हो । खास लक्षित समुदायको लक्षित वर्गसम्म न्यायिक वितरण भयो कि भएन ? यसबारे तथ्याङ्कहरू लिने हो, मूल्याङ्कन गर्ने हो, समीक्षा गर्ने हो । संविधानतः यसलाई कामयावी बनाउने हो । तर, रातारात कटौती गर्ने वा खारेज गर्ने व्यवहार गर्नु पूराका पूरा असंवैधानिक हो । अम्बेडकरकै भाषामा भन्ने हो, ‘आरक्षण भिख होइन ।’ यो त अधिकार हो । राज्यमा समावेसी उपस्थितिको हकदावी हो । यो राज्यसितको हकदावी हो; कुनै जाति, समुदाय वा सम्प्रदायको भाग खोस्ने नियत होइन, हुनु हुँदैन । ‘दलित नभनौं’ भन्नुभन्दा पहिले समाजलाई, मानिसहरूलाई ‘दलन’बाट मुक्त गर्ने अभियानमा लाग्ने हो ।
रुकुम नरसंहारलाई ‘जातीय रङ नदिऊँ’ भन्ने स्वरमै त ‘जातीय रङ’ छैन ? आफैले प्रयोग गरेका शास्त्रका शब्दहरूको व्याख्याले ध्यान अन्यत्र मोड्ने दुस्प्रयास त भएको छैन ? नवराज विकको समूहलाई ‘ग्याङ फाइट मनोविज्ञान’को रुपमा उछालेर हत्याको सजायलाई निस्तेज गर्न लागिपरेका त छैनौं ? हत्या जघन्य भइसकेको छ । छ छ जना युवाहरूले ज्यान गुमाइसकेका छन् । ‘सोच परिवर्तन गर्नुपर्छ’ भनेर रटान गर्ने, नथाक्ने, अनेकन् दलिलहरु पेस गर्दै आफूभित्रको ‘नश्लवादी अहम्’ प्रस्तुत गर्ने तपाईंबाट ‘सामाजिक न्याय’को पक्षमा स्वर नआवोस् (आशा पनि राखिन्न) तर कम्तिमा सामाजिक न्यायको पक्षमा उभिनेहरुलाई ‘हतोत्साह’ गर्ने छुट तपाईंलाई किञ्चित छैन । यो झनै बर्बर अपराध हो । आत्मसम्मानका लागि लडिएको आन्दोलनको आवाज हो यो । तपाईंको कु–तर्की ‘म्यासेन्जेर भाइरल’ले केही पनि ख्याँस्दैन ।
हो, हाम्रा भाषाहरूको घाँटी थिचिएको छ, हाम्रा सभ्यता र संस्कृतिहरूको घाँटी थिचिएको छ । यो मुलुक बनाउनमा हाम्रा पुर्खाहरूले रचेका इतिहासहरूको घाँटी थिचिएको छ । तपाईंको शासकीय र असंवेदनशील शास्त्रीय व्याख्याको गोडाले त झनै निर्मतापूर्वक थिचिन थाल्यौं हामी ।
जर्ज फ्लोयड— ‘आइ कान्ट ब्रेथ, प्लिज लिभ मी !’
यता हामी भनिरहेका छौं— ‘वी कान्ट ब्रेथ, प्लिज लिभ अस !’ अर्थात् हामी सास फेर्न सकिरहेका छैनौं, कृपया हामीलाई छाडिदिनोस् !
यो यहाँ, राज्यलाई भनिरहेको छु म, छौं हामी । कुनै व्यक्ति वा समूहलाई हैन । तर, ऊ जातिवादी हो भने उसका विरुध्द पनि हो ।

( सृजनशील अराजकता अान्दोलनका सूत्रधार, पहिचानवादी लेखक, नेपाल अादिवासी जनजाति साहित्यकार महासङ्घका केन्द्रीय अध्यक्ष एवम् प्रतिष्ठित मदन पुरस्कार विजेता मुकारुङले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर