भूमिप्रसाद पाठक/ पथरी
पूर्वोत्तर मोरङको पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले शनिबार नवनिर्मित पुस्तकालय भवन हस्तान्तरण तथा पब्लिक अडिट कार्यक्रम सम्पन्न गरेको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवम् पूर्व सांसद चण्डीप्रसाद राईको अध्यक्षतामा भएको कार्यक्रममा कुल १२ लाख ६ हजार ९ सय २ रुपैयाँ लागतमा निर्मित उक्त पुस्तकालय भवनको पब्लिक अडिट गरिएको हो ।

कुल लागतमध्ये एलडब्लुएफ युएनएचसिआरबाट प्राप्त ९ लाख ५० हजार ७ सय ७४ रुपैयाँ बराबरको सामग्री र विद्यालयको आन्तरिक स्रोतबाट नगद एवम् श्रमदान गरी २ लाख ५६ हजार १ सय २८ रुपैयाँ रहेको कार्यक्रममा जानकारी गराइएको छ । सो कार्यक्रममा पथरीशनिश्चरे नगर शिक्षा प्रमुख दुर्गाप्रसाद सिग्देल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वर्तमान सदस्य आइतकुमारी तुम्बापो, वडा नं. १ का सदस्यहरू रोमान्सी धिमाल र दुर्गाप्रसाद सिटौला, व्यवस्थापन समिति सदस्यहरु खगेन्द्र नेपाल, सरिता शिवा र तेजेन्द्रप्रकाश राजभण्डारी, भवन निर्माण समिति सदस्य कृष्णप्रसाद तिम्सिनालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक केदारप्रसाद पोखरेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले प्रस्तुत गरेको आयव्यय सर्वसम्मतले पारित भएको थियो ।
युएनएचसिआरकी कार्यक्रम संयोजक पुनिता चौधरीको विशेष उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन समाजसेवी एवम् शिक्षाप्रेमी युवराज बाँस्कोटाले गरेका थिए । यस विद्यालयले युएनएचसिआरसँगको उक्त सम्झौताबाहेक सोही भवनलाई विस्तृतीकरण गर्ने गरी थप एक कोठा र अलग्गै दुईओटा कक्षाकोठा आन्तरिक स्रोतबाट बनाएको छ । कुल २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा भुटानी शरणार्थी शिविरबाट मात्रै कक्षा ५ देखि ९ सम्ममा १ सय १४ जना विद्यार्थी अध्ययनरत छन् । शरणार्थी शिविरबाट आउने ती विद्यार्थीको आवत्जावत्का लागि एलडब्लुएफसँगको सहयोगमा स्कुल बस ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ । विद्यालयमा विज्ञान र सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको आवत्जावत्का लागि भने भर्खरै मात्र भारत सरकारको सहयोगमा एउटा बस ल्याइएको छ ।