सुनिल शर्मा सर्वसम्मत - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

सुनिल शर्मा सर्वसम्मत

नेपाली कांग्रेसले मोरङ-३ बाट मेडिकल व्यवसायी सुनिल शर्मालाई प्रतिनिधि सभा उम्मेदवार बनाउन सर्वसम्मत रूपमा सिफारिस गरेको छ।  काँग्रेसको क्षेत्रीय समितिले मंगलबार शर्माको नाम एकल रूपमा सिफारिस गरेको हो ।

‘प्रतिनिधि सभाका अरू पनि दाबेदार त थिए तर सहमतिका साथ शर्माको नाम एकल रूपमा सिफारिस गरिएको छ’, मोरङ -३ का कांग्रेस नेता भोजराज बस्नेतले भने, ‘यसले क्षेत्रमा पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गरेको छ।’सत्ता गठबन्धनको भागबन्डामा मोरङ-३ अरू दलको भागमा नपरे र क्षेत्रीय समितिको सिफारिसलाई माथिल्लो समितिले तल/माथि नपारे नोबेल मेडिकल कलेजका मालिकसमेत रहेका शर्मा नै यो क्षेत्रमा फेरि उम्मेदवार हुने छन्। शर्मा कांग्रेसमा नेता शेखर कोइराला निकट हुन्।

२०७४ को निर्वाचनमा पनि शर्मा यो क्षेत्रबाट एकल सिफारिसमा परेका थिए।मेडिकल शिक्षा क्षेत्रमा विद्यार्थीहरूलाई सताएको भनेर विवादमा पर्ने शर्मा आफ्नो निर्वाचन क्षेत्रमा भने नोबेल मेडिकल कलेजलाई उपयोग गरेरै स्थापित छन्। नोबेल मेडिकल कलेजमा उनले चुनाव हारेयता आफ्नो क्षेत्रका मतदाताका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् भने क्षेत्रका मतदाताको उपचारमा पनि भारी छुटको व्यवस्था गरेका छन्। यति मात्रै होइन, क्षेत्रमा नियमित जस्तो स्वास्थ्य शिविर राखेर उनले मतदाता फकाउने जुक्ति लगाइरहेका छन्।‘क्षेत्र नम्बर ३ का कोही बिरामी भए भने दल नहेरी एम्बुलेन्सले लिएर आउने र सोझै उपचार हुने व्यवस्था मिलाएको छु’, सुनिल शर्माले सार्वजनिक रूपमै भन्दै आएका छन् ‘आफ्नो क्षेत्रका लागि यत्ति त गर्नैपर्यो नि!’

यही क्षेत्रबाट राप्रपाले अभिनेत्री रेखा थापाको पनि नाम प्रतिनिधि सभाका लागि सिफारिस गरिसकेको छ।

एमालेबाट पूर्वमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नै उम्मेदवार बन्ने लगभग निश्चित भएको एमाले नेताहरू बताउँछन्।२०७४ को निर्वाचनमा उनले यही क्षेत्रमा शर्मालाई हराएर चुनाव जितेका थिए।त्यतिबेला ‘टुरिष्ट उम्मेद्वार’ भनेर आलोचना खेपेका ढकालले अहिले मोरङको सुन्दर हरैंचामा घर बनाइरहेका छन्। उनको त्यही तयारीले पनि उनी यही क्षेत्रबाट चुनाव लड्ने योजनामा रहेको देखिन्छ। यद्यपि उनले अहिलेसम्म यसबारे मुख खोलिसकेका भने छैनन्। ‘पार्टीले जहाँबाट भन्छ म त्यहीँबाट चुनाव लड्ने हो’, ढकालले भन्दै आएका छन्, ‘पार्टीले निर्णय नगरी मैले यहाँ उठ्छु भन्न मिल्दैन।’

२०७४ मा एमाले र माओवादी मिलेर चुनाव लड्दा जम्मा १९ सय मतान्तरले हारेका शर्मा यसपटक पाँच दलीय गठबन्धनको बलमा सजिलै चुनाव जितिने आशामा छन्। ‘अघिल्लो पटक उहाँले एक्लै बहादुरीपूर्वक वाम गठबन्धनसँग चुनाव लड्नुभयो’, कांग्रेस क्षेत्रीय समितिका एक पदाधिकारीले भने ‘अहिले जित्ने अवस्था हुँदा अर्को मान्छे अघि सार्ने कुरा जायज हुन्थेन। त्यही भएर उहाँको नाम एकल रूपमा सिफारिस गरिएको हो।’

मोरङको कानेपोखरी गाउँपालिका, बेलबारी र सुन्दरहरैंचा र पथरी शनिश्चरेका केही वडा यो क्षेत्रमा पर्छन।गत स्थानीय चुनावमा यो क्षेत्रका २६ वटा वडामध्ये एमालेले १४ वडामा जितेको छ भने कांग्रेसले ११ वडा जितेको छ। एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।वडाध्यक्षहरूले पाएको मत अनुसार काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गरी ४६ हजार ६०७ मत छ भने एमालेको ३७ हजार ४१० मत छ। त्यस्तै राप्रपासँग २ हजार १२१ मत छ।

सम्बन्धित खवर