नगरकाे बिकासका लागि नगरवासीकाे सुझाव - Sainokhabar
  • आइतबार, असार १९, २०७९

नगरकाे बिकासका लागि नगरवासीकाे सुझाव

         –युवराज बास्कोटा
                    युवराज बास्कोटा

फेसबुक– लाखौंलाख मानिस एकैपटक भेटिन सकिने विद्युतीय सामाजिक सञ्जालको एउटा प्रभावकारी सार्वजनिक रंगमञ्च हो । सामाजिक आवश्यकता, आचरण र मर्यादाअनुरुप सहिअर्थमा सदुपयोग गर्न जान्दा र सक्दा चाहेको विषयगत ज्ञानको गहिराइ छ यसमा । दुरुपयोग गर्ने लालसा पाल्ने र तदनुरुप सक्रियता बढाउने हो भने विवेकहिनताको खडेरी पनि यदाकदा भेटिन्छ फेसबुकमा ।

   
विषय– सन्दर्भ :
तीन दिनअघि फेसबुक वालमा एउटा स्टाटस राखेँ । प्रायशः स्टाटसहरू राखिरहेको हुन्छु । आशातीत धेरै लाइक र कमेन्टहरू प्राप्त भए यसमा । आग्रह–पूर्वाग्रहस्वरुप व्यक्त भएका केही अपवाद कमेन्टबाहेक अधिकांश लेखनमा हाम्रो नगरलाई सेवाप्रवाहका दृष्टिकोणले साँच्चिकै सुदृढ र प्रभावकारी बनाउन उपायबारे साथीभाइले फरकफरक विषयोपर गृहकार्य गर्नुभएको छ, विषयगत ज्ञानको क्षेत्र र रुचिअनुरुप साथीभाइहरू निकै घोत्लनुभएको छ र प्रयुक्त ढंगले राय–सुझावहरू पेश गर्नुभएको छ । प्रत्यक्ष वा परोक्ष– आम चासो र सरोकारका थुप्रै विषयवस्तुहरू प्रकट भएको छ यहाँ । साथीभाइबाट परस्पर प्रकट आलोचनालाई स्वयंमा सच्चिन वा सुध्रन यसको गतिशीलताको मापनको आधार मान्ने हो भने नीति निर्माणको तहमा रहनुहुने जनप्रतिनिधिले ध्यान दिनु वाञ्छनीय हुन्छ । प्राप्त राय–सुझाव र यसको कार्यान्वयनमा ध्यान दिइने कुराले मोरङको पथरी शनिश्चरे नपालाई थप सुदृढ र प्रभावकारी बनाउन मद्दत पुग्ने देखिन्छ ।
सरोकारवाला
वडा नं. १ का उपविजेता युवा व्यक्तित्व राजेन्द्र बस्नेतदेखि लिएर राजनीतिक कार्यकर्ता सनम चौहानको सरोकार, शिक्षक बुद्धिनाथ अधिकारीदेखि लिएर सामाजिक अभियन्ता प्रदीप आचार्यको सरोकार, गोरखापत्र दैनिकका स्तम्भकार हरिप्रसाद कोइरालादेखि लिएर मजदूर नेता नरनाथ लुइँटेलको सरोकार, अर्डिटर लक्ष्मीप्रसाद सापकोटादेखि लिएर सामाजिक अगुवा देवेन्द्र मिश्रको सरोकार, कृषक अगुवा खगेन्द्र थापादेखि लिएर व्यवसायी युवराज ओझाको सरोकार, युवा समाजसेवी बसन्त उप्रेतीदेखि लिएर सेवानिवृत्त शिक्षक एकराज निरौलाको सरोकार, स्थानीय सुखदेव बान्तवा राईदेखि लिएर शिक्षक दिलिप खवासको सरोकार, विद्यार्थी नेता मुकेश बाछाना राईदेखि लिएर उद्यमी सीता पौडेलको सरोकार, शिक्षक दयासागर तिम्सिनादेखि लिएर पत्रकार भाइ गोपाल काफ्लेको सरोकार, सहकारीकर्मी राजेन्द्र भण्डारीदेखि लिएर स्थानीय टंकप्रसाद न्यौपानेको सरोकार, विकासमैत्री गोपाल बस्नेतदेखि लिएर शिवराज श्रेष्ठको सरोकार, शिक्षक विष्णु पोखरेलदेखि लिएर व्यवसायी चेवन कोइरालाको सरोकार, राष्ट्रिय व्यक्तित्व पुष्प बस्नेतदेखि लिएर पहिलो पुस्ताको अग्रणी व्यक्तित्व केवल विष्टको सरोकार, ग्रामीण किसान नारायणप्रसाद कोइरालादेखि लिएर परिवर्तनका पक्षधर तेजनाथ निरौलाको सरोकार र देशबाहिर विभिन्न भू–खण्डमा बसोबास गर्नुहुने रवीन दाहाल, सरगम श्रेत्री, बिक्रम बुढाथोकीको सरोकार उल्लेख्य छ ।
स्थानीय तह निर्वाचनताका मैदानमा उत्रिएका सबै राजनीतिक दलहरूले प्रतिबद्धता सार्वजनिक गरेको थियो । कैयौं प्रतिस्पर्धीमाझ अग्रता लिने दलहरूको प्रतिबद्धताले नै मूलतः राजकीय जिम्मेवारी पूरा गर्न दिशानिर्देश गर्ने छ । दलहरूका राजनीतिक प्रतिबद्धताबाहेक सामाजिक सञ्जालको यो परिशिष्टमा प्राप्त थुप्रै राय–सुझावहरू विषयगत महत्त्वका हिसावले अध्ययनमनन, बहस–विमर्श र कतिपयलाई कार्यान्वयन गर्न गराउन योग्यतम् छन् भन्ने हेक्का रहन सक्यो भने नीतिगत निर्णय लिइने थलो पनि सर्वपक्षीय र पूर्णतः समावेशी हुने नै छ । यद्यपि, सेवाप्रवाहका दृष्टिकोणले सुधार्नुपर्ने विषयवस्तुको रूपमा राय–सुझाव मागिएको थियो, परस्पर अन्तरघुलित भएर मिश्रित ढंगले धेरै विषयहरू प्राप्त भएका छन् । यसलाई समष्टि र व्यष्टि दुबै हिसावले ग्रहण गर्न सकिन्छ ।  सामाजिक सञ्जालमा पोखिएका सरोकारवालाका यी सरोकारमतले समाजको सकारात्मक परिवर्तन, रूपान्तरण र व्यवस्थापनको क्षेत्रमा कुनै न कुनै ढंगले योगदान पुग्ने निश्चित छ ।

सरोकारमत  
अधिकांश मतले संस्थागत इमानभित्र व्यक्तिको जवाफदेहिताको माग गर्दछ । भ्रष्टाचार र अनियमितता मात्र रोक्न सके पूर्वाधार विकास र निर्माणको गतिले समाजको समृद्धिको परिकल्पना सार्थक रहने कुराको अटुट सम्बन्धलाई स्थापित गर्दछ । दैनन्दिन कार्यालय सञ्चालन, कामकाजको गति र कर्मचारीको उपस्थितिबीच बेमेल भएको दर्शिन्छ । नीतिमा हुने भ्रष्टाचार र विधिमा हुने भ्रष्टाचार बिनाको विकासको परिकल्पना गर्दछ ।

पूर्ववर्ती नगर सरकारले दमकल खरिद गर्ने सार्वजनिक कबोल गरेको थियो । यसपटक स्थानीय नागरिक दमकलबाट लाभ लिन चाहन्छ । नगर पूर्णतः कृषिमा आधारित भएकोले प्रत्येक वडामा कृषि शाखा कार्यालय र कार्यालयमाफर्त बाली बीमा, पशुबाली बीमा, एआइको व्यवस्था, कृषक उद्यमीलाई तालिम, मल–बीउ र पशु प्राविधिकको व्यवस्थापन गर्न सक्दा जनतन जीविकोपार्जनमुखी कृषि मुनाफामा आधारित बन्न सक्ने विश्वास भेटिन्छ ।
गुणस्तर अभावमा पोहोरसाल बनेको बाटाघाटाहरू अहिले खाल्डाखुल्डी परेर हिडिसक्नु छैन । यसले ग्रामीण जनजीवन शहरबजारसँग जोडिन सजिलो छैन । समग्र लगानी अर्थात् लागतभन्दा बढी कमिशन र झारा टार्ने कामले पूर्वाधार विकासको क्षेत्रमा प्रश्न उठेको देखिन्छ ।
सूचना र प्रविधि पहुँचका दृष्टिकोणले सक्षम नागरिक बसोबास गर्ने नगरमा प्रविधिमैत्री सुविधासम्पन्न कार्यालय भवन निर्माण र अविलम्ब सञ्चालन टड्कारो खाँचोको रूपमा देखिन्छ । नगरको एकीकृत सूचना प्रणाली, नगर र वडा कार्यालयको हाताभित्र सेवाप्रवाहको चुस्तदुरुस्त अवस्था विकास, वडा कार्यालयमै घर–नक्शा पाससम्बन्धी कार्य सञ्चालन, व्यक्तिको प्रभाव र पहुँचको आधारमा नभई अनलाइन इन्ट्री र फस्ट कम फस्ट सर्भिस, कर्मचारीबाट उपेक्षा होइन, सद्भाव र शुभेच्छा सहितको व्यवहार, कार्यालय समयको पूर्ण पालना, कुनै पनि खालको भेदभावरहित व्यवहार, आवधिक सार्वजनिक सुनुवाइ, बिचौलियाको नियन्त्रण आदिमा ध्यान जान जरुरी देखिन्छ ।
प्रश्न उठेको भए पूर्ववर्ती सरकारका फायल चेकजाँच, सुरक्षा निकायको प्रभावकारिताको अभिवृद्धि, वडा–वडामा चुस्तदुरुस्त सुरक्षा संयन्त्र, विषयगत आवश्यकताका हिसावले नगरमा क्रियाशील बौद्धिक, नागरिक, पेशाकर्मी, व्यवसायी वर्गलाई साथसाथै लिएर विषयगत गोष्ठि, संगोष्ठि आदि आयोजना गर्नुले व्यवस्थाप्रति शंका उपशंका रहँदैन । नगरको आम्दानी बृद्धिका लागि निर्धारित करको दायरा साँघुरो र कसिलो होइन, बरु फराकिलो बनाएर अन्य थुप्रै विषयोपर कर बढी वसुलउपर गर्न सक्ने आधार तयार गर्नुपर्ने हुन्छ ।
पथरी शनिश्चरेको परिचयको बिम्ब दिने आकृति सहितको एउटा सुन्दर उद्यान निर्माण, नगर कर्मचारी र समाजका अगुवादेखि लिएर जननिर्वाचित तहगत जनप्रतिनिधिका छोराछोराका लागि अनिवार्य सामुदायिक विद्यालयको अवधारणा विकास, स्थानीय पाठ्यक्रम विकास र पठनपाठनको अनिवार्य अवस्था सिर्जना, परिवेश सुहाउने नैतिक आचरणयुक्त पाठ्यपुस्तक निर्धारण आदिले समृद्ध नगरको परिचय बढ्ने दावी उपयुक्त छ । दिनहुँजसो थुप्रै घरमा जाँडरक्सी, जुवातास, यौनजन्य उत्पीडनका कारण समाजमा बग्रेल्ती समस्याहरू उब्जने गरेका छन् । यी कुराले सम्बन्धित घर–परिवारजनलाई मात्र होइन, आश्रित बालबालिकाको मनस्थिति र पठनपाठन आदि क्षेत्रमा प्रत्यक्ष असर र प्रभाव पार्दछ । यस्ता तामसी वस्तुको उपलब्धतामाथि रोक लगाइनु आवश्यक छ ।
तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना सहित अघि बढ्ने हो भने नगरमा सहज सेवाप्रदायक भौतिक संरचना निर्माण, पर्याप्त क्षेत्र भएको ठाउँमा कार्यालय परिसरको निर्माण, सेवाप्रदायक जनशक्तिको संगठितस्वरुप विकास, यो जनशक्तिलाई मानव संसाधनका सिद्धान्तमा आधारित प्रशिक्षणद्वारा प्रशिक्षित र अद्यावधिक गर्नुपर्ने अवस्था विकास, प्रमुख उपप्रमुखलगायत कार्यकारी शक्ति केन्द्रका वरिपरि घुम्ने प्रचलनको अन्त्य, नगरका समग्र भू–क्षेत्रलाई समान महत्व र प्राथमिकताका साथ चयन र परिचालन,  नगरभित्र पहिचानोन्मुख भौतिक, प्राकृतिक, प्राविधिक, प्राज्ञिक आदि रहेका स्रोतसाधनको संरक्षण र पूरापूर उपयोग नीति निर्माण, समाजलाई रूपान्तरण र व्यवस्थापनको क्षेत्रमा योगदान गर्ने व्यक्तित्व पुरस्कार कार्यक्रम सञ्चालन गरिनु सामाजिक अर्थतन्त्र निर्माणका दृष्टिकोणले पनि उम्दा काम हुनेछ ।
सीसीटीभी क्यामरा जडान सामान्य विषय भइसक्यो । तर पर्याप्त मात्रामा भएको छैन । राष्ट्रिय राजमार्गको पश्चिममा कानेपोखरीपूर्व र पूर्वमा उर्लाबारीपश्चिमको पथरी बजारको वस्तुस्थिति घनाजंगलले घेरिएको छ । प्रकृति र पर्यावरणका दृष्टिकोणले यो हाम्रा वरदान हो भने सुरक्षाका दृष्टिकोणले अभिशाप । दिनदहाडै काबुबाहिरका घटना परिघटना व्यहोर्न नागरिक वाध्य छ । यसलाई मध्यनजर गर्दै सीसीटीभी क्यामरा जडान अनिवार्य गर्नुपर्ने छ ।
दैनन्दिन सञ्चालनमा ल्याउनुपर्ने हाम्रा कार्यालयहरू शारीरिक अशक्त र अपांगमैत्री छैनन् । यसलाई समेत ध्यानमा राख्दै नगरप्रमुख र उपप्रमुख बस्ने कार्यकक्ष भुँइतलामा बनाउनु उपयुक्त हुन्छ । बारुणयन्त्र, शवबाहन, एम्बुलेन्स आदि हतारहतारमा चाहिने सवारीसाधन हुन् । यसको लागि पृथक व्यवस्थापन गर्ने पार्कको खाँचो छ । खोजमूलक पत्रकारितामार्फत बाहिरिएका विषयवस्तुमाथि आवश्यक अध्ययन गर्ने, डम्पिङ साइड अभावमा राजमार्ग किनारमा फालिएको फोहोरमैलाबाट मोहोर आर्जन गर्न सकिने आधार तयार गर्ने, शहरबजारको सौन्दर्यमुखी कार्यारम्भ गर्ने, तोकिएको प्रथम जाति–समुदायलाई तिनकै भाषा र लिपीमा पठनपाठन आरम्भ, प्राकृतिक चिकित्सा, योगशाला, व्यमशाला आदि निर्माणमा जोडिने कार्य अविलम्ब थालिनुपर्ने छ ।
द्वन्द्वमा वा अरु कुनै कारणले श्रीमान बेपत्ता महिलालाई एकल महिलाको रूपमा घोषणा गर्दै सामाजिक सुरक्षा कार्यक्रममा यस्तो प्रकृतिको महिलालाई सामेल गराइनुपर्ने, सरकारी र जंगल अधिनस्थ जमिनमा बसोबास गरेका वा बनेका घरहरूलाई करको दायरामा ल्याइनुपर्ने, कृषि उत्पादनलाई बढावास्वरुप प्रोत्साहन कार्यक्रम, प्रत्येक कार्यक्रममार्फत यसको रखरखावको क्षेत्रमा पारदर्शी व्यवस्थापन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा लक्षित समुदाय आधारित कार्यक्रम सञ्चालन, प्राविधिक संकायमा उच्चशिक्षा आर्जन गर्न चाहने विद्यार्थीका हकमा न्युन ब्याज दरमा शैक्षिक ऋण कार्यक्रम सञ्चालन, खेलकुद र पर्यटकीय क्षेत्रको प्रवर्धन एवम् व्यवस्थापन कार्यक्रम, वडा–वडामा स्मार्ट चौक निर्माण कार्यक्रम, ज्येष्ठ नागरिकमैत्री कार्यक्रम निर्माण, सामुदायिक विद्यालयमा विद्यार्थीको मात्र होइन; अन्तिम घण्टीसम्म रहनुपर्ने शिक्षकहरूको पनि हाजिरी अभिलेखीकरण व्यवस्थापन, बेरोजगार युवायुवती लक्षित वडा–वडामा सीपमूलक तालिम जस्तो कि ड्राईभिङ, प्लम्बरिङ ,ईलेक्ट्रिक कार्यक्रम सञ्चालन आदि अविलम्ब आरम्भ गर्नुपर्ने छ ।
सेवाप्रवाहका दृष्टिकोणले नगरलाई चुस्तदुरुस्त र प्रभावकारी बनाइरहन विद्युतीय कामकाजमा जानुपर्छ । बाकसमा होइन, विद्युतीय सुझाव मञ्जुशा राखिनुपर्छ । मञ्जुशामा प्राप्त सुझावका आधारमा काम र कामको गतिलाई अद्यावधिक गर्ने र सकारात्मक सोंच अग्रसर भएको सुझावलाई कमसेकम वर्षमा एकपटक सम्मानित पुरस्कृत गर्ने कामको थालनी गरिनु सम्बन्धित दुबै पक्षका लागि हितकर हुन्छ । शिक्षाको बहुआयमिक महत्वभित्र स्थानीय शिक्षालाई सिपसँग र सिपलाई उत्पादनसँग जोड्नुपर्छ । पढ्दै, कमाउँदै कमसेकम निर्वाह गर्न सक्ने शैक्षिक कार्यक्रम ल्याउनु आवश्यक छ । क्रमशः स्वरोजगारमुखी र जीवनोपयोगी शिक्षाको सुरुवात गर्नुपर्छ । नगर शिक्षाको केन्द्र हो । नगरमा यो खालको शिक्षा क्षेत्र चुनौति होइन, अवसर हो भन्ने योजनाअनुरुप अघि बढ्नुपर्छ ।
नीतिगत रूपमा निर्णय लिन उभिएका जनप्रतिनिधिहरूको पनि क्षमता अभिवृद्धि सहित बहालवाल सम्पूर्ण कर्मचारीहरूको क्षमता अभिबृदि र नियमित रूपमा अनुगमन जरुरी छ । कर्मचारीको आलटाल र ढिलढाललाई तत्काल निरुत्साहन गर्नुका साथै आधारभूत सेवाग्राहीका लागि प्रत्येक कार्यालयमा हेल्प डेक्स राखिनु आवश्यक छ । पहुँचवालाको मात्र बोलाबाला भएको स्थानीय स्वास्थ्य क्षेत्र र सरकारको स्वास्थ्य बीमालाई नै निरुत्साहन तुल्याउने स्वास्थ्य कर्मचारीको व्यवहारलाई निरुत्साहन गरिनु ढिलो भइसकेको छ ।
उपसंहार
राजनीतिक अभिमतका हिसावले नेकपा (एमाले) द्वारा नगर प्रमुख र उपप्रमुख सहित विभिन्न पदका लागि अघि सारिएका बहुमत सदस्यहरूले नगरको सेवाप्रदायी नेतृत्व गर्ने अवसर पाएका छन्, नेपाली काँग्रेस सहयोगी दलको रूपमा उभिएको छ । प्राप्त जनअभिमतले एमालेले अघि सारेको उत्तर–दक्षिण भूगोलको प्रतिनिधित्वलाई अनुमोदन गरेको छ भने कम्युनिष्ट आन्दोलनको बिग्रह चाहने तत्वहरू यसपटक यहाँबाट अस्तित्व रक्षाको अवस्थामा विलय भएका छन् ।
प्रस्तुत माथिल्लो थुप्रै विषयगत सरोकारलाई राजकीय भूमिकामा रहेको नेकपा (एमाले) र नेपाली काँग्रेसको स्थानीय नेतृत्वले पूरा गर्नुपर्ने छ । खासगरिकन संघीय ढाँचाभित्र प्रचलित न्याय व्यवस्थापन र वितरण प्रणालीअन्तर्गत स्थानीय सरकारसमक्ष आममानिसको पहुँच विकासको सुनिश्चितताको माग गर्दछ, कार्यालयीय कामकाजको चुस्त व्यवस्थापनको माग गर्दछ, समयानूकुल सम्पूर्ण सेवाप्रवाहको माग गर्दछ, डरत्रास मिश्रित समाजको विकल्पमा अमनचैन र पूर्णतः शान्तिसुरक्षाको अपेक्षा गर्दछ, अन्यायका विरुद्धमा न्यायको पक्षपोषण गर्छ, असमानताका विरुद्धमा समानताको वकालत गर्छ, यथास्थितिका विरुद्धमा परिवर्तनको परिकल्पना गर्छ, परिवर्तित समाजको वैज्ञानिक व्यवस्थापनको अपेक्षा गर्दछ, कुशासनका विरुद्धमा सुशासनको माग गर्दछ, अनियमितताका विरुद्धमा नियमितताको आवाज बुलन्द गर्छ, बेथितिका विरुद्ध थिति बसाल्ने कुरा गर्छ, फेरिएको व्यवस्थासँगै अवस्थामा पनि फेरबदल भएको अनुभूतिआर्जन गर्न चाहन्छ, पूर्वाधार विकास र निर्माणका क्षेत्रमा पारदर्शितालाई पहिलो शर्तको रूपमा उभ्याउछ, व्यवस्थामा मात्र होइन, मानिसको दैनन्दिन जीवनशैली विकासको क्षेत्रमा समेत लोकतान्त्रिक आचरण र मानवीय मूल्यको माग गर्दछ ।
वास्तवमा यो आजको आवश्यकता हो । तदनुरुप वस्तुगत कार्ययोजना सहित जनप्रतिनिधिहरू अघि बढ्न सकून्– धेरै–धेरै शुभकामना !
नगरको बिकासका लागि सामाजिक संजाल मार्फत नगरवासीले दिएका सुझावहरुलाई समेटेर नेकपा एमालेका युवा नेता युवराव बास्कोटाले तयार पारिएको रिपोर्ट । समग्र रिपोर्टको आधारमा जनप्रतिनिधीले काम गर्न सके नगरले बिकासका खुड्कीला पार गर्न कुनै ठुलो सकस बेहोर्नु नपर्ने देखिन्छ ।

सम्बन्धित खवर