नेपालभाषा वर्णविन्यास : - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेपालभाषा वर्णविन्यास :

√रुक्साना कपाली
🔸 नेपालभाषा लेखन शृङ्खलामा –
भाग १ – वर्णविन्यास
हेरेक भाषाहरूमा जस्तै नेपालभाषामा पनि स्वर वर्ण (Vowels) र व्यञ्जन वर्ण (Consonants) हुने गर्दछ । स्वर वर्णलाई ‘मां आखः’ र व्यञ्जन वर्णलाई ‘बा आखः’ भनिन्छ ।
नेपालभाषा लेख्ने आफ्नै लिपिहरू थुप्रै छन् । प्रचलित नेपाल लिपि, रञ्जना लिपि, भुजिंम्वः लिपि, पाचुम्वः लिपि, गोलम्वः लिपि, लितुम्वः लिपि, कुंम्वः लिपि, इत्यादी लिपिहरू नेपालभाषामा छन् । हालसालै प्रचलित नेपाल लिपि युनिकोडमा प्रकाशित भइसकेको छ । भाषाको अस्तित्व उसको मौलिक लिपिमै हुने भएतापनि कतिपय नेवाः व्यक्तिहरू जसले नेपालभाषाको लिखित अध्ययन गरेका छैनन् उनीहरूले यी लिपिहरू नबुझ्ने हुनाले यस लेखहरूमा म देवनागरी लिपिकै प्रयोग गर्छु ।
प्रचलित नेपाल लिपि युनिकोड बारे विकिपिडिया स्रोत
देवनागरी लिपिमा टाइप गरेर त्यसलाई प्रचलित नेपाल लिपिमा कन्भर्ट गर्ने वेबसाइट
मां आखः
हामी कतिपय व्यक्तिहरूलाई देवनागरी लिपिमा पर्वते कुरा (नेपाली भाषा) पढीरहेको बानि छ । पर्वते कुरामा वर्णहरूको उच्चरण गर्ने तरिका बेग्लै छ भने नेपालभाषामा उच्चरणको तरिका बेग्लै छ ।
स्वर वर्णहरूको उच्चरण सुन्न अडियो सहितको लेख यो पनि छ ।
🔹 मुख्य स्वर वर्ण
अ, आ, इ, उ, ए
🔹 दीर्घ स्वर वर्ण
दीर्घ स्वर वर्ण भन्नाले लामो उच्चरण भएको (long sound) स्वर वर्ण हो । नेपालभाषामा ‘अ’ र ‘आ’ वर्णमा विसर्ग चिन्ह “ः” जोडेर दीर्घ बनाइने गरिन्छ । हामीले पर्वते कुरा सिक्दा “अः”लाई “अह्” भनेर उच्चरण गर्न सिक्यौँ होला । तर नेपालभाषामा विसर्गलाई त्यसरी उच्चरण गरिँदैन । विसर्गलाई नेपालभाषामा ‘लिफुति’ भनिन्छ । यसको अर्थ हो दीर्घ । त्यसैले नेपालभाषामा “अः” भनेको “अ”को लामो उच्चरण र “आः” भनेको “आ”को लामो उच्चरण हो ।
अः, आः, ई, ऊ
नेपालभाषामा ह्रस्व र दीर्घले ठूलो फरक पार्दछ । निम्न लेखिएका उदाहरणहरूलाई बुझ्न आफू आफैमा यी वाक्यहरू बोलौँ । नेपालभाषा बोल्न जान्नेका निम्ति यो ह्रस्व दीर्घमा फरक छुट्याउन गाह्रो हुँदैन । नेपालभाषा जसरी बोलिन्छ, त्यसरी नै लेखिने भाषा हो । त्यसैले आफ्नो मनमा ती वाक्यहरू बोल्दा यो फरक सजिलै चिन्न सकिन्छ ।
तिमी र म जाने – जि व छ वने
मलाई काम गर्न आउँछ – जितः ज्या याये वः
अन गा दु – त्यहाँ पछ्यौरी छ ।
अन गाः दु – त्यहाँ खाल्डो छ ।
म भात पकाउँछु – जिं जा थुइ
त्यो गाग्री भरिएको छ – व घः जाः
माटो – चा
ढोका खुल्लै छ र ? – खापा चाः ला ?
त्यो एकचोटी लेउ त – व छकः का सा
त्यो ढोकामा मेरो लुगा जहिल्यै च्यापिन्छ – व खापाय् जिगू वसः न्ह्याबलें काः
जुम्रा पर्यो – सि दाल
त्यो खायो भने मरिन्छ – व नल कि सी
तिमी एकछोटी गर – छं छकः या
उसले सँधै यस्तै गर्छ – वं न्ह्याबलें अथे याः
साबुन लगाउ – साबुं था
कस्तो धुलो लागेको – गयौ धू थाः
ह्रस्व – चाकु, माकु, फाकु, ताकु, धाकु
दीर्घ – पुखू, ताफू, सफू
उसले कसलाई ल्यायो ? – वं सु हल ?
उ त्यहाँ लुक्न गयो – व अन सू वन ।
छ – दु
थियो – दू
पहिले थियो, अहिले छैन – न्हापा दू, आः मदु
मासु काट – ला ता
मैले सुनेँ – जिं ताः
मासु – ला,
फुर्सद छ – लिलाः
यता एकचोटी हेर – थन छकः स्व
उसले जहिल्यै हेर्छ – वः न्ह्याबलें स्वः
नोट : नेपालभाषामा अकारबाट अन्त्य हुने शब्दलाई आधि उच्चरण गरिँदैन । जस्तै : स्वल (स्व-ल) । पर्वते कुरामा अधिकांश अकारबाट अन्त्य हुने शब्दहरू आधा उच्चरण हुन्छ । जस्तै : कमल ( कमल् ) ।
ओ – व
नेपालभाषामा ‘ओ’ र ‘व’ वर्णलाई एउटै मानिन्छ (interchangeable) । ठेट नेपालभाषामा ‘ओ’ भन्दा पनि बढी ‘व’ नै प्रयोग हुन्छ । जस्तै : थन सो सा – थन स्व सा, जुन लेख्दा पनि एउटै हो तर – थन स्व सा – अत्याधिक प्रयोग हुन्छ ।
य् भएको स्वर वर्ण
नेपालभाषामा ‘य्’ भएका तीन स्वर वर्णहरू छन् : अय् आय् एय्
हामीले पर्वते कुरा सिक्दा हलन्त लागेको वा खुट्टा काटेको वर्णले आधा वर्ण जनाउँछ भनेर सिक्यौँ । जस्तै ‘ङ’मा खुट्टा काट्दा आधि ङ हुन्छ । नेपालभाषामा खुट्टा काट्ने वा हलन्त राख्नुलाई ‘तुति पालेगु’ भनिन्छ । नेपालभाषाको आफ्नै लिपिहरूमा अक्षरलाई आधा बनाउँदैन वा आधा अक्षर भन्ने अवधारणा छैन । यसरी “ख्छ” लेख्नुपर्दा “ख” र “छ” दुईवटा अक्षरलाई जोडेर एउटै बनाएर लेखिन्छ । त्यस्ता अक्षरलाई “चिना आखः” भनिन्छ । देवनागरी लिपिमा ‘क’को आधा अक्षर छ : क्क । ‘ख’ को आधा अक्षर छ : जस्तै ‘ख्छ’ । तर ती वर्णहरू जसको आधा अक्षर छैन, त्यसलाई आधा बनाउन हलन्त लगाइन्छ : जस्तै ङ, ट, ढ, इत्यादी । नेपालभाषामा भने फरक छ । तुतिपाला ‘य’ भनेको ‘आधि य’ होइन ।
जस्तै : अय् भन्नाले ‘अ’- आधा ‘य’ होइन । नेपालभाषामा ‘अय्’ भनेको एउटै सिङ्गो वर्ण हो । दुईवटा वर्णहरू होइन ।
अय् – वर्णलाई ‘ए’को दीर्घका रूपा उच्चरण गरिन्छ
एय् – वर्णलाई ‘अय्’को पनि दीर्घको रूपमा उच्चरण गरिन्छ
आय् – यो वर्णको उच्चरण ठ्याक्कै पर्वते कुरामा बुझाउन सकिँदैन । हामीले “छोरा” भन्दा “काय्” भन्छौँ । अङ्ग्रेजीको Apple मा A वर्णलाई जसरी उच्चारण गरिन्छ, आय् वर्णलाई नेपालभाषामा त्यसरी नै उच्चरण गरिन्छ ।
किनभने यी तीनवटा वर्णमा य् भनेको आधा य होइन, त्यसैले शब्दको बीचमा आउँदा : जस्तै : “आँय्पा” भनेर लेख्नु गलत हो । यसलाई “आँय्‌पा” भनेर लेख्नुपर्छ । कहिलेकाहीँ फन्टले गर्दा पनि यो शब्द स्वतः आँय्पा हुनपुग्छ । त्यसले आँय् पछी Zero-width non-joiner राख्नुपर्छ र “आँय्‌पा” भनेर सही हिसाबले देखाउँछ ।
नेपालभाषा बोल्न जान्नेलाई यो वर्णको उच्चारण छुट्याउनु गाह्रो छैन । हामीले नेपालभाषा लेख्ने बानि नहुनाले लेख्य रूपमा यो वर्ण वा यसरी लेख्ने तरिका अनौठो लाग्न सक्ला । यस विषयमा केही अभ्यास गरौँ । अभ्यास गर्दा आफ्नो मनमा यी शब्दहरूलाई बोलौँ ।
ए
खै – से
बाटो छोड – ब्ये
हस् – दे
छ्या – छे
अय्
भात राखौँ ? – जा तय् ?
रूख माथी – सिमा च्वय्
त्यहाँ तल – अन क्वय्
याद राख्नुहोस् : हामीले माथी तल भन्दा ‘च्वे क्वे’ भनेर छोटकरीमा उच्चरण गर्दैनौँ । च्वय् क्वय् भनेर लामो उच्चारण गर्छौँ ।
हस् म यो गर्छु – दे जिं याये
यो भक्तपुर शहर – थ्व ख्वप देय् ( नेपालभाषामा देश, शहर, नगर सबैलाई एउटै शब्दले सम्बोधन गरिन्छ)
एय्
यो मेरो घर हो – थ्व जिगू छेँ खः
म घरमा छु – जि छेँय् दु
मलाई अण्डा ल्याइदेउ – जितः खेँय् हयाःब्यु
नेपाल देश – नेपाः देय्
उच्चरण गरिहेर्नुस् : म मंगलबजार जान्छु – जि मङ्गलय् वने : यसमा ‘मङ्गलय्‘ र ‘वने‘को उच्चरणमा फरक छुट्याउनुहोस्
आय्
छोरा – काय्
छोरी – म्ह्याय्
तिमीलाई कुट्छु है – छन्तः दाय् न्हि
किन ? – छाय् ?
बास बस्ने – बाय् च्वनेगु
दरबार – लाय्‌कू
भाषा – भाय्
जुँगा – ग्वाय्
मीत – त्वाय्
ठाउँ – थाय्
घाँस – घाँय्
कपाँस – कपाँय्
बाँदल – सुपाँय्
नासिक्य
नाके स्वरबाट उच्चरण हुने (nasal) वर्णहरूमा पनि ह्रस्व र दीर्घ हुन्छ । नेपालभाषामा चन्द्रबिन्दुलाई मिलाफुति भनिन्छ । मिलाफुतिले छोटो नाके स्वरलाई जनाउँछ । त्यसै गरी नेपालभाषामा शिरबिन्दुलाई सिन्हःफुति भनिन्छ । सिन्हःफुतिले लामो नाके स्वर जनाउँछ । हामीले पर्वते कुरा सिक्दा शिरबिन्दुको भिन्नै उच्चारण सिक्यौँ । जस्तै “कंस” भन्नाले “कङ्स” वा “रंग” भन्नाले “रङ्ग” । तर नेपालभाषामा यस्तो होइन । जस्तै “यंकि” भन्यो भने लामो – ‘यँ’ र ‘कि’ भनेर उच्चरण हुन्छ ।
नेपालभाषा बोल्न जान्नेलाई यो पनि सजिलै बुझ्न सकिन्छ । निम्न लिखित अभ्यास गरेर आफ्नो मन-मनै बोलौँ ।
मलाई कुरा सुनाउ न – जितः कँ ले
काँडा बिझ्यो – कं थात
कुरा – खँ
मैले देखेको छ – जिं खं
उनीहरूको झगडा छुट्याउ त – इमेगु ल्वापु गँ सा
त्यहाँ घण्टी छ – अन गं दु
बाटो हेर – लँ स्व
लुगा हेर – लं स्व
मेरो कम्मर – जिगू जँ
मेरो जट्टा – जिगू जं
कपाल – सँ
चलीरहेको छ (is in motion) – सं
उठ त – दँ सा
कस्तो सस्तो – गयौ दं
मलाई देखाउ त – जितः क्यँ ले
उता जहिल्यै देखाउँछ त – अन न्ह्याबलें क्यं नि
तिमी सुत – छ द्यँ
उ दिउँसो दिउँसो सुत्छ र – व न्हिनय् न्हिनय् द्यं ला
यता बस – थन च्वँ
माथीबाट पानी आयो – च्वं लः वल
पानी खाउ – लः त्वँ
उसले रक्सी खान्छ र ? – वं अय्‌लाः त्वं ला ?
बाघ आयो – धुँ वल
धूप किनेर ल्याउ – धुं न्याना हिँ
ह्रस्व नासिक्य – ज्वँ (समात), थ्वँ (जाँड), द्वँ (रास), स्वँ (फोक्सो), कुँ (धुवाँ), लुँ (सुन)
दीर्घ नासिक्य – क्वं (घैँटो), पं (बाँस), तं (रीस), ल्यं (बाकी छ), स्यं (बिग्रेको छ)
द्वित्व वर्ण
द्वित्व वर्ण (Diphthong) भन्नाले दुईवटा स्वर वर्णको एकै उच्चरणलाई भनिन्छ । देवनागरी सँगै नेपालभाषाको आफ्नै लिपिहरूमा पनि दुई वटा द्वित्व वर्णहरूको छुट्टै अक्षर छ : जस्तै ‘अइ’को ‘ऐ’ र ‘अउ’को ‘औ’ । त्यसै गरी नेपालभाषामा अए, आइ, आउ, आए, उइ, एइ जस्ता द्वित्व वर्णहरू पनि छन् । यी वर्णहरूको छुट्टै अक्षर भने छैन । नेपालभाषामा दुईवटा स्वर वर्ण सँगै आउँछ भने एकाक्षरी रूपमा उच्चरण हुन्छ ।
जस्तै : आफ्नो मन-मनै ‘धाइ’ शब्दलाई उच्चरण गर्नुहोस् । पर्वते कुरामा यसलाइ ‘धा’ – अनि ‘इ’ छुट्टै उच्चरण गरिन्छ । नेपालभाषामा भने एकै पटकमा ‘धाइ’ भनेर उच्चरण गरिन्छ । अर्थात् धा र इ उच्चरणमा gap नराखी एउटै झटका मै सँगै बोलिन्छ । यो नेपालभाषाको एकाक्षरी विशेषता हो ।
ॐ
नेपालभाषामा ‘ॐ’ अक्षरलाई ‘ओँ’ भनेर लेख्ने गरिन्छ ।
बा आखः
व्यञ्जन वर्णको उच्चरण नेपालभाषा र पर्वते कुरामा लगभग उस्तै छ । नेपालभाषामा व्यञ्जन वर्ण यसरी लेखिन्छ ।
क ख ग घ ङ ङ्ह
च छ ज झ
त थ द ध न न्ह
प फ ब भ म म्ह
य ह्य र ह्र ल ल्ह व व्ह
स ह
नेपालभाषामा : ङ्ह, न्ह, म्ह, ह्य, ह्र, ल्ह, व्ह – वर्णहरूलाई मिश्रित वर्ण होइन, एउटा सिङ्गो वर्णकै रूपमा लिइन्छ । जस्तै ‘न्ह’ भन्नाले नेपालभाषामा ‘न’ र ‘ह’ मिसिएको वर्ण होइन, ‘क’ जस्तै एउटा छुट्टै वर्ण मानिन्छ ।
नेपालभाषामा “त, थ, द, ध” वर्णहरूलाई उच्चरण गर्दा माथिल्लो दाँत र टालु जोडिएको स्थानमा जिब्रो लगेर उच्चरण गरिन्छ । भाषाविज्ञानमा यो प्रकारको उच्चरणलाई Alveolar stop भनिन्छ । पर्वते कुरामा जस्तै नेपालभाषामा “ट, ठ, ड, ढ” वर्णहरू प्रयोग गरिँदैन । नेपालभाषाको “त, थ, द, ध” वर्णहरू पर्वते कुराको “ट, ठ, ड, ढ” वा “त, थ, द, ध” दुबै सँग मिल्दैन । पर्वते कुरामा “ट, ठ, ड, ढ”लाई Plosive Retroflex को रूपमा उच्चरण गरिन्छ, अर्थात् जिब्रोलाई घुमाएर मथी टालुमा ठोकाइन्छ । त्यसै गरी “त, थ, द, ध”लाई Plosive Dental अर्थात् जिब्रोलाई दाँतमा ठोकाएर । कतिपय पर्वते मातृभाषाहरूले नेवाः व्यक्तिहरूलाई हाम्रो “ट, ठ” हुन्छ भनेर अपमान गर्ने वा गिज्याउने गर्दछ । तर यो समाजमा व्यापक भ्रम र मिथ्याविचार मात्र हो । भाषावैज्ञानिक रूपमा नेपालभाषाको “त” पर्वते कुराको “ट” वा “त” दुबै सँगै मिल्दैन । एउटा भिन्न भाषाको उच्चारण पद्दति फरक हुनु स्वभाविक हो ।
नेपालभाषामा “श” वा “ष” हुँदैन । “स” मात्र हुन्छ ।
नेपालभाषामा “ञ, ण” छैन । “क्ष” भन्नाले “क” र “ष” जोडिएको अक्षर हो । नेपालभाषामा “ष” वर्ण नहुनाले “क्ष” नहुनु स्वभाविक भयो । “त्र”लाई “त” अनि “र” को समिश्रण भएकाले छुट्टै वर्णको रूपमा लिँइदैन । “ज्ञ” भन्नाले “ज” र “ञ”को समिश्रण हो । नेपालभाषामा “ञ” वर्ण नहुनाले “ज्ञ” नहुनु स्वभाविक भयो ।
नोट
नेपालभाषाका विभिन्न लिपिहरूमा ऋ, ञ, ण, ट, ठ, ड, ढ, क्ष, ज्ञ जस्ता अक्षरहरू पनि छन् । यी वर्णहरू हुनुको कारण के हो भन्दा विभिन्न कालखण्डमा नेपालभाषाकै लिपिमा संस्कृत भाषा लेखिन्थ्यो । संस्कृत भाषा लेख्नका निम्ति यी अक्षरहरू आवश्यक हुनाले यी अक्षरहरू पनि छन् । तर नेपालभाषामा यी अक्षरहरू पर्दैन । नेपालभाषा लेख्दा यी अक्षरहरूको प्रयोग हुँदैन ।
सन्दर्भ :
जीविता व्याकरण : छगू परिचय – डा. तुयु बहादुर महर्जन 978-99946-2-334-1
सुबोध नेपाल भाषा व्याकरण – पुष्परत्न “सागर”
चलँचा – इस्वरानन्द
नेपालभाषा व्याकरण – नेपालभाषा एकेदमी
स्वाध्यायन नेपालभाषा – डा. तुयुबहादुर महर्जन
झीगु व्याकरण – तुयुबहादुर महर्जन, नेपालभाषा गुथि, किपू

[लेखक रुक्साना कपालीका थप लेखहरू rukshanakapali.com मा गएर पढ्न सकिनेछ]

(नेपाल मण्डल(नेवा: प्रदेश) काे यल:(पाटन) की कपाली विशेषत: लैङ्गिक अल्पसंख्यककाे मानवअधिकारकाे पक्षमा अावाज उठाउँछिन् । सामुदायिक अधिकार, पत्रकारिता, ब्लग लेखनमा सक्रिय रुक्सानाले त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान अध्ययन गरिरहेकी छिन् । उनले सन् २०१९ मा बेलायतस्थित युनिभर्सिटी अफ याेर्कमा फेलाेसिपअन्तर्गत मानवअधिकार प्रतिरक्षासम्बन्धि काेर्स पनि पूरा गरेकी छिन् । जुझारु युवा सँस्कृतिकर्मी रुक्षना कपालीले  ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर