के आदिवासी लिम्बु जातिले संस्कार मात्र गर्छ, धर्म मान्दैन ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

के आदिवासी लिम्बु जातिले संस्कार मात्र गर्छ, धर्म मान्दैन ?

√जगत याेङहाङ(याक्थुङ सा) 
आदिवासी (indigenous) जातिले सम्पादन गर्ने उनीहरूको संस्कार संस्कृतिहरूको समग्र रूप नै उनीहरूको धर्म हो । त्यसै गरी याक्थुङ (लिम्बु) जातिले प्राचीनकालदेखि अवलम्बन गर्दै आएको सम्पूर्ण संस्कार संस्कृतिहरूको रूप नै लिम्बु जातिको धर्म हो । लिम्बु जातिले धर्म मान्दैन । संस्कार मात्र गर्छ भन्ने जुन विद्वान मित्रहरूको तर्क छ । यो तर्क गलत हो । धर्म, संस्कार र संस्कृति एक अर्कामा अन्तर सम्बन्धित विषयहरू हुन् । धर्म र संस्कार संस्कृति कुनै पनि हालतमा अलग रहन सक्दैन । बृहद नेपाली शब्दकोषले संस्कृतिको अर्थ निम्न अनुसार उल्लेख गरेको छ । जसको अर्थ हुन्छ: ” समाजमा धेरै समयदेखि चल्दै आएको चलन; रीतिरिवाज; शुद्धि; सफाई; सभ्यता; संस्कार; सुधार; मानसिक विकास; सजावट; जातीय धर्म; वा परम्परा” भनेर अर्थ लगाएको पाइन्छ । माथि उल्लेखित शब्दार्थलाई अध्ययन गर्दा संस्कार, संस्कृति, परम्परा, प्रचलन, रीतिरिवाज, सभ्यता जे भने पनि लिम्बु जातिले मान्ने सबै सांस्कृतिक कार्यहरूको समग्र रूप नै लिम्बु जातिले मान्ने धर्म हो भन्दा कुनै फरक नहोला । तर धर्मको किसिम हुन्छ । जातीय धर्म र धर्म । लिम्बु जातिले मान्ने धर्म हिन्दु, मुस्लिम, बौद्ध र इसाई धर्म जस्तो धर्म चाहिँ अवश्य पनि होइन । जातीय धर्म चाहि हुनुपर्छ । अर्को तर्फ कसरी धर्म र संस्कार संस्कृति अन्तर सम्बन्धित हुन्छ भन्दा जस्तै उदाहरणको लागि लिम्बु जातिको मृत्यु संस्कारलाई हेरौं त्यो मृत्यु संस्कारमा मुन्धुम वाचन हुन्छ ।
मुन्धुम भनेको लिम्बु जातिको धर्मशास्त्र हो चाहे लिखित नै किन नहोस् । त्यस मृत्यु संस्कारमा फेदाङ्मा, साम्बा र येबाहरूले विभिन्न अनुष्ठानहरू सम्पन्न गर्छ । तुम्याङहाङले गर्ने कर्मकाण्ड भन्दा अर्कै । जस्तै मिक्वासाङमा, सामसामा, मुईखेसिङ्मा यो अनुष्ठान गर्न विशुद्ध रूपले साम्बा तथा येबाहरूको आवश्यकता हुन्छ । जसरी हिन्दू शास्त्रहरूमा विभिन्न किसिमका मिथक, आख्यान, उपख्यान, किम्वदन्ती हुन्छ र पनि उनीहरूले धर्मशास्त्र नै मान्दै आएको पाइन्छ त्यसरी नै मुन्धुम भनेको लिम्बु जातिको मिथकहरूको संगालो मात्र नमानेर धर्म शास्त्र नै हो । संसारमा भएका धर्महरूका सारभूत तत्वहरू लिम्बु जातिले मान्ने धर्ममा पनि पाइन्छ जस्तै धर्मशास्त्रको रूपमा मुन्धुम, धार्मिक पूजारीको रूपमा फेदाङमा, साम्बा, येबा, येमा र युमामहारानी, विभिन्न पूजा तथा धार्मिक अनुष्ठानहरू, विभिन्न प्रकारका पूजावेदीहरू जस्ता धार्मिक तत्वहरू रहेको छ ।
मानवशास्त्री तथा समाजशास्त्रीहरूका अनुसार मानव जातिले प्रागितिहासिक कालदेखी नै एक अदृष्य शक्तिलाई ईश्वरको रूपमा मान्दै आएको मत रहेको पाइन्छ सोही अनुसार लिम्बु जातिले पनि प्राचीन काल तथा सभ्यताको सुरूआतकालदेखि नै ईश्वर, भगवान तथा सर्वाेच्च आत्मा (परमात्मा) तागेरा निङ्वाफुमा/ युमालाई ईश्वर (माङ)को रूपमा मान्दै र पूज्दै आएको हो र याक्थुङ मुन्धुममा सर्वत्र तागेरा निङ्वाफुमा भनेर स्तुती गाएको पाइन्छ साथै तागेरा निङवाफुमा/ युमाको अलवा थेबा साम्माङ, अक्वामा, नाहाङमा, दुङदुङ्गे, काप्पोबा साम्माङ, सबा साम्माङ, चखोबा साम्माङ, फाकमुरा, खजमा लगायतका थुप्रै थुप्रै देउदेवताको पूजा आरधना गरेको पाइन्छ, भने के यो धार्मिक कार्य नभएर संस्कार मात्र कसरी भयो ?
के मांगेना, नाहाङमा, चासोक, तङसिङ जस्ता कर्मकाण्डहरू धार्मिक अनुष्ठान नभएर संस्कार मात्र हुन त ? हुन त लिम्बु जातिले हिन्दु, बौद्ध, इसाई र मुस्लिम धर्म जस्तो जिउँदो व्यक्तिलाई ईश्वर नमाने पनि मानवशास्त्रीय मत अनुसार अलौकिक वा अदृष्य शक्ति सर्वाेच्च आत्मा (परमात्मा) तागेरा निङवाफुमा/ युमालाई ईश्वर मान्छ । लिम्बु जातिमा वेद्, पुराण, बाईबल, कुरान र त्रिपिटक जस्ता लिखित शास्त्र नभएता पनि मुन्धुम नै अलिखित धर्मशास्त्र हो । मन्दिर, मस्जिद, चर्च , गुम्बा तथा मूर्ति जस्ता मानव निर्मित संरचनाहरूमा पूजा नगरेता पनि लिम्बु जाति प्रकृति तथा पितृ पूजक animism का विश्वासी जाति भएको हुँदा यस्ता जिउदो व्यक्तिलाई भगवान नमान्ने, लिखित धर्मशास्त्रमा विश्वास नगर्ने, मानव निर्मित संरचनामा पूजा आराधना गरेको पाइन्दैन र संसार भरका आदिवासी जातिहरूको धार्मिक चरित्र प्राय सबैको उस्तै उस्तै हुन्छ । तर आदिबासी जातिले धर्म मान्दैन संस्कार मात्र गर्छ भन्नु बहुत नै गलत तर्क हो । के जिउँदो मानिसलाई ईश्वर मान्नु, लिखित धर्मशास्त्रको उपयोग गर्नु, मानव निर्मित संरचनामा पूजा आरधना गर्नु मात्र धर्म हुन्छ ? लिम्बु जातिले जन्मपूर्वदेखि मृत्यु पर्यन्तसम्म संस्कारमात्र गर्दैन बल्की धार्मिक नित्य कर्महरू गरेकै हुन्छ । प्राचीनकालमा धर्म एउटा मानव जातिले पालना गर्ने अनुशासन वा कानुनको रूपमा थियो भने वर्तमान अवस्थामा धर्म एउटा असली पहिचानको रूपमा सिमित भएको बिद्वानहरूको मत रहेको पाइन्छ ।
अर्को तर्फ लिम्बु जातिकै केही विद्वान मित्रहरू लिम्बु जातिले संस्कार मात्र गर्छ । धर्म मान्दैन । किन युमा धर्म भन्ने ? जस्ता तर्कहरू गरेको पाइन्छ । तर यो तर्क होइन । हामी आदिवासी लिम्बु जातिको पनि धर्म छ, हुनुपर्छ । हामीले पनि राज्यबाट पाउने सेवा सुविधा अन्य धार्मिक सम्प्रदायहरूले पाए झैँ पाउनुपर्छ भन्ने मान्यताले पनि याक्थुङ् (लिम्बु) जातिले मान्ने धर्मको नाम युमा धर्म राखिएको हुनुपर्छ । राज्यमा एक विशिष्ट पहिचान तथा राष्ट्रिय तथ्याङ्कमा आफ्नो विशिष्ट मौलिक पहिचान कायम गर्न लिम्बुको युमा धर्म र युमा धर्म संस्था स्थापना भएको हो । राज्यबाट सेवा सुविधा लिन तथा राष्ट्रिय तथ्याङ्कमा प्रविष्ट हुनका लागि संस्थागत प्रक्रिया नै एउटा उत्तम विकल्प हो । जुन राज्यको नीति नियम अनुसार र संस्थाबिना यस्तो सेवा सुबिधा लिन नपाउने तथा अवैधानिक हुने भएको हुँदा युमा साम्यो महासभा नेपालको गठन भएको हो । जसको उदेश्य याक्थुङ (लिम्बु) जातिको एकता तथा मौलिक संस्कार संस्कृतिहरूको संरक्षण सम्बर्द्धन गर्नु नै हो । युमा धर्म नामाकरण हुनु एउटा छुट्टै ऐतिहासिक तथा मुन्धुमी आधार होला तर लिम्बु जाति धर्म बिहिन जाति भने कदापि पनि थिएन । हुन सक्छ प्राचीनकालमा लिम्बु जातिले धर्म त मान्थे तर धर्मको यो हो भनेर नामाकरण नगरेको हुन सक्छ । धार्मिक संस्था स्थापना नगरेको हुन सक्छ । तर पनि इतिहासकार इमानसिं चेमजोङको ‘किरातको वेद्’ नामक ग्रन्थमा कान्देनहाङको पालादेखि उवाहाङ, माबोहाङ र सिरिजङ्गाहाङको पालासम्म एउटा लामो कालखण्डसम्म युमा धर्म एउटा राजकीय धर्म भएको एक दुई चेप्टर इतिहास उल्लेख गरेका छन् । के यो विषय हाम्रा विद्वान मित्रहरूलाई थाहा छैन ? तर वर्तमानकालमा राज्यबाट कुनै सेवा सुविधा लिन संस्थागत प्रकृया नै उत्तम हो । हुन त युमा धर्म किन स्थापना भयो किरात धर्म छँदै छ त भन्ने प्रश्न उठ्ने गर्छ । लिम्बु जातिको जातीय संस्था कियाचुले लिम्बु जातिले मान्ने धर्म किरात धर्म हो भनेर निर्णय गरी कागजमै मात्र सीमित राख्यो । संस्था खडा गर्ने र तथा कुनै संस्थागत प्रकृयाहरू अघि सारेन । संस्कार संस्कृति बचाउको लागि चासोक मनाउने, उभौली उधौली सेवा गर्ने, कियाचु भवनमा तङसिङ राख्ने , स्व. ईमानसिं चेमजोङका कृतिहरू पुन प्रकाशित गर्ने जस्ता राजधानी केन्द्रित कार्यहरू मात्र रहयो ।
अर्को तर्फ हिन्दु शिवमार्गी जसमनी पन्थी सत्तेहाङहरूको प्रभाव परेर लिम्बु जातिको असली संस्कार संस्कृति बचाउमा कियाचु मौन नै रहयो । याक्थुङ लाजे (लिम्बूवान) मा रहेको मुन्धुमी, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको मौलिक तथा प्राकृतिक स्वरूप किरात सत्तेहाङहरूबाट अतिक्रमण गरी धमाधम हिन्दूकरण गर्ने अभियान नै छ । यस विषयमा पनि कियाचु मौन रहेको छ । कियाचुले लिम्बु जातिले मान्ने धर्म किरात धर्म भनेर निर्णय गरेता पनि कियाचु स्थापना हुनुभन्दा अगाडि बि. स. २०३६ साल पंचायतकालमा नै माननीय पद्मसुन्दर लावती र सत्तेहाङ महासचिव चन्द्रकुमार सेर्माले नेपाल सरकार मार्फत सत्तेहाङ धर्मलाई किरात धर्म तथा साहित्य उत्थाङ संघ भनेर दर्ता गरिसकेको थियो र अनि ८ बर्ष पछि मात्र कियाचु २०४६ सालमा गठन भएको हो र त्यही धर्मको हकमा त्यही किरात सत्तेहाङ धर्मले भनेको किरात धर्मलाई नै थप पृष्ठपोषण गरेर किरात धर्म भनेर निर्णय गरेर बसेको हो तर लिम्बु जातिमा अझै ७०/८० प्रतिशत लिम्बु जातिले सत्तेहाङ धर्म, संस्कार र संस्कृति अवलम्बन गर्दैन । लिम्बु जातिको असली संस्कृति पनि होइन सत्तेहाङ धर्म संस्कृति भनेको जो हिन्दु जसमनी पन्थबाट आयातित धर्म संस्कृति हो । अतः याक्थुङ (लिम्बु) जातिको एकता तथा याक्थुङ मौलिक संस्कार संस्कृतिहरूको संरक्षण सम्बर्धनको लागि युमा साम्यो महासभा नेपाल स्थापना भएको हो । जो हालको अवस्थामा नितान्त जरूरी पनि थियो ।
नोगेन सेवारो …।।।
सन्दर्भ सामग्री:-
१. वि.सं. २०६९, नेपाली शब्द भण्डार, श्याम पुस्तक भण्डार, विराटनगर, पृ. ५९७
माङसेबुङ गापा- १, गजुरमुखी इलाम
( शिक्षण पेशामा आबद्ध युमा साम्यो महासभा नेपालका केन्द्रीय सदस्य याक्थुङ साले  ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर