मुख्यमन्त्री बनेकै दिनबाट आचार्यको विकल्प खोज्‍न प्रतिपक्षी छलफलमा - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

मुख्यमन्त्री बनेकै दिनबाट आचार्यको विकल्प खोज्‍न प्रतिपक्षी छलफलमा

विराटनगर- प्रदेश-१ मा बिहीबार संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री नियुक्त भीम आचार्यको विकल्प खोज्न विपक्षी तीन दल छलफलमा जुटेका छन् । केन्द्रमा एमालेको विभाजन भएसँगै एमालेको बहुमत रहेको प्रदेश सभाको गणितमा बदलाव आएको हो ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्य माधव नेपाल पक्षमा रहँदै आएका थिए । तर माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवाद) दल दर्ता गरेपछि आचार्य एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेका छन् । ओली पक्षका निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन हुँदै मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलको असन्तुष्टि बढेको हो । हाल प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) विपक्षी दलको हैसियतमा छन् ।

तर एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा नेकपा एस दर्ता भइसकेपछि पनि साविक एमालेसमेतको मतले संसदीय दलको नेता चयन भएका मुख्यमन्त्री राईको एकल प्रस्तावमा आचार्य एमाले दलको नेता हुँदै मुख्यमन्त्री नियुक्त भएकोप्रति विपक्षी गठबन्धनका नेताहरूले आपत्ति जनाएका हुन् । एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यले शपथ लिए पनि एमाले विभाजनले उनको बहुमत गुम्नसक्ने देखिएको छ ।

आचार्य मुख्यमन्त्री बनेको पहिलो दिन नै उनको विकल्प खोज्न कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका नेता छलफलमा जुटेका हुन् । नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य राजेन्द्र राई काठमाडौंबाट बिहीबार विराटनगर आइपुगेपछि विपक्षी गठबन्धनले सरकार गठनबारेमा छलफल सुरु गरेको हो ।

‘प्रदेश सभामा सांसद्को गणित परिवर्तन भएपछि पनि उहाँ (आचार्य) मुख्यमन्त्री नियुक्त हुनुभएको छ । यो विधि र प्रक्रियासंगत छैन,’ मुख्यमन्त्रीका आकांक्षीसमेत रहेका राईले इकागजसँग भने, ‘हामी यसबारे निर्वाचन आयोगमा गएर जानकारी गराउँछौं ।’

एमाले विभाजित भएपछि निर्वाचन आयोगले दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनको समय दिएको छ । नेकपा विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाल पक्षले आचार्यलाई नै मुख्यमन्त्री प्रस्ताव गरेको थियो ।

पछि आएर आचार्यले नेपालको साथ छाडेपछि नेपाल पक्षका सांसदहरू आचार्यसँग असन्तुष्ट छन् । बहुमतप्राप्त दल एमाले विभाजित भएकाले विपक्षी गठबन्धनमा रहेका दललाई सरकार गठनको सुविधा मिलेको हो ।

गठबन्धनमा बहुमत पुगिसकेकाले नयाँ सरकार बनाउन आफूहरूलाई कुनै समस्या नहुने राईको दाबी छ । ‘हाम्रो नेतृत्वमा सरकार बनाउनसक्ने संख्या हामीसँग छ,’ राईले भने,‘ सांसदलाई २१ दिनसम्म दल रोज्न पाउने व्यवस्था रहेकाले हामी अहिले छलफलमा जुटिरहेका छौं । सरकार गठनबारे केही दिनमै निष्कर्षमा पुग्छौं ।’  आचार्य नेतृत्वको सरकार बनेकै दिन उनी अल्पमतमा परिसकेको राईको दाबी छ ।

सम्बन्धित खवर