सुन्दरहरैंचा नगरसभाबाट २ अर्ब १५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

सुन्दरहरैंचा नगरसभाबाट २ अर्ब १५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत

सुन्दरहरैंचा /     सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय रुपैयाँको बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।    इन्द्रपुर जेसिज हलमा बुधबार भएको नगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख धनमाया तामाङले सो बजेट प्रस्तुत गरेकी थिईन । उपप्रमुख तामाङका अनुसार आर्थिक बजेटमा सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख ७ हजार १ सय र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, लागत सहभागिताबाट १ करोड, सहरी शासकीय सुधार कार्यक्रम अन्तर्गत वल्र्ड बैकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । अन्तर सरकारी अख्तियारी तर्फ सामाजिक सुरक्षा तथा संरक्षणतर्फ ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ प्राप्त हुने तामाङले बताइन् ।

सो बजेट मध्ये आन्तरिक स्रोत चालु आर्थिक वर्षबाट आगामी आर्थिक वर्षमा १६ करोड, संघीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट २२ करोड ९५ लाख ७९ हजार रुपैयाँ आम्दानी हुने अनुुमान गरिएको छ । संघीय तथा प्रदेश सरकारको राजश्व बाँडफाँड एवम् रजिष्ट्रेसन रोयल्टीबाट २२ करोड ४० लाख ७५ हजार ५ सय ७०, संघीय सरकारको सशर्त अनुदानबाट ३९ करोड ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकार र प्रदेश सरकारको समपुरका अनुदानबाट ३ करोड ६८ लाख, लागत सहभागिताबाट १ करोड र अन्तर–सरकारी अख्तियारीबाट ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ स्रोत जुट्ने अनुमान गरिएको छ । अन्य अनुदान (पर्यटन विकास, पूर्वाधार विकास, सडक बोर्ड) बाट ५ करोड ५ लाख तथा शहरी शासकीय सुधार कार्यक्रम वल्र्ड बैकबाट ७२ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरी बजेट निर्माण गरिएको तामाङले बताइन् ।     नगर सभामा नगर सदस्य लगायतले उठाएका विभिन्न प्रश्नहरुको नगर प्रमुख  शिवप्रसाद ढकालले जवाफ दिएका थिए ।

नगरसभा कार्यक्रममा  वडा नम्बर ७ तथा वडा नम्बर १० लाई प्रशंसापत्र प्रदान गरिएको थियो । नगरपालिकाले निर्माण गरेको नीति नियमको परिधि भित्र रही प्रभावकारी रुपमा ४ वर्षसम्म योजनाहरुको सञ्चालन  गरी सुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको भनी वडा नम्बर १० लाई प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यस्तै, नगरभित्रका वडामध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने वडाको रुपमा वडा नम्बर ७ लाई सम्मान गरिएको थियो ।

कोभिड संक्रमितको उपचारमा खटिने र्यापिड रेस्पोन्स टिमका सदस्यहरु तथा स्वास्थ्य शाखाका कर्मचारीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा सुन्दरहरैंचा नपाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नगरपालिकाका कर्मचारी निराेज न्याैपानेकाे सञ्चालनमा भएको थियाे ।

यस्ता छन् सुन्दरहरैंचा नगरपालिकाको आठौँ नगरसभाबाट स्वीकृत मुख्य योजना तथा कार्यक्रमहरु

रातमा पनि झिलिमिली शहर, सुन्दरहरैंचाबासीको रहर’ नगर प्रमुख उज्यालो कार्यक्रम” अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी नगरका सबै वडामा सडक बत्ती जडान गरिने । सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ मा निर्माणाधीन सुविधा सम्पन्न इलेक्ट्रिक शवदाह स्थल र पार्क निर्माण गरिने। सुन्दरहरैंचा नगरपालिकाको वडा नं. १, ११ र १२ को उपयुक्त स्थानमा समेत सुविधा सम्पन्न शवदाह स्थल निर्माण गरिने। नगरको गौरवको योजनाको रुपमा कोल्ड स्टोर निर्माण गरिने।

वडा नं. ५ मा अवस्थित नयाँ वृन्दावन गौशाला धार्मिक पर्यटकीय क्षेत्रलाई नेपालकै नमूना धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि

विश्वकै अग्लो गाईको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिइने। घरै बसी कमाइन्छ नोट, करेसाबारीमा रोपाै कागती र खोर्सानीको बोट नारालाई अघि सारी करेसाबारीमा तरकारी उत्पादन गर्न लगाइने।

कृषि पेशाको सम्मान, कृषकलाई अनुदानै  अनुदान (पावर टिलर, मिक्क एनलाईजर, चिलिमे भ्याट मेसिन, काउ म्याट वितरण गरिने ।उप प्रमुख आत्मनिर्भर कार्यक्रम अन्तर्गत कृषि पेशालाई सामाजिक प्रतिष्ठा सहित आत्मनिर्भर पेशाको रुपमा स्थापित गर्दै उपयुक्त खेती गर्ने क्षेत्र पहिचानका लागि निःशुल्क माटो परीक्षणका लागि आ.ब. २०७८\०७९ देखि माटो परीक्षण प्रयोगशालाको स्थापना र सञ्चालन गरिने ।नगरकाे बुधबारेमा कृषि प्रयोजनका लागि नगर विकास कोष सँग सहकार्य गरी बहु-उपयोगी कृषि भवनको शिलान्यास तथा निर्माण गरिने।

यस नगरपालिका क्षेत्रभित्र रही पत्रकारिता गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुको ५ लाख रुपैयाँको दुर्घटना बीमा तथा अक्षयकोष निर्माण गर्ने। विद्यार्थीसँग नगर प्रमुख कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरुलाई सामुदायिक र सुकुना बहुमुखी क्याम्पसमा कक्षा ११ को निःशुल्क भर्ना नगरपालिले गराउने। सामाजिक सुरक्षा भत्तामा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले थप रु १ हजार घरघरमा गएर दिने। फरक क्षमता भएका व्यक्तिहरुसँग उप प्रमुख कार्यक्रम सञ्चालन गरिने।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रपुर खेल मैदानमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान निर्माण गरिने। सुन्दरहरैंचा १ मा अवस्थित प्राथमिक स्वास्थ्य चौकी हरैंचामा कोभिड अस्पताल सञ्चालन गरिने।

आर्थिक वर्षमा ७ करोडको लगानीमा हसिना सिमसारमा पूर्वाधार निर्माण गरिने। बाघझोडा सिमसार पर्यटकीय क्षेत्रमा नगर गौरवको योजना सञ्चालन गरिने। नगरका भौगोलिक, आर्थिक, शैक्षिक सबैलाई समेटिने गरी डिजिटल प्रोफाइल निर्माण गर्ने।

७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स  उपलब्ध गराउने।जग्गा प्लानिङ गर्दा नगरपालिकासँग अनिवार्य अनुमति लिने व्यवस्था गरिने।

सीमान्तकृतः दलितका छोरी जो प्राविधिक शिक्षा पढ्न इच्छुक रहन्छन् त्यस्ता छोरीहरुलाई नगरपालिकाले निःशुल्क रुपमा प्राविधिक शिक्षा पठनपाठन गराउने

। एक कृषक एक अनुदानको कार्यक्रम सञ्चालन गरिने। पाँच पशु एक अनुदानको नीति अधि सारिने । बालबालिकालाई संस्कार र सभ्यताको शिक्षा दिने।

पूर्वाञ्चल विश्वविद्यालयलाई एम्बुलेन्स खरिद गरेर दिइने।

सुकुना मावि, साजीलाल मावि र सुकुना बहुमुखी क्याम्पसलाई एक एक वटा बस खरीद गरी हस्तान्तरण गरिने।प्राविधिक शिक्षा पठनपाठन गर्ने विद्यार्थीहरुका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानमा रिभवलिङ फण्डको व्यवस्था गरिने । नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण भजन कीर्तन समूहहरुलाई निःशुल्क रुपमा वाद्यवादन सामग्री प्रदान गरिने।

शहरी शासकीय पूर्वाधार कार्यक्रम अन्तर्गत रु ७२ करोड रुपैयाँ अन्तर्गत नगरका मुख्य ठूला योजनामा लगानी गर्ने। सुन्दरहरैंचा नगरपालिका स्थायी ठेगाना भई कर्मथलो काठमाडौं बनाई काठमाडौंमा नै बस्ने नगरवासीहरुलाई समेटी सुन्दरहरैंचा-काठमाडौं समाजसँग विभिन्न राय, सुझाव तथा सल्लाह लिने । बालविकासका सहजकर्ताहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाको तर्फबाट उपलब्ध गराउने।

सुन्दरहरैचामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सम्बन्धित निकायसँग माग गर्ने । नगरपालिका तथा वडाको नागरिक
स्तरबाट परीक्षण गर्न नगरस्तरीय तथा वडास्तरीय सार्वजनिक सुनुवाइ गर्ने ,  नगरको डिजिटल प्रोफाइल निर्माण गरिने । इन्द्रपुर स्वास्थ्य चौकीमा ट्रमा सेन्टर निर्माण गर्ने। वडा कार्यालय भवन नभएका वडाहरुमा जग्गा प्राप्ति गरी वडा कार्यालय भवन निर्माण गर्ने।विराटचोकमा रहेको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयको रुपमा स्तरोन्नति गर्नका लागि सम्बन्धित निकायसँग माग गर्ने लगायत रहेका छन् ।

सम्बन्धित खवर