लगन, इमान र कर्ममा निष्ठा बोक्नुभएका क्याप्टेन बा - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

लगन, इमान र कर्ममा निष्ठा बोक्नुभएका क्याप्टेन बा

        युवराज बास्कोट

सिरसिरे पानी परेको आज बिहानको समय । ओत लाग्न पनि थियो मलाई । काका नमस्कार गर्दै उहाँको बस्नुभएको घरको बारदलीमा पुगें । नमस्कार, आँखा अलिक मन्द भयो । धमिलो–धमिलो देख्छु । माइला होइन ? छेउँमा राखेको लठ्ठि लिएर उहाँ जुरूक्क उभिनुभयो । के–कति कामले आयौ माइला ? बोल्दैन । होइन, तिमी बास्कोटा माइला होइन र ? जवाफ दिन पाएको थिइनँ । बुबा–आमा, दाजुभाइ, बहिनीको हालखबर बढो चासोपूर्वक लिनुभयो । सबिस्तार कुरा भयो । विषयगत कुरा आए । उत्तिकै निर्भिक, उत्तिकै निडर, उत्तिकै सक्रियता । वास्तवमा लगन, इमान र कर्ममा निष्ठा बोक्नुभएका क्याप्टेन बा हुन्, जसले हामीलाई मार्गप्रशस्त गरिरहन्छ ।

विविधतामाझ पारस्पारिक सामाजिक सम्बन्ध सुधार गर्न र स्थानीय समुदायबीच सकारात्मक सन्देश प्रवाह गर्न हर्दम प्रयास गर्ने साविक पथरी गाविस वडा नं. ८, हाल पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ स्थायी निवासी क्याप्टेन कालिबहादुर सेनेहाङ वर्षले ८० मा रमाउँदै गर्दा पनि नेपाली समाजले अपेक्षित गतिका साथ प्रगति गर्न नसकेमा धेरै चिन्तित देखिनुहुन्छ ।
ताप्लेजुङ जिल्लाको चाक्सीबोटेमा आमा रनिमाया र बुबा जैबहादुर सेनेहाङका कोखबाट जायजन्म भएका ४ छोरा र ६ छोरीहरूकै माझ माइलो सन्तानका रूपमा १९९८ कार्तिकमा जन्मनुभएका कालिबहादुर सेनेहाङको संघर्षपूर्ण जीवन र यसले समेटेका गौरवगाथाहरू उहाँपछिका हामी सबै उत्तराधिकारीका लागि अनुसरणयोग्य छ । अनौपचारिक शिक्षा पनि अत्यन्तै सामान्यखालको बाह्रखरीका साँवा अक्षर मात्र पढेबढेका सेनेहाङ बुबाको परम्परागत कृषि पेशाबाट आफ्नो भविष्य कसरी चल्ला ? द्विविधामा हुनुहुन्थ्यो । यहिंबेला छिमेकका पाट्टफुट्ट समकालीन साथीभाइहरू पल्टन भर्ति भएको विषयले उहाँलाई पनि आकर्षित गर्छ र २०१६ को कार्तिकमा गोर्खा भर्तिकेन्द्र धरान आइपुग्नुहुन्छ ।


धरानको फुस्रेचौकस्थित रहेको गोर्खा भर्तिकेन्द्रमार्फत जीवनयापनको भिन्न रूपस्वरूप खोज्ने अल्लारे ठिठो कालिबहादुर सेनेहाङ पल्टनको प्रारम्भिक प्रक्रियामा सामेल हुन पुग्नुहुन्छ । छानबिन प्रक्रियामा सफल उहाँलाई पक्लिहवा, भैरहवा पुग्नुपर्ने हुन्छ । देशभित्र पर्याप्त यातायातको सुविधा अभाव र छनौट भएका पल्टनजवानलाई आवश्यक ठाउँमा लाने लैजाने भारतीय रेलको सुविधाका कारण उहाँ रानीस्थित जोगबनीबाट रेल्वेको बाटो भएर गोरखपुर हुँदै पक्लिहवा पुग्नुहुन्छ । झण्डै २ हप्ताको यो बसाइँपछि उहाँ मलेसिया जाने सूचिमा पर्नुहुन्छ र पानी जहाजमार्फत जानुपर्ने भएकोले कोलकात्तालाई ट्रान्जिट पोइन्ट बनाउनुपर्ने हुन्छ । १८ वर्षको उमेरमै भर्ति प्रक्रिया पूरा गरेर अघि बढ्न सफल उहाँलाई जीवनमा पहिलोपटक पानीजहाजको यात्रा गर्नुको मज्जाले बाल्यकालमा बिदेशिनुको पीडालाई पनि भुलाएको थियो– अहिले उहाँ सम्झनुहुन्छ ।

भारतको पुरानो राजधानी कोलकात्ताबाट मलेसियाको ठूलो शहर पेनाङसम्मको पानीजहाजको यात्रा सकेर आधुनिक रेल्वेमार्फत पल्टन तालिम एवं प्रशिक्षण केन्द्र सड्गाई पटानी पुगेपछि मात्र भारी मन बनाएर उहाँ यहाँको काममा सामेल हुनुहुन्छ । प्रारम्भिक तालिम प्रशिक्षणपछि अङ्ग्रेजी वर्ष १९६० को अन्त्यतिर उहाँ २/७/जीआरको जिम्मेवारीसहित सिंगापुरको सन्तोष शाह आयरल्याण्डमा खटिनुहुन्छ ।

बिदेशिएको १८ महिनापछि पहिलो छुट्टिमा नेपाल आउनुभएका उहाँलाई आफ्नो पल्टन सरेको सूचना पाएसँगै हङकङ जानुपर्ने हुन्छ । लगातार ३ वर्षसम्मको जिम्मेवारी निर्वाहपछि फेरि मलक्का, मलेसिया रवाना हुनुभएका उहाँलाई लेस–नायकको जिम्मेवारीसहित पदोन्नतिको अवसर मिल्छ । सयौंमाझ सबैभन्दा बहादुर, फुर्तिलो, निडर र निर्भिक सैन्यजवान कालिबहादुर सेनेहाङ भएका कारण बेलायत जानुपर्ने पूर्वानुमान प्राप्त भएसँगै उहाँ भाषाज्ञानका लागि कोर्स आरम्भ गर्नुहुन्छ ।

निरक्षर बाबुको निरक्षर पहाडे छोरोले अब २७ वर्षको उमेर अन्तर्राष्ट्रिय जनजिब्रोले बोल्नुपर्ने भाषा पढ्नु र फरर बोल्नुपर्ने हुन्छ । ताप्लेजुङ र आसपासका पहाडी गाउँबस्तीहरूमा अनवरत गरेको उकालीओरालीले गर्दा आफँैमा दरिएको फलामे शरिर र भर्तिपछि लगातारको तालिम प्रशिक्षणबाट प्राप्त ज्ञानविज्ञान उहाँको अर्को पदोन्नतिको विषयगत मापदण्ड बन्छ । सोही मापदण्डअनुसार उहाँ नायक–मेजरको जिम्मेवारीसहित बेलायत जानुहुन्छ ।

गोर्खा पल्टनकै दर्जनौं साथीमाझ उभिएर भाषा सिकियो । तुलनात्मक हिसावले अरूभन्दा चाँडो नै सिकियो । उहाँलाई अहिले पनि यसप्रति गर्वबोध छ । यो हामी नेपालीजनको जिनमा रहेको एउटा फरकपनको विशेषता हो– हामीहरू त्यो बेला पनि फरक थियौं, अहिले पनि फरक छौं, त्यहिं भएर अलग्यै छौं– उहाँ मन्दमुस्कान पस्कँदै आत्मसन्तुष्टि लिनुहुन्छ ।

बेलायतको बसाइँ विशिष्ट प्रकारको रह्यो । विभिन्न तालिम र प्रशिक्षणमै अगाडि–अगाडि रहन जुरेको उहाँलाई अस्त्रसहित आवणिक वस्तुहरू बोकेर हिड्ने गाडीको ड्राइभिङ तालिम लिनुपर्ने भयो । यो सकेसँगै फेरि क्यासिनो क्याम्प, हङकङ रवाना हुनुभयो । जीवनमा एकपछि अर्को खुशी बटुल्नेक्रममा उहाँले तेस्रोपटक घरबिदामा नेपाल आउनुभयो । यहिंबेला जिल्लाकै थेजम्बु गाविस, खाल्टे निवासी अमृतबहादुर मेयाङबोको छोरी शुकमतिसँग विवाहबन्धनमा बाँधिनुभयो ।

सन् १९७० को जुन–जुलाई महिनामा घरायसी काम सम्हाल्न भ्याउनुभएका उहाँ परिवारसहित पल्टन लाग्नुहुनुभयो । हङकङको यो बसाइँ अपेक्षाकृत सजिलो थिएन । उहाँलाई लगातार ३ वर्षसम्म एचजीआर तालिममा रहनुपर्ने अवस्था आइलाग्यो । तालिमको प्रतिफलस्वरुप उहाँ सन् १९७१ देखि ०७४ सम्म लगातार ३ वर्ष जीटीआर अर्थात् गोर्खा टे«निङ रेजिमेन्टमा उच्चओहदाको जिम्मेवारी निर्वाह गर्न पुग्नुहुन्छ । यहिंकालमा जायजन्म भएका सन्तानद्वय टीकाप्रकाश र लोकराज लिएर उहाँ स्वदेश फर्कनुहुन्छ ।

कहिले मलेसिया, कहिले हङकङ गर्दै जिम्मेवारी सम्पादनमा रहनुभएका उहाँलाई अब भने ब्रुनाई जानुपर्ने हुन्छ । पल्टनको हवल्दारको रूपमा ३ वर्ष ब्रुनाइमा बिताउनुभएका कालिबहादुर सेनेहाङ स्टाफ सर्जनको पदोन्नति सहित पुनः हङकङ फिर्नुहुन्छ । मलेसियाको गोर्खा पल्टन टुटेपछि हङकङ नै हेडक्वाटर्स झँै भएको थियो । हङकङमा उहाँले कमाउनुभएको व्यक्तित्व पदोन्नतिको अर्को मानक बन्छ । सन् १९७८ मा हवल्दार मेजरको रूपमा विभुसित उहाँलाई सन् ०८० मा ल्याप्टेनको पदोन्नतिसहित सेवानिवृत्त–लिस्टमा नाम निकालिन्छ । आवश्यक मापदण्ड कायम रहेको अवस्थामा स्वयंमा अनुकूलता सेवाअवधि बढाउन चाहँदा बढाउन सकिने प्रावधानका कारण उहाँले एकपटक मौका पाउँ भनि कार्यालयसमक्ष निवेदन गर्नुहुन्छ । निवेदन स्वीकृत भएसँगै उहाँ थप ५ वर्ष ल्याप्टेनको जिम्मेवारीमा रहनुहुन्छ र स्वदेश फर्कनुहुन्छ ।

आफ्नो सक्रिय जीवनकालको ३६ वर्षमै ल्याप्टेनको जिम्मेवारीसहित सेवानिवृत्त उहाँ सयौं सैन्यजवानका लागि अगुवा हुनुभयो भने आफ्नो पल्टनमा रहेका ८५ जनाका लागि पटकपटक सैन्य कमाण्डर । सन् १९८४ को अन्तिमतिर आफ्नो सम्पूर्ण वस्तु र विवरणसहित स्वदेश फिर्नुभएका ल्याप्टेन कालिबहादुर सेनेहाङ समाजका आँखामा चाहिँ क्याप्टेन उपनाउँले सबैका लागि लालगेडी झैँ हुनुहुन्छ । उहाँलाई आफ्नो रानो बुझ्ने समुदायलाई उहाँले सैन्य जीवनबाट सेवानिवृत्तको अवस्थामा पनि विभिन्न ढंगले गुण लगाइरहनुभएको छ ।

सेवानिवृत्त जीवनसँगै मोरङको पथरी शनिश्चरे नगरपालिकालाई आफ्नो कर्मथलो बनाउनुभएका ‘क्याप्टेन बा’ कालिबहादुर सेनेहाङ राजनीतिक आस्था र आस्थागत राजनीतिक मत अभिमत प्रकटका दृष्टिकोणले नेपाली काङ्ग्रेससम्बद्ध सामाजिक अगुवा व्यक्तित्व हुनुहुन्छ । राजनीतिक आस्थालाई मानव र मानवीय सम्बन्धभन्दा माथि कहिल्यै बुझ्न नहुने कुरामा उहाँ आज पनि दृढ हुनुहुन्छ । महामानव विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक आदर्श र उचाइका कारण आफू काङ्ग्रेस निकट भए पनि अहिले भने जाँगर मरेको उहाँ बताउनुहुन्छ ।

हामी बुद्धको देशमा जन्मिएका नेपालीहरू, हिंसा मच्चाउन सक्ने सेनाको रूपमा बिदेश जानु राम्रो होइन । तथापि, यो वाध्यता थियो । गइयो । शक्तिसम्पन्न मुलुकका सेना भएर विभिन्न देशहरू गए पनि आफूले भने कुनै खालको विभत्स देख्न नपरेको र अमानवीय क्रुद्धयुद्धहरूमा सामेल हुनु नपरेकोले आफूलाई बुद्धप्रेमी संस्कार, शैली र आचरणमा हुर्काउन पाएकोमा खुशी व्यक्त गर्दै ‘क्याप्टेन बा’ ३० किलोको बजन लिएर लगातार १८ किलोमिटरसम्म ओहोरदोहोर हिड्नुपर्ने तालिमको नयाँस्वरूपले गलाएको क्षण चाहिँ पटकपटक स्मरण गर्नुहुन्छ । हातहथियारमा फेरबदल आएसँगै तालिक प्रशिक्षणमा पनि फेरबदल आएको थियो, आइरहेको पनि छ । थपिएको सेवाकाल सन् १९८२ मा फकल्याण्डको लडाइँमा जानु नपरेकोमा खुशी व्यक्त गर्नुहुन्छ ।

बेलायती साम्राज्य बचाउन कति गोर्खाले ज्यान दिए, कतिले सहादत प्राप्त गरे, यो कुरा गरी साध्य छैन । यसको यकिन तथ्य छैन । दोस्रो विश्वयुद्धमा २ लाख ३८ हजार नेपाली युवा ब्रिटिस सेनामा सहभागी भई युद्ध लडेका थिए । अब सिलसिला चल्यो गोर्खा भर्तिको । गोर्खा पल्टनका बीर र बहादुरले ब्रिटिस अखण्डता र वीरताको झण्डा उठाएका थिए र छन् पनि । यो दासत्व मात्र होइन, हाम्रालागि गौरव पनि हो । यसलाई बचाउन सक्नुपर्छ । अब भने देशले नै काँचुली फेर्नुपर्छ । राजनीतिका लागि राजनीति होइन, अब त समग्र उत्पादन, विकास र निर्माणका लागि राजनीति गर्नुपर्छ– उहाँ दुखेसो पोख्नुहुन्छ ।

पढेका होलान्, नपढेका होलान्, नेता होलान्, कार्यकर्ता होलान् ! सबै तहका मानिसले कुनै न कुनै खालको उत्पादनमा आधारित काम गर्नुपर्छ । उत्पादन अनिवार्य छ । हाम्रो विशेषताअनुसारको उत्पादन गर्नुपर्छ । हाम्रोमा खेतीयोग्य जमिन छ । जे बाली लगायो, त्यहिं उत्पादन हुन्छ । मानिसलाई चाहिने पहिलो वस्तु अन्न नै हो । अहिले त यो पनि बाहिरबाट ल्याउनुपर्ने स्थिति विकास भएको छ । यता खेत बाँझा हुने, उता अन्नपानी बाहिरबाट आउने ? यता खेत बाँझो रहने, उता युवा जनशक्ति मरूभूमि चाहर्ने ? यो सुहाउँदो कायदा होइन । सरकारले दिएको सहुलीयत र सुविधा प्रयोग गरेर उत्पादन बृद्धिमा लाग्नुपर्छ । अबको पुस्ताले कामका लागि बिदेशमुखी बन्नुहुँदैन । बिदेशमा गएर जे पायो, त्यहिं काम गर्न हुने ! स्वदेशमा चाहिँ ठालु पल्टनपर्ने ? मलाई त यो मन पर्दैन यो बेथिति– उहाँ कड्किनुहुन्छ ।

हाम्रोजस्तो सुन्दर, शान्त र समृद्धि प्राप्त गर्ने आधारहरू भएको समाज कहाँ पाइन्छ ? मलाई त यहाँ बस्न नै मज्जा लाग्छ । मरेपछि अर्को जन्म होला, नहोला ! भए यहिं होस् भन्ने कामना छ । यहाँ नेपालमा गर्न चाहे सबथोक हुन्छ– उहाँ भन्नुहुन्छ । राजनीतिक नेतृत्वमा विकासोन्मुख दृष्टि छैन । भागबण्डा र अवसर अभावबाहेक अन्य कुनै विषयमा बहस भएको म कहिल्यै सुन्दिनँ । न विश्वेश्ववरप्रसाद कोइरालाले बोकेको राजनीतिक आदर्श र मार्गचित्र भएको काङ्ग्रेस छ, न आफूले कबोल गरेअनुसार काम पूरा गर्ने केपी शर्मा ओलीको एमाले र अहिलेको यो सरकार छ, उनले त गर्न चाहेको सुन्छु, आफ्नैले गर्न दिएका छैनन्, अब त वाक्कदिक्क लाग्छ– उहाँ छताछुल्ल भएर भक्कानिनुहुन्छ ।

त्रिभुवन सरकार, महेन्द्र सरकार र वीरेन्द्र सरकारप्रति गर्वबोध गर्नुहुने उहाँ राष्ट्रिय राजमार्ग निर्माण र विकास क्षेत्र निर्धारणमा उहाँहरूको जस्तो व्यवहारिक राष्ट्रवाद अरू कसैमा नभएको दावी पेश गर्नुहुन्छ । संविधान बनेपछि यसको कार्यान्वयन गर्नेभन्दा पनि च्यात्ने र जलाउनेमा नेताकै ध्याउन्न रहेकोले भावी पुस्ताले समेत दुःख पाउनुपर्ने अवस्थाको आँकलन गर्दै घरिघरि उहाँ पिरोलिनुहुन्छ ।

२०६५ मंसिर ५ गते अपत्यारिलो सत्यको रूपमा जीवनसाथी शुकमतिको सन्तानहरू टीकाप्रकाश, लोकराज, योगराज र दीपालाई मातृस्नेहअभावको टुहुरो रूपमा छोडेर देहावसान हुन्छ । जीवनसाथी गुमाउनु पर्दाको अस्वाभाविक पीडालाई भुलाउन पनि स्थानीय धार्मिक काम, भजनकीर्तन, संकिर्तन, मठमन्दिर निर्माणमा सक्रिय उहाँ सामाजिक कामका मुद्धाहरूमा अहिले पनि अगाडि हुनुहुन्छ । अत्यन्तै उर्बर र सकारात्मक सोचले मात्र स्वयं आफूमा र समाजमा अपेक्षित परिवर्तन ल्याउन सकिने विश्वासका बाहक ‘क्याप्टेन बा’ स्थानीय जनमन, दुःखी, असाहयका लागि सामाजिक अभिभावक हुनुहुन्छ । यस क्षेत्रमा कार्यरत व्यक्ति वा थुप्रै संघसंस्थाहरूलाई समेत सहयोग गर्न ऐक्यबद्धता जनाउने उहाँ बेसाहारा कैयौं बालबालिकाहरूलाई निःशुल्क पढाउने कुरामा आनन्द लिनुहुन्छ ।

‘क्याप्टेन बा’ ले कहिल्यै पनि गाउँका समकालीन बाबु, बडाबाबु र काकाहरू लाहुरे भएर घर फर्किएपछि देखाउने गरेको रवाफझैँ रवाफ देखाउनुभएन । आफ्ना दामालीहरू हुन् वा आफूभन्दा साना, कसैलाई हेलाँहोचो गरेर बोल्नुभएन । आफ्ना अघिपछि २ जना भरिया लिएर हिड्नुभएन । काँधमा पानासोनिक रेडियो बाजा बजाएर हिड्नुभएन । हातमा जापानिज घडी टल्काएर ढलक्क–ढलक्क हिड्नुभएन । सिपाही पोसाक र खुट्टामा बुठजुत्ता बजार्दै गाउँमा हिड्नुभएन । मान, पद, प्रतिष्ठा र पैसाको दम्भ र घमण्ड कहिल्यै गर्नुभएन । हाटबजारमा ठूलो स्वर र भट्टिको तमासा कहिल्यै गर्नुभएन । उहाँले गर्नुभयो भने आफूलाई समाज सेवाका लागि पूर्णतः समर्पित गर्नुभयो । गरिबगुरूवालाई उद्दार गर्नुभयो । निम्छराका लागि सहयोगी बन्ने काम गर्नुभयो । कलेज, स्कुल, मठमन्दिर, सार्वजनिक स्थल निर्माणमा दिलखोलेर सहयोग गर्नुभयो । कुलो, पैनी, कुलेसो, बाटो र कल्भर्ट निर्माण गर्ने कामको अगुवाइ गर्नुभयो । पारस्पारिक सम्बन्ध विकास, एउटा उन्नत संस्कार निर्माण र समृद्धिको आधार तयार गर्न हरतरहले योगदान गर्नुभयो । समभाव दर्शिने सामाजिक संस्कार संस्कृति निर्माणमा सहयोग गर्नुभयो । सामाजिक अन्याय, अत्याचार, विभेदजन्य व्यवहारविरूद्ध बोल्नुभयो । अधिकारमुखी अवधारणाको पक्षमा बोल्नुभयो । गोर्खा पल्टनका सैन्यजवानले आफ्नो पेन्सन समान ढंगले नेपालमै पाउनुपर्ने अधिकारको कुरा बोल्नुभयो । सैन्यजन र तिनको परिवारजनको भलाइका लागि सरकारले एउटा कोष निर्माण गर्नुपर्ने र त्यसमार्फत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक हित हुने कार्यमा लगाउनुपर्ने कुरा बोल्नुभयो ।
‘क्याप्टेन बा’ तपाईं हाम्रो प्रेरणा–स्रोत हो । हाम्रालागि पनि सयौं वर्ष स्वस्थकर दिनचर्या सहित सक्रिय जीवन बाँच्नुपर्छ, धेरै–धेरै शुभकामना !

सम्बन्धित खवर