मैले पाउने भत्ता पनि गरिव दुखीको जीविकोपार्जनमा लगाउँने छु - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

मैले पाउने भत्ता पनि गरिव दुखीको जीविकोपार्जनमा लगाउँने छु

विकासमा माधव कोइराला पथरीशनिश्चरेका चिरपरिचित सामाजिक ब्यक्ति हुनुहुन्छ । ब्यापार र राजनीतिलाई सँग–सँगै अघि बढाउनु भएका कोइराला नेपाली कांग्रेसको तर्फबाट पथरीशनिश्चरे नगरपालिकाको उम्मेद्वारका रुपमा चर्चाको शिखरमा हुनुहुन्छ । लामो समय देखि कांग्रेस राजनीतिमा क्रियाशील ४५ वर्षीय कोइरालासँग स्थानीय निर्वाचन कै विषयमा पत्रकार हरि कोइराला/ गोपाल काफ्ले संग गरिएको कुराकानीको मुख्य अंश ।

स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त हुनुहुन्छ ?

– हामी लोकतन्त्रमा विश्वास गर्ने जो कोहीले निर्वाचन हुन्छ भनेर विश्वास गर्नुपर्छ । लोकतन्त्रको मेरुदण्ड नै आवधिक चुनाव भएकोले मलाई निर्वाचन कुनै पनि बहानामा टर्छ भन्ने लाग्दैन । सरकारले तोकेकै समयमा निर्वाचन गराउनै पर्छ । म मात्र नभएर सबै सचेत नागरिकले आ आफ्नो ठाउँबाट निष्पक्ष, धाँधली रहित र शान्तिपूर्ण निर्वाचन गर्नका लागि वातावरण समेत तयार गर्नुपर्छ ।

 तपाई पनि उम्मेद्वार बन्ने कुरा चर्चामा छ ? पार्टीले पत्याउँला ?

म उम्मेद्धार वन्ने कुरा चर्चामा आउनु स्वाभाविकै हो । त्यो भन्र्दै गर्दा मैले फेसबुकमा आफ्नो इच्छा व्यक्त गरेर मात्र पनि मेरो चर्चा आएको होइन । मैले पथरीशनिश्चरेको सामाजिक क्षेत्रमा पु¥याएको योगदान र इमान्दारिताका कारण चर्चा बटुल्न सफल भएको जस्तो लाग्छ ।जहाँ सम्म पार्टीले पत्याउने नपत्याउने भन्ने प्रश्न छ , त्यो पार्टीले जान्ने कुरा हो । अर्को कुरा पार्टी भनेको म र हामी जस्तै कार्यकर्ताको संगठित नाम मात्र हो । पार्टी भित्रका आम कार्यकर्ता साथीले सहयोग गरिरहनु भएको छ । पार्टीले पत्याउन कुनै विभुषण वा पदक प्राप्त गर्नु पर्ने पक्कै होइन । म २०४६ साल देखि निरन्तर पार्टीको स्थायी कार्यकता भएर विविध असहजताका वीच सहजरुपमा चारतारे झण्डालाई आफ्नो सान र मान सम्झेर यसैलाई आफ्नो स्वाभिमान ठान्दै पार्टी, लोकतन्त्र र राष्ट्रियता रक्षाका निम्ति वफादार सिपाहीको भूमिका निर्वाह गरिरहेको छु । लाग्छ , पार्टीले अन्याय गर्ने छैन् ।

 कांग्रेसको कुन–कुन तहमा बसेर काम गर्नुभयो ?

म २०४६ साल देखि पार्टीमा क्रियाशील छु । वुथ सचिव, ने.वि संघ पथरी गाउँ सभापति, त्यसपछि ने.वि. संघ उर्लाबारी क्याम्पस इकाई सभापति पार्टीको पथरी गाउँ सचिव भएर काम गरें । भातृ संगठन र पार्टीमा वसेर निरन्तर काम गरेको छु । तत्कालिन समयमा पार्टी संगठनको निख्खार ल्याउन मेरो बुबाले पनि धेरै सहयोग गर्नु भएको छ । त्यसपछि २०५५ सालमा म मेरो व्यावहारिक कारणले रोजगारीको शिलशिलामा कुनै वित्तीय संस्थातर्फ लागे र त्यहाँ पनि मैले ने.का. निकट कर्मचारीको संघमा रहेर जिल्ला सचिवको भूमिका निर्वाह गरेको छु ।

 ब्यापारी मान्छे, राजनीतिमा समय दिन भ्याउनु हुन्छ र ?

व्यापारीले राजनीति गर्न हुँदैन, किसानले हुँदैन वा अन्य कुनै पेशामा लागेका व्यक्ति वा उद्यमीले यसबाट टाढै रहनुपर्छ भन्ने पक्षमा म छैन, वरु राजनीतिलाई नै पेशा बनाउने, जनताको काम गर्दा पारिश्रमिक लिएर मात्र गर्ने व्यक्तिहरुलाई राजनीतिबाट टाढा राख्नुपर्छ । अर्को तिर मेरो व्यापार मेरा परिवारका सदस्यबाट संञ्चालित छ, त्यो व्यापारले मलाई राजनीति गर्न कुनै रोकटोक गर्दैन । वरु पुलको काम गर्नेछ भन्ने लाग्छ ।

 मेयरको टिकटका लागि धेरै जना आंकाक्षी देखिएका छन ? नि के छ त्यस्तो आकर्षण ?

–टिकटका लागी नेपाली काँग्रेसमा आकांक्षीको भीड देखिनु अस्वाभाविक होइन, किनकी यहाँ सयांैको संख्यामा नेता उत्पादन भएका छन् । २० वर्ष यता आवधिक चुनाव भएको छैन । यो लामो ‘ग्याप’ले धेरै कार्यकर्ताको आकांक्षा भएको हो । पार्टी नेतृत्व गर्ने साथीहरु पार्टीको विभिन्न तहमा सिमित संख्यामा मात्र अटाउन सक्ने भएकोले पनि खारिएका जुझारु साथीहरूको नाम आउनु कूनै नौलो कुरा होईन । फेरि जनप्रतिनिधि भन्ने वित्तिकै पार्टीको मात्र नभएर समग्र जनताको काम गर्ने, पार्टीको सान वढाउने र आफूलाई सक्षम नेतृत्वको रुपमा स्थापित गर्ने नै हो । जहाँ सम्म आकर्षणको कुरा छ, त्यो म मा पूर्ण रुपमा लागु हुदैन किन कि मैले मेयर भएर त्यहाँबाट आएको आर्जनबाट घर व्यावहार चलाउँला परिवारलाई सुख दिउँला भन्ने छैन, वरु मैले पाउने पारिश्रमिक समेत जनताको खुन पसिनाले श्रृजित खाई नखाई तिरेको करबाट आएको हुनाले म तपाईको पत्रिका मार्फत सम्पूर्ण पाठक तथा नगरवासी आमा, वुवा, दाजुभाई, दिदी वहिनीहरुलाई प्रष्ट पार्दछु कि त्यो रकम नलिई तिनै छोरा छोरी जस्ले वेसाहारा जीवन जिउन वाध्य छन् तिनीहरूको निम्ति खर्चिने छु ।

 कांग्रेसले तपाईलाई उम्मेद्वार बनाउनु पर्ने कारण भनिदिनु न ?

दुईमा दुई जोड्दा चार भए जस्तो कारण त छैन । तर म मा कहिल्यै पनि राजनैतिक धर्मोन्माद देखिएन किनकी म आफूलाई वि.पी.को अनुयायी मान्छु, म गिरिजा बाबुको शिष्य हुँ भन्ने लाग्छ र मैले किसुनकी र गणेशमान जीबाट दिक्षित भएको महसुस गरेको छु । मैले के रोगी ,के दुःखी, के गरिव,के धनी,के ठूलो, के सानो सबैमा सम–व्यवहार गर्नुपर्छ भन्ने बुझेको छु । आदर्श र भाषणले रित्तो पेट भरिन्न । नगरवासीले सुकिला मुकिलाहरूका धेरै भाषण सुने होला । तर म भाषण र आदर्शमा विश्वास गर्दिन । भोकालाई एक छाक खान मात्र होइन, सधैंका लागि कमाएर खानका लागि सीप दिनुपर्छ भन्ने मान्यता राख्छु । नगरवासी यस्तै व्यक्ति मेयर भएको हेर्न र देख्न चाहन्छन भन्ने मलाई लाग्छ । त्यति मात्र होइन,सयौं यूवा साथीहरूको भरोसा,पाकाहरूको आशिर्वाद र नगरवासीको सद्भाव रहेकोले मैले उम्मेद्धार बन्नुपर्छ भन्ने निर्णय लिएको हुँ ।

 चुनाव त महँगो हुन थाल्यो भन्छन नि ,कति खर्च छुट्याउनु भएको छ ?

चुनाव खर्चिलो मँहगो जे भएपनि म उधारो गर्न जान्दिन । नगदमा व्यावहार गर्छु ।मेरो भनाईको मतलव सबैलाई बाढ्छु भन्ने हैन । विपक्षीदलका साथीहरुले जनतालाई धेरै अघि देखि यहाँका समस्या र विकासे कामको उधारा सपना देखाएर आफूले नाफा गरेका छन् अव म त्यसो हुन दिन्न । म घाटामा गएर पनि नगरवासीलाई नाफामा लान्छु यो मेरो प्रतिवद्धता हो ।खर्च छुट्याउने भन्ने कुरै आउँदैन । कसैले विरामी हुन्छु भनेर खर्च छुट्याउँदैन, नत उम्मेद्वार बन्छु भनेर नै । मैले यसलाई नियमित आकस्मिकताको रुपमा मात्र लिएको छु ।

 तपाईलाई कांग्रेसको स्थायी चन्दादाता पनि भन्छन नि ,कति जति पैसा दिइसक्नुभयो ? भन्न मिल्छ ?

हो, मैले कांग्रेसलाई सहयोग गरेको छु । तर कांग्रेसलाई मात्र होइन, जो म कहाँ सहयोगको अपेक्षा गरेर आउँछन, उहाँहरूलाई खाली हात पठाएको छैन । जहाँसम्म स्थायी चन्दादाताको कुरा छ, म चन्दादाता भन्दा पनि यूवा नागरिक हुँ । अरुको जस्तै मेरो पनि आफ्नै दैनिकी हुन्छ । समाजसेवाका लागि आम्दानीको केही हिस्सा छुट्याएको मात्र हुँ । हरेकले आफ्नो आम्दानीको १० प्रतिशत समाजसेवामा छुट्याउँछन भने मैले किन नछुट्याउने भन्ने मात्र हो ।

 तपाईका चुनावी मुद्धा के के छन ?

चुनाबी मुद्धा पार्टीले घोषणापत्र मार्फत सार्वजनिक गर्नेछ । म पार्टीबाट चुनाव लड्ने हो । त्यसो भन्दैमा म सँग केही मुद्धा छैनन, भन्ने होइन । हामी कहाँ वर्षौं देखि जग्गाको दोहोरो स्वामित्वको समस्या छ । यो समस्या समाधान भएन भने उपभोक्तासँग साझेदारीमा विकास निर्माण गर्न सकिन्न । पञ्चायत, बहुदल हुँदै संघीय गणतन्त्र सम्म आइपुग्दा पनि यस क्षेत्रबाट निर्वाचित सांसद,नेताहरू यो समस्यालाई स्थायीरुपमा समाधान गर्न नसकेकै हो । चुनाबी नारा मात्र बनेको यो समस्या समाधानका लागि पथरीशनिश्चरेबासीले माधव कोइरालाको नेतृत्व पर्खिरहेको महसुश भएको छ । मेरो पहिलो प्राथमिकता नै सुकुम्वासी समस्या समाधान हो । त्यति मात्र होइन । यत्रो ठूलो शहरमा एउटा सुविधा सम्पन्न सामूदायिक हल छैन्,रंगशाला छैन, प्राविधिक शिक्षालय छैन । सामान्य उपचार गर्न विराटनगर धाउनु पर्ने अवस्था छन् । छोटकरीमा भन्ने हो भने संविधान प्रदत्त आधारभूत अधिकार दिलाउन क्रियाशील हुनेछु ।

 पथरीशनिश्चरे नगरपालिका त एमालेको ‘गढ’ भन्छन नि ? यस्तो ठाउँमा चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

गढ, पकेट क्षेत्र भनेको स्थायी रुपमा रहने विषय होइन । हो, हिजो एमालेले लगातार चुनाव जितेकै हो । तर एमालले नाजीवाद जस्तो बनिबनाउ राष्ट्रियताको ढोङ बजाउँदा जानी नजानी नाँचेका हुन सक्छन । ज्ञानेन्द्र पनि गद्दीशिन हुने सपना बोकेर मन्दिर धाइ रहेका छन् । पञ्चायत कालमा सबै पञ्च नेपाली सबै नेपाली पञ्च भन्थे । आखिर हामी गणतन्त्रमा पुग्यौं । जनता कसैको खल्तीमा राखेको सुपारीका टुक्रा होइनन, ता कि चाहेको बेला निकालेर कुटुक्क पार्न पाइयोस । जित पार्टीको हातमा छैन । पथरीशनिश्चरेमा भएका कुल मतदाताको ३० प्रतिशत विभिन्न पार्टीका कार्यकर्ता होलान ,बाँकी त स्वतन्त्र ब्यक्ति छन । पहलमानी प्रथा अब टिक्न सक्दैन । जनताले अब भरोसा खोजेका छन् । त्यो हामी दिन सक्छौं भन्ने मेरो दावी हो । २० वर्ष पछि चुनाव हुन लागेको छ । २०५४ मा जन्मिएको बच्चा आज मतदाताको रुपमा भोट हाल्न आतुर छ । उसले बिगत भन्दा पनि भविष्य कसरी सुरक्षित हुन्छ भन्ने सोचिरहेको छ । ति युवाहरू कांग्रेसको पक्षमा मतदान गर्न पर्खिरहेका छन् भन्ने कुरा पथरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनले देखाइसकेको छ ।चुनावमा हार्ने भन्ने कुनै कारण देखेको छैन ।

 मेयर जित्नु भयो भने पथरीशनिश्चरे नगरमा पहिलो काम के गर्नुहुन्छ ?

यो अलि कन्ट्रोभर्सि प्रश्न भयो , तर टिकट पाएर चुनाव जितें भने ,बर्षौं देखि ढाटिएका नागरिकलाई संकटबाट बाहिर निकाल्ने छु । आज सम्मको उधारा सपनालाई नगदमा परिणत गराउने छु । ब्यवस्थित शहर निर्माणका लागि विज्ञहरूको सहयोगमा योजना तयार गर्छु । यत्रो शहरमा बालबालिकाका लागि बालउद्यान छैन, जेष्ठनागरिकका लागि एउटा बिसौनी छैन ।यि सबै पूर्वाधार निर्माण लाग्ने छु । अघि पनि भनेको छु, दोहोरो स्वामित्वको जग्गा समस्या समाधान हुने छ ।

 अन्त्यमा केही ?

राजनीतिक अस्वस्थ्य प्रतिस्पर्धा छोडौं । विचारमा प्रष्टता,संगठनमा प्रतिवद्धता र नेतृत्वमा एकरुपता देखाउन सके मात्र देश आर्थिक समृद्धि तिर लाग्छ । सहिदको सपना साकार हुन सक्छ । शासन विधिको हुनुपर्छ । विधिको शासन थालनी भयो भने साना तिना समस्याले विकास र रोजगारी सिर्जनामा कुनै असर पार्न सक्दैन । मेरा विचार राख्ने अवशर दिनुभएकोमा धन्यवाद ।

अघिल्लाे निर्वाचनमा तयार पारेकाे रिपाेट साभार

सम्बन्धित खवर